घरसँगै जल्यो साह परिवारको सपना
राजविराज : सन्तानलाई राम्रो शिक्षा दिने सपना देखेर रकम जम्मा गरेका सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका साह परिवारको सपना खरानी भएको छ।
धान काटन सपरिवार खेत गएका बेला बिहीबार दिउँसो आनन्द साहको घरमा भएको आगलागीले घरसँगै सपना खरानी भएको हो।
आगलागीमा परेर उनको घर र गोठ स्वाहा भयो। घरमा रहेको लत्ताकपडा, अन्नसहित छोराछोरीको क्याम्पस भर्नाका लागि जम्मा गरेको १ लाख ७५ हजार नगदसमेत जलेर खरानी भएको साहले बताए।
आगो दन्किएपछि भेला भएका स्थानीय र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिए। आगो फैलिनबाट रोकिए पनि साह परिवारको छोरा–छोरीलाई उच्च शिक्षा दिलाउने धोको घरसँगै खरानी भएको साहले बताए।
‘धान खेत गएका बेला हल्ला सुनेर घर आयौ, हेर्दाहेर्दै सबै खरानी बनायो’ गहभरी आँसु पार्दै उनले भने, ‘केही बचाउन सकिएन। घरभरी आगो फैलिसकेकाले पैसा समेत निकाल्ने मौका पाइनँ।’
छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋण लिएर उनले नगद १ लाख ७५ हजार जोहो गरेका थिए। नगदसहित सुनचाँदीको गरगहना तथा अन्नपातलगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि यतिबेला बिजोगमा परेको लक्ष्मी साह बताउँछन्।
‘क्याम्पस सुचारु भएपछि लहानमा छोरीलाई क्याम्पस भर्ना गर्न र चितवनमा अध्ययनरत छोराको फि तिर्न साहले नगद रुपैयाँ जम्मा गरेका थिए। शुक्रबार नै लहान गएर क्याम्पसमा छोरीको भर्ना गर्ने योजनामा उनी थिए। त्यसपछि चितवनमा अध्ययनरत छोराको लागि लहानबाट आइएमई गरेर फि शुल्क पठाउने उनको सोच थियो। अचानक भएको आगलागीले सपनासमेत खरानी भएको उनले बताए।
घरसहित सबै सामान जलेर खरानी भएपछि ठूलो संकटमा परेको उनी भन्छन्, ‘न त टाउको लुकाउने छानो बच्यो, न छोराछोरीका पढाइका लागि जम्मा गरेको रुपैयाँ नै जोगियो, अब कसरी क्याम्पसमा छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता थपियो।’
क्याम्पसमा सञ्चालनमा आएपछि छोराछोरीको पढाइका लागि नगद रकमको जोहो गरेका उनको घरमा एक्कासी भएको आगलागीले साह परिवार घरबारबिहीन बनेका छन् भने छोराछोरीको अध्ययनलाई अगाडि बढाउन समस्या थपिएको छ। आगो लाग्नुको कारण भने पत्ता लागेको छैन्।