दशरथचन्द नगरपालिका विद्यालय खुलेको दुई दिनमै बन्द
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय सञ्चालन भएको दुई दिनमै बन्द भएका छन् । कोरोना भाइरसको जोखिम बढेको भन्दै शनिबारदेखि नगरपालिका क्षेत्रमा लकडाउन गरिएपछि विद्यालय बन्द भएका हुन् ।
नगर कार्यपालिकाको बैठकले शनिबारदेखि नगर क्षेत्रमा लकडाउन सुरु गरेकाले शिक्षण संस्था बन्द भएका दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए ।
कक्षा १२ को परीक्षा स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर सञ्चालन हुने तर अन्य शिक्षण संस्थाहरु बन्द रहने उनले बताए । उनले भने, ‘कोरोना भाइरसको जोखिम बढेको भन्दै नगर क्षेत्रमा लकडाउन गरिएको छ । त्यसैले शिक्षण संस्था पनि बन्द भएका हुन् ।’
नगरपालिकाले नगर क्षेत्रभित्रका लामो समयदेखि बन्द रहेका विद्यालय यही मंसिर ११ गतेबाट सञ्चालनमा ल्याएको थियो । नगरक्षेत्रमा कोरोना भाइरसका बिरामी बढ्दै गएपछि विद्यालय फेरि बन्द गरिएका शिक्षा शाखा प्रमुख नाथले जानकारी दिए ।
लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुमा भने नकारात्मक असर पर्दै गएको छ । लकडाउनका कारण गएको चैतदेखि विद्यालय बन्द छन् । यो शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी नपुगेरै शैक्षिक सत्र अन्त्य हुने चिन्ता बढेको मणिलेक मावि गुरुखोलका प्रधानाध्यापक केशवदत्त भट्टले जानकारी दिए ।
पहाडी क्षेत्रमा शिक्षणका अन्य विकल्पहरु प्रभावकारी नभएका र विद्यालय सञ्चालन नहुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेको उनले बताए । उनले भने, ‘हाम्रो जस्तो क्षेत्रमा विद्यालयबाहेक अन्य विकल्पहरु शिक्षणका लागि त्यति उपयुक्त छैन् । तर यो वर्ष विद्यालय सञ्चालनमा आउला जस्तो छैन् ।’