क्लबलाई सक्षम बनाऔं

क्लबलाई सक्षम बनाऔं

संसारकै लोकप्रिय खेल फुटबलको क्रेज नेपालमा पनि उत्तिकै छ। अन्य मुलुकमा जस्तै फुटबल भनेपछि हुरुक्क हुने दर्शकको यहाँ कमी छैन। यति भईकन पनि नेपाली फुटबल क्षेत्रले व्यावसायिकताको बाटो पहिल्याउन सकेको छैन। घरेलु लिगलाई हरेक राष्ट्रको फुटबलको मेरुदण्ड मानिन्छ, तर नेपालको घरेलु लिग कहिल्यै पनि ट्रयाकमा चल्न सकेन। राजनीतिक व्यवस्थाका लागि भएका परिवर्तनदेखि लिएर खेलकुदभित्रको आन्तरिक शक्ति संघर्ष र पूर्वाधार अभावका कारण पनि नेपालको 'ए' डिभिजन लिगले सोचेअनुरूपको प्रतिफल दिन सकेको छैन। २०११ सालबाट सुरु भएको 'ए' डिभिजन लिगको अहिलेसम्म ४२ संस्करण मात्र सम्भव भएको छ। घरेलु लिग ट्रयाकमा हिँड्न नसक्दा नेपाली फुटबलले पनि अपेक्षाकृत सफलता हासिल गर्न सकेको छैन। 

घरेलु लिग कमजोर बन्नुका पछाडि धेरै कारण छन्। त्यसमध्ये प्रमुख हो पूर्वाधार। पूर्वाधार अभावका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले इच्छाशक्ति देखाउँदा-देखाउँदै पनि पर्याप्त काम हुन नसकेका धेरै उदाहरण छन्। अहिले पनि एउटै दशरथ रंगशालाले घरेलु लिगलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको भार थेग्नुपरेको छ। एन्फाले घरेलु लिग ‘होम एन्ड अवे' को अवधारणाअनुसार सञ्चालन गर्ने घोषणा गरेको लामो समय बितिसक्दा पनि त्यसले मूर्तरूप लिन सकेको छैन । पूर्वाधार समस्याकै कारण नेपालका 'ए' डिभिजन क्लबले एसियाली फुटबल महासंघ (एएफसी) बाट प्रदान गरिने 'क्लब लाइसेन्स' पाउन सकेका छैनन् । अघिल्लो वर्ष १४ वटै 'ए' डिभिजन क्लबको लाइसेन्सको आवेदन खारेज गर्दै एन्फालाई ठूलो आर्थिक जरिवानासमेत तिराएको एएफसीले यस वर्ष कुनै पनि क्लबलाई लाइसेन्स दिएन। 

एएफसीको फर्स्ट इन्स्टेन्स बडी (एफआईबी) ले नेपाली क्लबको प्रतिवेदनअनुसार नै क्लब लाइसेन्स नदिएको हो । क्लब लाइसेन्सको आवेदन खारेज भएपछि नेपालका १३'ए' डिभिजन क्लबले सन् २०२१ मा एएफसीले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने भएका छन्। गत वर्ष पनि क्लब लाइसेन्स नपाउँदा नेपाली टोलीले एएफसीका आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन पाएनन्। 'ए' डिभिजनमा १४ क्लब हुने भए पनि सरस्वती युथ क्लब 'बी' डिभिजनमा घटुवा हुनु र कोरोना महामारीले 'बी' डिभिजन लिग बीचमै रोकिएका कारण यसपटक १३ क्लबले मात्र लाइसेन्सका लागि आवेदन दिएका थिए। 

एएफसीले क्लब लाइसेन्सका लागि मुख्य रूपमा पाँचबुंदे मापदण्ड तोकेको छ। ती बुंदाभित्र १९ वटा सहायक बँदा छन्। यसमा क्लबहरूको स्पोर्टिङ गतिविधि, एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियल अनुबन्धलगायत छन् । अर्को महत्त्वपूर्ण बँदा कानुनी प्रक्रिया पनि हो। यसमा क्लबको वार्षिक बजेट, अडिट रिपोर्टदेखि कर चुक्ता प्रक्रिया पर्छन् । यसैगरी क्लबहरूको आफ्नै खेल मैदान, एकेडेमी, खेलाडीको होस्टेल, प्रशिक्षणस्थल रहनुपर्ने मापदण्ड छ। यस्तै क्लबको आफ्नै युथ स्तरका दुई टिम र ग्रासरुट कार्यक्रम पनि समावेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ। 

क्लब लाइसेन्सका लागि महत्त्वपूर्ण र अत्यावश्यक मापदण्ड युवा विकास कार्यक्रम र यू- ५ टिम। केही 'ए' डिभिजन क्लबको प्रशिक्षणस्थल र खेल मैदान भए पनि यी दुई मापदण्ड कुनै क्लबसँग पनि नहुँदा एएफसीले त्यसैलाई मुख्य गल्ती देखाएको थियो। नेपाली क्लबहरू लगातार दोस्रोपटक क्लब लाइसेन्स पाउनबाट वञ्चित बनेका छन्। यसले नेपाली फुटबलको साखलाई गिराउने मात्र होइन; फुटबल विकासको हाम्रो संरचनामै त्रुटि देखाएको छ। त्यसैले एन्फाले आगामी दिनमा घरेलु लिग मात्र सञ्चालन गर्ने होइन; एएफसीको क्लब लाइसेन्सका लागि योग्य क्लब पनि तयार पार्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.