दम्भले ग्रसित शिक्षा

दम्भले ग्रसित शिक्षा

‘शिक्षा भनेको बाल्टिन भर्नु होइन, आगो सल्काउनु हो। जुन एक कुशल शिक्षकले मात्र गर्न सक्छ।’ प्रसिद्ध अंग्रेजी साहित्यकार विलियम बटलर येट्सको यो भनाइबाट शिक्षक कति शक्तिशाली छन्, तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ। शिक्षक फगत व्यक्ति होइन, व्यक्तित्व हो। शिक्षक मूर्ति होइन, पुजारी हो। शिक्षक आवरण होइन, अस्तित्व हो। जसरी हामी कुनै खास निर्देशकको फिल्म कहिले आउँछ भनेर प्रतीक्षामा हुन्छौं। कुनै खास टेलिभिजनको टक सो हेर्न उत्तिकै लालायित छौं। कसैका साहित्यिक कृति पर्खिन्छौं। वर्षौंवर्ष पनि नाम कसैले भनिरहनु पर्दैन, स्वतस्फूर्त हाम्रो मानसपटलमा आउँछ। आखिर किन ? के छ त्यस्तो रहस्य तिनीभित्र ? उत्तर सहज आउँछ– कला। हो, त्यस्तै छाप एउटा शिक्षकले विद्यार्थीमा छाड्न किन चाहँदैन वा सक्दैन ? नचाहेर हो कि नसकेर ? यो प्रश्नको जवाफ हरशिक्षकले दिनुपर्छ।

शिक्षकले शिक्षणलाई पेसा मान्नुपर्छ नकि जागिर। तन, मन वचन र कर्मले आफ्नो कामलाई नशानशामा तरंगित पार्नुपर्छ। अनि देखिन्छ शिक्षामा परिर्वतनका किरण।

शिक्षकले शिक्षण कलाबाट विद्यार्थीलाई सम्झिरहने बनाउन लाग्ने मात्रै हो भने सामुदायिक शिक्षा सुध्रिन्छ; करै लाग्छ। तसर्थ शिक्षक कलाकार बनौं गलाकार होइन। तपाईं भन्नुहोला शिक्षक मात्र जिम्मेवार छन् ? अहँ छैनन्। विद्यालय छ, समाज छ र संस्कृति छ। अभिभावक छन्, भूगोल र पद्धति छ। कति छ कति। तर ती सबैलाई व्यवस्थापन गर्ने तागत शिक्षकले राख्नुपर्छ। त्यसैले शिक्षा सुधारको पहिलो सूत्रधारचाहिँ शिक्षक नै हो। चाहे हामी मानांै या नमानौं तल प्रस्तुत विषय र प्रसंग आफ्ना भोगाइले सिर्जना गरेका हुन्, जसले असल र कर्तव्यनिष्ठ शिक्षकप्रति उच्च सम्मान छ, मानमर्दन गर्न खोजिएको छैन।

पहिलो प्रसंग
कुरा केही समयअगाडिको हो। म अभ्यास शिक्षणका क्रममा कुनै विद्यालयमा गएको थिएँ। एकजना भद्रजस्ता देखिने शिक्षक ११ बजेतिर विद्यालय आएर हाजिर गर्नुहुन्छ र क्षणभरमै हराउनुहुन्छ। मलाई जिज्ञासा भयो। प्रश्न सोधें, ‘हेड सर, उहाँ यही विद्यालयको शिक्षक होइन र ?’ उत्तर आयो, ‘हुन त हो सर, तर यहाँ कुरो अर्कै छ।’ ‘के कुरा सर ?’, मैले फेरि थपें। हेड सरले भने, ‘उहाँ यही ठाउँको लोकल हुनुहुन्छ; अनि फेरि रिटायर्ड पनि। एक वर्षजति मात्र बाँकी छ। म पनि केही भन्दिनँ सर। उहाँ दुई वर्षदेखि यसै गर्नुहुन्छ।’

