छेडागाडमा १५ शैय्याको नगर अस्पताल सञ्चालनमा
जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकाले १५ शैय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ। स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नगर अस्पतालको एक समारोहबीच छेडागाडको मनघाटमा उद्घाटन गरेका छन्।
भाडाको घरमा सेवा सुरु गरिएको हो। पक्की संरचना तयार नहुँदासम्म सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायी रुपमा संरचना निर्माण गरेर कामको सुरु गरिएको छ।
पश्चिम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर भएको अवस्थामा नगरअस्पताले दुर्गमका बासिन्दालाई सहज स्वास्थ्य सेवा पुग्नेमा स्थानीयले आशा गरेका छन्।
संघीय सरकारको एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरु हुने नगरप्रमुख लालबहादुर महताराले बताए।
केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ। हाल सदरमुकामस्थित जिल्ला अस्पतालका चिकित्सकलाई काजमा राखेर सेवा सुरु गरिएको नगरप्रमुख महताराले बताए।
नगरअस्पतालमा एक जना मेडिकल अधिकृत, २ जना स्टाफ नर्ससहित १५ जना स्वास्थ्यकर्मी कार्यरत रहने छन्। ल्याब र एक्सरे सेवासहितको चिकित्सकको सेवा प्रदान गरिने छ। हाल ३ सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम सुरु गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए।
१५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतको भनाइ छ। देशै भरीमा छेडागाड नगरपालिकाले पहिलो पटक नगरअस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ। १५ शैय्याको अस्पतालमा १५ करोड बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए। ३९ वटा १५ शैय्याको कर्णालीमा स्वास्थ्य संस्था निर्माण गर्न लागिएको छ।