आमाको हत्या गर्ने छोरालाई जन्मकैद
राजविराज : खुकुरी प्रहार गरी जन्मदिने आमाको हत्या गर्ने छोरालाई बिहीबार अदालतले जन्मकैदको सजाय गरेको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका-१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको आरोपमा उनका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीलाई जन्मकैदको सजाय भएको हो।
जिल्ला न्यायाधीश सूर्यप्रकाश अधिकारीको इजलासले अभियुक्तलाई जन्मकैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
मादक पदार्थ सेवन गरिरहने युवकले ०७६ असार १९ गते साँझ खुकुरी प्रहार गरी आमाको हत्या गरेका थिए। घरमा कोही नभएका बेला जंगबहादुरले खुकुरी प्रहार गरी आमा धनमायाको हत्या गरेको भन्दै मृतकका पति ६५ वर्षीय लोकबहादुर पुलामीले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७६ असार २० गते उजुरी दर्ता गराएका थिए। लोकबहादुर घटनाका बेला मोबाइलको रिचार्ज कार्ड र खैनी किन्न बजार निक्लिएका थिए।
सुरुङ्गा नगरपालिका १ का निमित्त वडाअध्यक्ष इन्द्र आले मगरले आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए। खुकुरी नचाउँदै बुवा र छिमेकीलाई समेत मार्ने धम्की दिइरहेका बेला उनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो।
खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाले जनायो। इन्स्पेक्टर प्रकाश बस्नेतका अनुसार दुबै हातमा खुकुरी लिएर आँगनमा नाचिरहेको अवस्थामा सम्झाई-बुझाई गरेर आरोपितलाई नियन्त्रणमा लिइएको थियो।
खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पुलामी ०७६ साउन ९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। मनोरोगी भएको भन्दै जंगबहादुरलाई छाडेकी उनकी श्रीमती एक छोरा र एक छोरीका साथ उदयपुरको रौतास्थित माइत विस्थापित छन्।