दोस्रो प्रसंग
पंक्तिकार यतिखेर भने कुनै विद्यालयको शिक्षक हुन्छ। विद्यालयमा पठनपाठन हँुदै गर्दा विषय शिक्षक उपस्थित भएरै पनि एउटा कक्षा खाली भएको जानकारी सहायक प्रधानाध्यापकको निरीक्षणका क्रममा पत्ता लाग्छ। यो कुरा प्रधानाध्यापकसमक्ष पुग्छ। सोचेको थिएँ– प्रअले खाली भएको कक्षालाई तुरुन्त व्यवस्थापन गर्नुहुन्छ होला तर उहाँको जवाफ यस्तो आयो, ‘उहाँ सर र म यहाँ चियानास्ता खाँदै छौं। विद्यार्थीलाई हल्ला नगरी बस्न भनिदिनुस् न। एक दिन नपढाउँदैमा के नै हुन्छ र ?’ अलि रिसाहा स्वरमा हेडसरको जवाफ आयो। मैले मनमनै सोचें– हुन त पढ्दै नपढ्दा नि के हुन्छ र ? तर पनि पढ्नु त पर्छ नै।

तेस्रो प्रसंग
पंक्तिकारका एकजना साथी सामुदायिक विद्यालयमा रहँदाको अनुभव यसरी साट्नुहुन्छ। म विद्यालयको निजी स्रोतमा काम गर्थें। त्यहाँ शिक्षक सेवा आयोग पास गरेर आउनुभएका स्थायी शिक्षकहरू पनि हुनुहुन्थ्यो। मलाई यो थाहा थियो कि शिक्षक स्थायी होस् वा निजी होस्, काम पनि शिक्षण नै हो। हाम्रो धर्म भनेकै विद्यार्थीको भविष्य निर्माणमा ससाना गोरेटा बनाइदिने न हो। तर वातावरण सोचेजस्तो रहेनछ। विद्यालयको निर्णय प्रक्रियामा होस् वा दैनिक प्रशासन सञ्चालनमा होस्, मलाई र अरू स्थायी शिक्षकलाई हेर्ने आँखामा केही असमानता पाएँ। अनि सोच्न थालें– के विचारको पैरवी स्थायी शिक्षकले मात्र गर्न सक्छन् र ? आयोगमार्फत आउने सबै योग्य अरू अयोग्य भन्न मिल्छ र ? त्यस्तै हो भने निजी विद्यालयदेखि विश्वविद्यालयसम्म कार्यरत शिक्षक तथा प्राध्यापकहरू कमजोर नै हुन् त ?

अब यहाँ माथि उल्लिखित प्रसंगले शिक्षकको नैतिक धरातलको प्रश्न उब्जाएको छ। हुन त सबै शिक्षक वा प्रअ यस्तै हुनुहुन्छ भनेर आरोप लगाउने मनसाय होइन। तर शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि हुने वा नहुने शिक्षकका हातमा मात्र त छैन तर यतिचाहिँ भन्न सकिन्छ– सबैभन्दा पहिलो कारक वा सुधारकचाहिँ शिक्षक नै हुन्। ल मानिलिऔं– विद्यालयमा सुविधासम्पन्न भौतिक संरचना छ। अभिभावकको सहयोग सदैव छ। विद्यालयको नेतृत्व पनि कुशल छ। सामाजिक परिवेश सोचेअनुरूप छ। तर पढाउने र सिकाउने त शिक्षकले हो। भवनले त होइन। संरचनाले होइन। यी संरचना त्यो वैदिककालमा थिएनन् तर पनि ऋषिमुनिद्वारा गुफा र आश्रममा शिक्षा लिनेदिने काम भएकै थियो त !

