हिमालपारिका बासिन्दालाई चिसोको सकस
मुस्ताङ : समुन्द्री सतहदेखि ४ हजार मिटरको उचाइमा अवस्थित उपल्लो मुस्ताङको उत्तरी सीमावर्तीक्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई यतिबेला हिउँदयामको अत्यधिक चिसो कसरी कटाउने भन्ने चिन्ता थपिएको छ। हिउँ पर्न रोकिए पनि उपल्लो मुस्ताङको तापक्रम माइनस १० देखि १५ डिग्रीमा झरेको छ। अत्यधिक चिसो बढेकाले स्थानीयको दैनिक क्रियाकलापमा समेत प्रतिकुलअसर पुर्याएको स्थानीय बताउँछन्।
विगतका वर्षहरुमा उपल्लो मुस्ताङका अधिकांश स्थानीय यतिबेला जाडो छल्न तथा विभिन्न घुम्ती व्यापार व्यवसाय संञ्चालन गर्न बेशी झरिसकेका हुन्थे।अत्यधिक चिसो हुने र खेतीपातीको कामकाज समेत नहुने भएकाले उपल्लो मुस्ताङबासी हिउँदमा बेसीमै झर्नुपर्ने पूख्यौली परम्परा रहेको स्थानीय छिरिङ ढिन्डु गुरुङ बताउँछन्।
‘हिउँदमा केही घर कुरुवा तथा पशुचौपाया रेखदेखमा गोठाला र बृद्धबृद्धा गाउँमै बस्थे', उनले भने, ‘तर यसपटक भने विश्वब्यापी माहामारीको रुपमा उत्पन्न कोरोना भाइरसको संक्रमण जोखिमको डरले उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीय गाउँमै कठाङ्ग्रिएर बस्न बाध्य छन्।’उनले यसपटक गाउँमा बसेका स्थानीयलाई कसरी हिउँदयामको जाडो कटाउने भन्ने चिन्ता बढेको उल्लेख गरे। गाउँमा जाडो थेग्ने आवश्यक पूर्वाधार नभएकाले ३ तहको सरकारले राहत सामाग्री उपलब्ध गराउनु पर्ने माग राखे।
बर्सेनि हिउँदयाममा उपल्लो मुस्ताङीले जाडो छल्न बेशी झर्ने र वैकल्पिक आम्दानीका लागि घुम्ती व्यापार गर्थे। यसवर्षको कोरोना कहरले सिर्जित असहजताले वैकल्पिक घुम्ती व्यापारको कमाइ गुमेको लोमान्थाङ—३ ठिङ्गरका टसीनर्बु गुरुङले बताए। घुम्ती कमाइ गुमेकोले रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता बढेको उनको भनाइ छ। उनका अनुसार यसपटक गाउँमै बस्नुपर्दा हिमपात, चिसो र कोरोनाको सामाना गर्नु पर्ने उक्तिकै चुनौति थपिएको हो।
उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेसँगै प्रत्येक घरघरका धारामा आउने पानी बरफ जमेर जाम भएका छन् भने हिमालबाट बहने स-साना शाखा नदी, खोला र सिचाइँ कुलोको पानी जम्न थालेको छ। स्थानीयले यतिबेला खोलाको जमेको बरफ पानी घरमा ल्याई उमालेर खाना पकाउने, पशु चौपायालाई आहारा पकाउने कपडा धुने र नुहाउनु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। चिसोले घरका सेफ्टी ट्याङ्की जमेकाले शौचालयको विकल्पमा खुला दिशापिसाप गर्नुपर्ने अवस्था रहेको छ।
कोरोनाले गाउँमै बस्न बाध्य उपल्लो मुस्ताङका गरिब तथा विपन्न समुदायलाई जाडोको समस्याका साथै वैकल्पिक आम्दानी गुमेपछि आर्थिक अभावको समस्या परेको हो। हिउँदयाममा घुम्ती व्यापारमा कमाएको कमाईले बर्खायामभरीको खर्च जोहो गर्नुपर्ने त्यहाँका स्थानीयको बाध्यता छ।
‘उपल्लो मुस्ताङमा हिउँदयाममा जाडोको समस्या त हुने नै भयो, त्यसमाथि गाउँ नै ढाकिने गरी हिमपात हुन्छ', उनले थपे, 'मानिस तथा पशुचौपायालाई उत्तिकै सास्ती हुन्छ। बालबालिका र ज्येष्ठ नागरिकलाई रुखाघोकी र निमोनियाको सम्भावना रहन्छ।’
उपल्लो मुस्ताङमा यसवर्ष मंसिर १ गते पहिलो हिमपात भएको थियो। हिमपातसँगै अत्यधिक चिसो बढेपछि लोमान्थाङ गाउँपालिकामा सञ्चालनमा रहेका केही विद्यालयको वैकल्पिक विद्यार्थी सिकाई सहजीकणको पठन-पाठन बन्द भएको लोमान्थाङकी शिक्षा अधिकृत मिरादेवी शर्माले बताइन्। ‘चिसोले विद्यार्थी र शिक्षकको स्वास्थ्य प्रतिकुल हुने डर भयो', उनले भनिन्, ‘यसैले गाउँपालिकाको अनुमतीमा केही विद्यालय बन्द भए केही बन्द हुने क्रममा छन्।’
यस्तै, लोघेकर दामोदरकुण्ड गापाका विद्यालय पनि मंसिरको अन्तिम सातामा बन्द हुने बताइएको छ। लोमान्थाङका ४ गुम्बा र २ निजी विद्यालयले पनि घुम्ती कक्षाका लागि विद्यार्थीलाई गत हप्ता पोखरा झरिसकेको छ। लोमान्थाङको एक मात्र दिब्यदिप माविले भने माध्यमिक तहको ९ र १० का विद्यार्थीलाई घुम्ती कक्षाका लागि पोखरा झारिएको भए पनि आधारभूत तहका विद्यार्थीलाई हिउँदे जाडो बिदा दिइएको प्रअ रामुप्रसाद श्रेष्ठले जानकारी दिए। लोमान्थाङमा १० र लोघेकर दामोदरकुण्ड गापामा ८ वटा सामुदायिक विद्यालय छन्।