आरक्षले पाएन गैंडा

आरक्षले पाएन गैंडा

 विराटनगर : प्रदेश १ सरकारले हात्ती र अर्नाको सट्टामा दुईवटा गैंडा माग्दा चितवन राष्ट्रिय निकुञ्जले दिन आनाकानी गरेको छ। निरन्तर ताकेता गर्दा पनि सुनुवाइ नभएको प्रदेश सरकारको आरोप छ। अर्ना र चराचुरुंगीका लागि प्रख्यात सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षमा प्रदेश सरकारले पहिलोपटक गैंडा राख्न चाहेको हो। 

आरक्षबाट हात्तीसँगै १३ वटा अर्ना लैजाँदा चितवन राष्ट्रिय निकुञ्जले गैंडा दिने बताए पनि हालसम्म सर्त पूरा नगरेको प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले बताए। ‘हामीले हात्तीको साटो गैंडा मागेका हौं तर दिइएको छैन’, उनले भने ‘आरक्ष संघीय सरकार मातहत रहेको छ तर यो क्षेत्र प्रदेश १ मा रहेकाले हाम्रो पनि दायित्व हुँदा पर्यटकका लागि हात्ती वा गैंडा नै मागेका छौं।’

कोसी टप्पु आरक्षमा हात्तीसार (हात्ती बस्ने घर) सानो भएपछि ५ वटा हात्ती एक वर्षअघि नै सौराहा लगिएको थियोे। आरक्षमा अहिले ५ माउ हात्ती र २ छावा मात्रै छन्। सौराहामा हात्तीसँगै १३ वटा अर्ना लगिएको थियो। आरक्षमा १० वटा माउ हात्तीको दरबन्दी रहेकामा ५ वटा वयस्क हात्ती चितवन पुर्‍याइएपछि हात्तीसार अहिले सुनसान छ। मुख्य हात्ती नै सौराहा लगेपछि आरक्षमा पर्यटक तान्ने चुनौती थपिएको मन्त्री कुसियत बताउँछन्। 

उनले भने, ‘हात्ती फर्काउनसमेत समस्या छ, यद्यपि, हात्तीको सट्टा गैंडा नै ल्याउँदा पर्यटन प्रवद्र्धन राम्रो हुने भएकाले हामी अझै प्रयास गरिरहेका छौं।’ अहिले उदयपुरको वेलका नगरपालिका क्षेत्रमा पनि हात्तीसार बनाउने योजना भइरहेको छ। बेलका–१, भागलपुरमा हात्तीसार बनाएर सौराहा पुर्‍याइएको दरबन्दी त्यहाँ राख्ने तयारी गरिएको हो। 
चितवन निकुञ्जले गैंडा दिने पूर्वसर्त पालना नगरेको प्रदेश सरकारले बताइरहँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने कोसी टप्पु गैंडाका लागि उपयुक्त बासस्थान नभएको जनाएको छ। 

आरक्ष गैंडाका लागि सुरक्षित र पर्याप्त बासस्थान नभएको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बताए। ‘कोसी टप्पुका केही स्थान गैंडाका लागि उपयुक्त भए पनि क्षेत्र सानो भयो, त्यसमा पनि अतिक्रमण बढ्दो अवस्थामा रहेकाले त्यो क्षेत्र सुरक्षित छैन।’ उनले दोहोर्‍याउँदै भने, ‘यो अवस्थामा त्यहाँ गैंडा पठाउनु भनेको गैंडा मार्नुसरह हुनेछ।’
गैंडाका लागि दलदल भएको स्थान, पर्याप्त खानेकुरा र दौडनका लागि बगरको ठूलो क्षेत्र चाहिन्छ। सरकारले आरक्षको क्षेत्रफल बढाए मात्रै त्यहाँ गैंडा स्थानान्तरण गर्न सकिने विभागको भनाइ छ। 

२०३२ सालमा स्थापना भएको आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो। आरक्ष सुनसरी, सप्तरी र उदयपुरसहित तीनवटा जिल्लामा फैलिएको छ। आरक्षको अधिकांश भूभाग प्रदेश १ मा पर्छ। क्षेत्रफलका आधारमा सानो भए पनि नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा आरक्ष परिचित छ। यो आरक्ष सन् १९८७ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो। कोसी नदीको केही भागसमेत समेटिएको आरक्ष १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.