भक्तपुरमा कोरोना संक्रमित ८ हजार नजिक

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमित ८ हजार नजिक पुगेका छन्। बुधबार ९८ जना नयाँ थपिएसँगै यहाँ कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ९ सय १५ पुगेको हो।
जसअनुसार ४ हजार ४ सय ७९ पुरुष र ३ हजार ४ सय ३६ महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। कार्यालय प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये बुधबारसम्म सबैभन्दा बढी मध्यपुर थिमि नपामा २ हजार ९ सय २७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। जसमध्ये एकहजार ६ सय २७ पुरुष र एकहजार ३ सय महिला रहेका छन्।
मध्यपुर थिमिपछि सूर्यविनायक नपाका २ हजार ४ सय ३९ जनालाई संक्रमण भएको छ। जसअनुसार पुरुषको संख्या एक हजार ४ सय २० र महिलाको संख्या एकहजार १९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार भक्तपुर नपामा ८ सय ५७ पुरुष र ७ सय ६३ महिला गरी संक्रमितको संख्या एकहजार ६ सय २० पुगेको छ। त्यस्तै चाँगुनारायण नपामा ४ सय ४२ पुरुष र २ सय ६० महिला गरी जम्मा संक्रमितको संख्या ७ सय २ पुगेको छ।
कोरोनाको कारण मृत्यु हुने एकसय नाघे
बुधबार भक्तपुरका एक संक्रमित पुरुषको मृत्यु भएको छ। यससँगै भक्तपुरका ६७ पुरुष र ३६ महिला गरी कोरोनाको कारण मृत्यु हुनेको संख्या एकसय ३ पुगेको छ।
यो कूल संक्रमितको १.३ प्रतिशत हुन आउँछ। देशभरको मृत्युदरको तुलनामा भक्तपुरको मृत्युदर दोब्बरभन्दा बढी हो। देशभर कोरोना संक्रमणको कारण भएको मृत्युदर ०.६ प्रतिशत रहेको हो। विश्वको मृत्युदरभन्दा भक्तपुरको मृत्युदर १.१ प्रतिशतले कम हो। बुधबार विश्वको कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर २.४ प्रतिशत रहेको छ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका ४ नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४१ संक्रमितको मृत्यु भएको छ। यहाँका २६ पुरुष र १५ महिला संक्रमितको मृत्यु भएको कार्यालय प्रमुख मिजारले जानकारी दिए।
त्यस्तै मध्यपुर थिमि नपाका २३ पुरुष र ११ महिला गरी ३४ जना संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका १२ पुरुष र ९ महिला गरी २१ संक्रमितले ज्यान गुमाएका छन्। भक्तपुरका चार नपामध्ये सबैभन्दा कम चाँगुनारायण नपामा ५ पुरुष र एक महिला गरी ६ जना संक्रमितको मात्रै मृत्यु भएको छ।
९१ प्रतिशत संक्रमित होम आइसोलेसनमा
भक्तपुरका सक्रिय संक्रमितमध्ये ९१.३ प्रतिशत होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य कार्यालयका अनुसार यहाँका ९ सय ८९ जना सक्रिय संक्रमितमध्ये ९ सय ३ जना होम आइसोलेसनमा रहेका छन्।
यसरी होम आइसोलेसनमा बस्नेमध्ये ५ सय २२ पुरुष र ३ सय ८१ महिला रहेको कार्यालय प्रमुख मिजारले जानकारी दिए। उनले यहाँका ४६ पुरुष र ४० महिला गरी ८६ जना सक्रिय संक्रमितमात्रै अस्पताल तथा नपाका आइसोलेसन केन्द्रमा रहेका छन्। धेरैजसो संक्रमित होम आइसोलेसनमा बसेकाले यहाँका अधिकांश अस्पताल तथा नपाका आइसोलेसन केन्द्र खाली हुन थालेका छन्।
भक्तपुर अस्पतालमा रहेको भेन्टिलेटरयुक्त आईसीयूसमेत अहिले खाली रहेको कार्यालयले जनाएको छ।
८६ प्रतिशत संक्रमित डिस्चार्ज
भक्तपुरका ८६ प्रतिशत संक्रमित निको भएर डिस्चार्ज भएका छन्। ३ हजार ८ सय ४४ पुरुष र २ हजार ९ सय ७९ महिला गरी ६ हजार ८ सय २३ जना संक्रमित संक्रमण जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
भक्तपुरको संक्रमण निको हुनेको दर राष्ट्रिय दरभन्दा ६ प्रतिशत कम हो। देशभर कोरोना निको हुने दर ९२ प्रतिशत रहेको छ। विश्वको भन्दा भक्तपुरको कोरोना निको हुने दर भने १७ प्रतिशत बढी रहेको छ। बुधबारसम्म विश्वमा कोरोना भाइरस संक्रमण निको हुने दर ६९.२ प्रतिशतमात्रै रहेको छ।
प्रतिक्रिया दिनुहोस !
