सप्तरीमा कोरोनाले थप एक संक्रमितको मृत्यु
राजविराज : सप्तरीको बोदे बर्साइन नगरपालिका–३ की ७१ वर्षीया महिलाको कोभिड–१९ का कारण मृत्यु भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा उपचाररत उनको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
निमोनिया सम्बन्धी समस्या देखिएर अस्पताल भर्ना भएकी उनको बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए।
हालसम्म सप्तरीमा १ हजार ७३० जना संक्रमित भएका छन्। जसमध्ये १ हजार ५५६ जना निको भएका छन्।
हाल होम आइसोलेशनमा १ सय २० जना, राजविराजस्थित आइसोलेशनमा ४ जना, कञ्चनरुपस्थित आइसोलेशनमा ९ जना र खडक नगरपालिकास्थित आइसोलेशनमा ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ।