एम्बुलेन्सविहीन जाजरकोट
जाजरकोट : बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । नेपालगञ्जको कल्लु ग्यारेजमा एम्बुलेन्स थन्किएपछि जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको हो ।दुईवटा टायर फेर्न र मोबिल इन्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुन्स ग्यारेजमा लगिएको भएपनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेश कुमार शाहले बताए। एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ । एम्बुलेन्स संचालनमा नरहेपनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन् । रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन ।
जिल्ला नै एम्बुलेन्सबिहीन हुँदा पनि मर्मत गरी संचालन गर्नतर्फ सम्बन्धित निकायको ध्यान नजानु दु:खद पक्ष रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । एम्बुलेन्स नहुँदा स्थानीयले स्टेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्ला बाहिर लैजान सार्वजनिक तथा पब्लिक गाडी रिजर्भ गरेर बिरामी लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
एक लाख ५० हजारको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर संचालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिए।
तर अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरेपनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकोले प्रदेश स्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताइन् ।