बलात्कार अभियुक्त ११ वर्षपछि पक्राउ
नेपालगन्ज : सात वर्षीया बालिका बलात्कारीलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । बाँकेको साविक काँलाफाँटा गाविस–३ (हाल नरैनापुर गाउँपालिका–३) की ७ वर्षीया बालिकालाई बलात्कार गर्ने नरैनापुर–२ (साविक लक्ष्मणपुर गाविस–१) का ३४ वर्षीय हेमन्तकुमार शर्मालाई इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले सोमबार पक्राउ गरेको हो।
२७ कार्तिक २०६६ मा शर्माले बालिका बलात्कार गरेका थिए । जिल्ला अदालत बाँकेले उनलाई ३१ असार २०६८ मा १० वर्ष कैदको फैसला गरेको थियो । शर्मा भने फरार थिए ।
एटीएम फोड्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी शर्मालाई सार्वजनिक गरेको थियो । त्यसैगरी प्रहरीले गत २१ मंसिरमा नेपालगन्ज उपमहानगरपालिका–१८ को कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्दै गरेको अवस्थामा भारतको रुपैडिया बाबागञ्जका २१ वर्षका सलवान अली र मोविन अलीलाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले उनीहरुबारे अनुसन्धान भइरहेको बताए ।
हराएको साढे ११ लाख फेला
बाँके प्रहरीले २ जना व्यक्तिको हराएको ११ लाख ४० हजार रुपैंयाँ फेला पारेर हस्तान्तरण गरेको छ । गत २२ मंसिरमा दाङको महानगरपालिका–५ धर्नाका भारतबाट घर फर्कंदै गरेका ५४ वर्षका दत्तबहादुर नाथको सात लाख ४० हजार रुपैयाँ भएको झोला रिक्सामा नै छुटेर हराएको थियो । सीसीटिभि क्यामेराको सहयोगमा अनुसन्धान गरी प्रहरीले नाथको रकम फेला पारेको हो ।
त्यसैगरी गत १० मंसिरमा बैजनाथ गाउँपालिका–३ की राधिका विकको चार लाख रुपैयाँसहितको हराएको झोला वडा प्रहरी कार्यालय नेपालगन्ज र जिप्रकाको टोलीले सीसीटिभी क्यामेराको सहायताबाट फेला पारेर बाँके प्रहरी प्रमुख रानाले बिकलाई हस्तान्तरण गरेका हुन् ।