बेलुका सात बजेपछि मदिरा कारोबार गर्न नपाइने
बैतडी : बैतडीमा बेलुकी सात बजेपछि मदिरा बेचबिखन गर्न नपाइने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले तिहारको समयमा भीडभाड हुन सक्ने भन्दै मदिराको कारोबार साँझ ७ बजेपछि पूर्णरुपमा बन्द गराउने निर्णय गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
तिहारको समयमा भीडभाड हुँदा कोरोना भाइरस संक्रमण फैलिन सक्ने भएकाले यस्तो निर्णय गरिएको उनले बताए । उनले भने, 'तिहार पछि बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा मेला लाग्ने गरेको भएपनि यस वर्ष कोरोना भाइरसका कारण मेला पर्वमा रोक लगाइएको छ।'
जिल्लाका सबै मन्दिरमा शक्तिपीठमा लाग्ने मेलामा रोक लगाउने निर्णय भएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । मेलाका बेला भीडभाड हुँदा कोरोनाको जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको हो ।
कार्तिक शुक्ल पक्षमा बैतडीका त्रिपुरासुन्दरी, मेलौली, रौलाकेदार, भिटाकेदार, महारुद्र लगायतका मन्दिरहरुमा जात्रा तथा मेला लाग्ने गरेको छ । यस्तै केन्द्रको बैठकले जुवातासमा पूर्ण रुपमा रोक लगाउने र यस्तो गरेको पाइएमा कानुन अनुसार कारवाही गर्ने निर्णय समेत गरेको छ ।
यस्तै तिहारको समयमा दिउँसी भैलो खेल्न, खेलकुद, सांस्कुतिक कार्यक्रममा समेत रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।