‘घोकन्ते विद्या धावन्ती खेती’ भनेरै भए पनि सिकाइ अहिलेको भन्दा व्यावहारिक थिएन र ? अवश्य थियो। व्यावहारिकभन्दा पनि शिक्षाले दिनुपर्ने विषय भनेको नैतिकता हो। नैतिकताले सिर्जना गर्ने अनुशासन हो। अनुशासन कायम गर्ने विवेक हो, जुन स्थापित थियो। हो, यसरी विवेकको विनिमय गर्ने पहिलो काम शिक्षकको नै हो। तर यहाँ भइदिन्छ अर्कै। गुम्छ विवेक। जन्मिन्छ घमण्ड। सुरु हुन्छ दम्भको दलाली। जस्तो कि म स्थानीय शिक्षक पो हुँ त तपाईं बाहिरको; विद्यालयको माया मलाई पो धेरै छ –दम्भ एक। म त वरिष्ठ पो हुँ त तपाईं अस्तिको फुच्चे –दम्भ दुई। म त माध्यमिक तहको पो शिक्षक त तपाईंजस्तो सिँगाने केटाकेटीको शिक्षक हो र ? –दम्भ तीन। मेरो त शिक्षण अनुभव लामो छ –दम्भ चार। म अरूबाट कहाँ सिक्छु, म त सिकाउने पो हो –दम्भ पाँच। म त स्थायी पो हुँ –दम्भ ६। मलाई के कारबाही हुन्छ हेरौं न म पनि देखाइदिन्छु नि –दम्भ सात। म त हेड सर पो हँु, मैलै कहाँ पढाउने हो र ? –दम्भ आठ। हेड सर तृतीय म द्वितीय। मेरो नाम पो अगाडि आउनुपर्छ –दम्भ नौ। मैले त पढाएकै हो नि विद्यार्थीले पढ्दैनन् म के गरूँ ? कहाँ सम्भव छ र ? –दम्भ दस।

जबसम्म शिक्षकले शिक्षणलाई जागिर खाने भाँडो सम्झिन्छ र विद्यार्थीलाई आफ्ना छोराछोरी समान सम्झँदैन, शिक्षामा रूपान्तरणको नारा निरर्थक छ। समस्या नीति हुँदै होइन नियतमा छ। सिद्धान्तमा होइन सोचमा छ। विजय कुमार ‘सम्बन्धहरू’ उपन्यासको सुम्निमा शीर्षकको पेज नं १३ मा लेख्छन्, ‘मान्छेको रोग कति प्रतिशत उसको शरीरमा छ ? अनि कति प्रतिशत रोगचाहिँ उसको सोचमा छ ? यसै भन्न सकिन्न। किनभने मान्छे शरीर मात्र होइन, उसको सोच पनि हो मन पनि हो।‘ शिक्षकको भौतिक शरीर कक्षाकोठाभित्र रहे पनि पूर्णरूपमा मन रहन नसक्नु नै सोचको कमजोरी हो। यो नै सार्वजनिक शिक्षा सुधारको वाधक हो। शिक्षकले शिक्षणलाई पेसा मान्नुपर्छ नकि जागिर। भविष्य नै यसमा देख्नुपर्छ। तन, मन वचन र कर्मले आफ्नो कामलाई नशानशामा तरंगित पार्न जरुरी छ। साथै राज्यले राम्रा शिक्षकलाई पुरस्कार र खराबलाई दण्डको कार्यान्वयन गर्नुपर्छ। अनि देखिन्छ शिक्षामा परिर्वतनका किरण। प्रसिद्ध स्कटिस लेखक रोबर्ट लुई स्टिभेन्सनले भनेका छन्, ‘हर दिनको मूल्यांकन त्यो बालीसँग नगर्नुस् जुन तपाईंले काट्नुभएको छ, बरु त्यो वीजसँग गर्नुस्, जुन तपाईंले रोप्नुभएको छ।’

शिक्षक मित्रहरू हाम्रो वीज हाम्रा विद्यार्थी हुन्। वीजलाई उपयुक्त वातावरणमा रोप्ने र हुर्काउने काम तपाईंहाम्रो नै हो। अब यसरी विद्यार्थीमा अमिट छाप छाडौँ, जुन कुनै चर्चित फिल्म, साहित्यभन्दा कमजोर नहोस् र जसको बिम्ब प्रशंसा गर्नलायक बनोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.