भेटिएनन् आफन्त, मिलेन न्याय
जाजरकोट : सरकार र तत्कालीन विद्रोही माओवादीबीच भएको सशस्त्र द्वन्द्वका घाउ अझै पुरिएका छैनन्। २०६३ साल मंसिर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको १४ वर्ष बितेपनि आफूहरूले न्याय नपाएको पीडितले गुनासो गरेका छन्।
‘सुरक्षाकर्मीले मेरा श्रीमान्भद्रवीर रानालाई घरबाटै लगेर बेपत्ता पारे’ भेरीमालिका नगरपालिका—१ पिपेकी बली रानाले भनिन्, ‘श्रीमान् फर्केर आउने आसमा बसेको वर्षौंबित्यो तर मैले न्याय पाउन सकिनँ।’ अहिले पनि उनी बेपत्ता श्रीमान्फर्केर आउँछन् कि भन्ने झिनो आशा पालेर बाँचिरहेकी छन्। देशमा शान्तिसम्झौता भएको यतिका वर्षसम्म पनि आफ्ना श्रीमान्को अवस्थाबारे केही अत्तोपत्तो नभएको उनको गुनासो छ।
सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म छानबिन नभएकोमा उनी निकै दुःखी छिन्। ‘ढिलै भए पनि हामीले न्याय पाउँछौ कि भन्ने आशा थियो’ उनले निराश हुँदै भनिन्,‘यो आयोगले पीडितलाई न्याय दिलाउला जस्तो लागेन’। भेरीमालिका नगरपालिका—२ रिसाङकी कमला शर्माले आफ्ना श्रीमान्बेपत्ता भएको १९ वर्ष बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएको बताइन्। अध्ययनका लागि नेपालगन्ज गएका श्रीमान्शिवप्रसाद शर्मालाई तत्कालीन शाही नेपाली सेनाले २०५८ सालमा माओवादीको आरोपमा बेपत्ता बनाएको थियो।
‘घरको मुली मान्छेलाई बेपत्ता पारिएपछि आफू र दुई छोरीहरू आँसु बगाएरै बाँच्न बाध्य छौं, अहिले जीवन निर्वाह गर्नै समस्या परेको छ’ उनले भनिन्, ‘छोरीहरूले बाबा खै भन्दा मैले के जवाफ दिने ? हामीलाई यसरी कहिलेसम्म तड्पाएर राख्ने ? मरेको वा बाँचेको अवस्था सार्वजनिक गरियोस्।’ उनले आफ्ना निर्दोष श्रीमान्लाई बेपत्ता पार्ने सुरक्षाकर्मीलाई कारबाहीको मागसमेत गरिन्। सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी गरे पनि हालसम्म सुनुवाइ नभएको उनले बताइन्।
भेरी नगरपालिका—१ कालेगाँउकी ७३ वर्षीया चनावती बटालाले छोरा फर्केर आउँला भनेर आाश मारिसकेकी छन्।तर उनमा न्यायको आश भने मरेको छैन। ‘बुढेसकालको सहारा बन्ला भनेको छोरो बेपत्ता भएको २२ वर्ष भइसक्यो, तर अहिलेसम्ममा छोराको अवस्था थाहा पाउन सकेकी छैन’ उनले भनिन्,‘छोरो ज्यँुदो होला भन्ने आशा पनि छैन। माओवादी आरोपमा मेरो छोरालाई सुरक्षाकर्मीले घरबाटै पक्राउ गरेर २०५५ सालमा लिएका हुन्।’ उनले पनि सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी गरेकी बताउँदै न्यायका लागि आग्रह गरिन्।
जाजरकोट नगरपालिका— ४ की राज्यलक्ष्मी खनालले श्रीमान् बेपत्ता बनाएपछि आफ्नो जीवन निर्वाहमा निकै समस्या परेको गुनासो गरिन्। जिल्ला प्रहरी कार्यालय जाजरकोट परिसरमा रहेको कालिका मन्दिरका पुजारी रहेका शर्मालाई सुराकीको आरोपमा तत्कालीन विद्रोही माओवादीले २०५८ सालमा अपहरण गरी बेपत्ता बनाएका थिए। आफ्ना श्रीमान्को सास वा लासको अवस्था सार्वजनिक गर्न र बेपत्ता पार्नेलाई कारबाही गर्न उनले माग गरिन्।
जाजरकोटमा द्वन्द्वका क्रममा ३ सय ७६ जनाले ज्यान गुमाएका थिए भने अझै १३ जना बेपत्ताको सूचीमा रहेका छन्। अधिकारकर्मी सहदेव बस्नेतले द्वन्द्वको घाउ अझै नमेटिएको बताए। सरकारले सत्यनिरूपण तथा मेलमिलाप गर्न ढिलाइ गर्दा पीडा बल्झिरहेको उनको भनाइ छ।