मुस्ताङ्को थासाङमा १८ करोड लागतको अस्पताल भवन शिलान्यास
जोमसोम : हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गापामा १५ शैयाको अस्पताल भवन निर्माण हुने भएको छ ।अस्पताल भवनको सोमबार मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले एक समारोहका बीच शिलान्यास गरेका हुन्।
सरकारले यसअघि ७४४ वटै स्थानीय तहमा आधारभूत १५ शैयाको अस्पताल बनाउने योजनाको निर्दैशन स्वास्थ्य मन्त्रालयलाई दिएअनुसार थासाङमा १५ शैयाको अस्पताल भवन बनाउने तैयारी भएको थासाङका स्वास्थ्य सयोजक सिताराम कार्किले जानकारी दिए ।
उनका अनुसार अस्पताल भवनको लागत १८ करोड ६ लाख ८२ हजारको रहेको र २ वर्षमा सम्पन्न गरिसक्नुपर्नेछ ।भवन शिलन्याससँगै अब गापाले ठेक्का टेन्डर र डिजाइनको तयारी सुरुवात गर्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य पूर्वाधार बनेपछि नरसिङ अधिकृत १, नर्स ५, मिडवाइफ गरी २७ जना जनशक्ति परिचालन हुनेछ । नेपाल सरकारबाट स्वीकृत कार्य विस्तृतिकरणअनुसार जनतालाई सरल र सहज रुपमा स्वास्थ्य सेवा गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयको योजना अनुसार थासाङमा १५ शैयाको अस्पताल बन्न लागेको हो ।
शिलन्यास कार्यक्रममा संघीय सांसद प्रेमप्रसाद तुलाचनले थासाङमा आधारभूत अस्पताल बनेपछि दुर्गम भेकका जनतालाई राहत पुग्ने बताए । म्याग्दी र मुस्ताङको सीमावर्ती भेकका बासिन्दालाई साधारण उपचार गर्न कठिनाइ भइरहेको अवस्थामा संघीय सरकारको यस योजनाले स्थानीयस्तरमै स्वास्थ्य उपचारको प्रत्याभूति मिल्ने दावी गरे ।
थासाङ गापाका अध्यक्ष बुद्दीप्रसाद शेरचनले स्थानीय तहमा पूर्वाधार सम्पन्न अस्पताल बनेमा पालिकामा रहेका जनतामा स्वास्थ्यको मार्ग खुल्ने उल्लेख गरे ।उनले गापामा आवश्यक स्वास्थ्य पूर्वाधार नहुँदा स्थानीयले स्वास्थ्यलाभ लिन सास्ती भोग्नु परेको बताए ।