चारवर्षदेखि मुस्ताङ र डोल्पा जोड्ने पुल अलपत्र
जोमसोम : हिमालपारीको जिल्ला मुस्ताङ र डोल्पा जोड्ने पाक्लिङ-एक्लेभट्टी मोटरेबल पुल निर्माणको काम विगत साढे ४ वर्षदेखि अलपत्र छ। संघीयताअघि २०७३ साल भदौमा साविक जिल्ला विकास समितले ईलाईट संकरमाली जेभी काठमाडौंसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । त्यसो त २०७२ सालमा सो पुलको योजना परेपनि महाभूकम्पका कारण पुलको ठेक्का सम्झौता १० महिनापछि धकेलिएको थियो ।
सम्झौता अवधि १५ महिना रहेको मुस्ताङ र डोल्पा जोड्ने १ सय २० मिटर लामो पक्की पुलको लागत ११ करोड ७५ लाख ७६ हजार रुपैयाँ रहेको छ ।संघीय आयोजनाको रुपमा रहेको पाक्लिङ /एक्लेभट्टी पुल संघीयता कार्यान्वयनसँगै साविक जिल्ला विकास समितिबाट गण्डकी प्रदेश अन्तर्गत पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिए । कार्यालय प्रमुख पौडेलले पुलको साढे ४ वर्षमा जम्मा ३२ प्रतिशत मात्र प्रगति भएको उल्लेख गरे ।
पुल निर्माणका लागि कार्यालयलाई बजेट अख्तियारी आईसकेको भएपनि निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण पुलको काम अघि बढ्न नसकेको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।
कालिगण्डकी नदीमा निर्माणधिन पुलको चौडाइ ७ दशमलव २ मिटर रहेको छ । पुलको २ वटा पायर (पिल्लर ) र २ वटा एबुमेन्ट ( साईड पिल्लर ) मध्ये २ वटा एबुमेन्ट र एक पायरको काम अन्तिम चरणमा पुर्याएपनि बीचको एक पायरको सुपर स्टक्चर लगायतको अन्य कामहरु निर्माण कम्पनीले त्यसै अलपत्र छाडेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण कम्पनीलाई पटक/पटक काम गर्न पत्रचार र फोन सम्पर्क गरी ताकेता गरेपनि निर्माण कम्पनी फिल्डमा काम गर्न उपस्थित नभएको जनाइएको छ ।
यसअघि पटक/पटक म्याद थप भएको मुस्ताङ/डोल्पा जोड्ने पुलको अन्तिम म्याद यही माघमा सकिदै छ । पूर्वाधार कार्यालयले यदी तोकिएको अन्तिम समय सम्ममा पनि काम गर्ने अवस्था नरहेमा यसअघिका सम्झौता शर्त बमोजिम कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाईने जनाएको छ ।
२०७३ साल देखि निर्माण आरम्भ भएको मुस्ताङ र डोल्पा जोड्ने कालिगण्डकी नदीमा निर्माणधिन एक्लेभट्टी-पाक्लिङ पुलको काम निर्माण कम्पनीको अनेकन ढिलासुस्ती र बहानबाजी गरी साढे ४ वर्ष सम्म त्यसै अल्झाएर राखेको स्थानीय रिङझिङ गुरुङले जानकारी दिए । उनका अनुसार साविक जिविस ,स्थानीय प्रशासन र पूर्वाधार विकास कार्यालयको निरिहपनले पुलको कामले गति लिन नसकेको बताए ।
छिमेकी जिल्ला डोल्पासंगै मुस्ताङको कालिगण्डकी पश्चिमतर्फ रहेका दुर्गम बस्ती साङ्ता,फल्याक ,धार्काजुङ र पाक्लिङ लगायतका गाउहरुलाई प्रत्यक्ष फाईदा पुर्याउने उक्त पुल लामो समय देखि अलपत्र परेकाले यतिबेला स्थानीयको पुल बन्ने भरोसा टुट्न थालेको गुरुङको भनाइ छ । । छिमेकी २ जिल्ला जोड्ने महत्वपूर्ण पुल भएको र त्यसका लागि विगतमा पटक/पटक डेलिगेशन आउदा समेत पुल निमार्णका लागि निर्माण कम्पनी र सरोकारवाला निकाय यसप्रति गम्भिर नभएको गुरुङको दुखेसो छ ।
डोल्पा जोड्ने उक्त पुल छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई काममा लगाउनु पर्ने वा त्यसो नभएमा कम्पनीसंगको ठेक्का सम्झौतानै रद्द गर्नुपर्ने स्थानीयको माग रहेको उनले स्पष्ट पारे ।
यसअघि निर्माण कम्पनीले पुलको काम लामो समय देखि अलपत्र राखेपछि म्याग्दी पूर्वाधार विकास कार्यालयले बैंक मार्फत मोबिलाईजेसन वापत कम्पनीले लिएको १ करोड ७१ लाख रुपैया गत वर्ष फिर्ता लिएको थियो । यता ,निर्माण कम्पनीले भने एक्लेभट्टी-पाक्लिङ पुलको डीपीआर सर्भे नै त्रुटी भएको आरोप लगाएको छ ।