उदयपुरमा आगलागीबाट १० लाखको क्षति
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ चाँपमा बिहीबार साँझ आगलागी हुँदा करिव १० लाख बराबरको क्षति भएको छ ।
साँझ ५ बजे हरिनारायण कोइरालाको गाईगोठमा खोले पकाएर रहेको कोइलाबाट आगो सल्किएर दुई तले काठको घर पूर्णरुपले जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालका अनुसार आगलागीबाट घरसँगै अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र गाईको गोठ पूर्णरुपले जलेरन नष्ट भएका छन् ।
घरमा सल्किएको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको उनले बताए ।
आगलागीबाट मानवीय तथा चौपायमा क्षति नभए पनि ठूलो रकमको भौतिक संरचना र भर्खरै थन्काएको धान लगायत खाद्यान्नमा क्षति पुगेको स्थानीयको भनाइ छ।