प्रहरीको प्रशंसनीय प्रयास
नेपाल प्रहरीको तल्लो दर्जामा कार्यरत सदस्यले जिम्मेवारी निर्वाह गर्ने क्रममा दैनिक भोग्नुपरेका समस्या उनीहरूकै मुखबाट सुनेर नेतृत्वले समाधान प्रयास गरेको छ। जनस्तरमा सम्बन्ध विस्तार गर्दै फिल्डमा खटेर काम गर्ने जवान र हवल्दारका गुनासा सुन्न संगठनले गरेको यो पहिलो कदम हो। अध्ययनका क्रममा संकलन गरिएका गुनासा विश्लेषण गरेर आवश्यकताअनुसार सुनुवाइ गर्दै जाने हो भने हावा, पानी, धुलो, धुवाँ, गोली, बारुदको समेत परवाह नगरी अहोरात्र सेवामा खटिने सदस्यको मनोबल बढ्नेछ। उनीहरूलाई कार्यक्षेत्रमा अझै प्रतिबद्ध भएर जाग्ने प्रेरणा मिल्नेछ। साथै जनताका सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने निकायको छवि सुधार्नसमेत सहयोग पुग्नेछ।
प्रहरी भन्नेबित्तिकै आम मानिसको दिमागमा हातमा लौरो वा हतियार बोकेर सडकमा उभिएका तथा आवश्यकता पर्दा अन्य स्थानमा दौडिने दस्ता हो भन्ने चित्र तयार हुन्छ। यसरी कार्यक्षेत्रमा खटिनेमा जवान तथा हवल्दार नै बढी हुन्छन्। माथिल्लो दर्जाका प्रहरी विशेष अवस्थामा मात्रै खटिन्छन्। यस हिसाबले हेर्दा डिउटीका क्रममा सबैभन्दा धेरै हैरानी यिनै सदस्यले झेल्नुपर्छ। उनीहरूको काम गर्ने समय निश्चित हुँदैन। सेवासुविधा उनीहरूकै थोरै हुन्छ। उनीहरूले काम गर्दा कति कष्ट र तनावको सामना गर्नुपर्छ भन्ने जान्न यात्रा गर्दा सडकमा एकछिन उभिएर हेरे पनि छर्लंग हुन्छ। यस्तो अवस्थामा संगठनले जवान तथा हवल्दारलक्षित उत्प्रेरणा अभिवृद्धि योजना ल्याएर तत्कालका लागि प्रशंसनीय काम गरेको छ। यसलाई सकारात्मक प्रयास मान्नुपर्छ। संगठन नेतृत्वको नियम कति असल छ भन्ने विषय कार्यान्वयनमा देखाउने तत्परताले निर्धारण गर्नेछ।
पछिल्लो समय प्रहरी संगठनभित्र तल्लो तहकै सदस्यहरूले राजीनामा दिने क्रम बढेको छ। यो दृष्टान्तलाई सेवासुविधा कम हुने तर सेवामा धेरै समय तल्लीन हुनुपर्ने समस्यासँग जोडेर हेर्न सकिन्छ। महिनाभरि काम गरेर एउटा परिवार पाल्नसमेत धौधौ हुने अवस्था पनि छ। संगठनमा आवाज बुलन्द पार्न नसक्नेले प्रहरी विनियमावलीले तोकेको बिदासमेत पाउन सकेका छैनन्। कानुनले दिएको सुविधा लिनसमेत हाकिमको पाउ मोल्नुपर्ने कठिन अवस्था रहेको गुनासो पनि सुनिन्छ। प्रहरी जागिरका क्रममा सबैभन्दा आकर्षक मानिने राष्ट्रसंघीय शान्ति मिसनमा पठाउँदासमेत अपारदर्शी तरिकाबाट छनोट हुने गरेको गुनासो पनि संगठनले गरेको अध्ययनकै क्रममा आएको छ। संगठनको अस्मितासँग जोडिएका यस्ता विषय सल्टाउन यो अध्ययनले निकै सहयोग पुर्याउन सक्छ। सार्वजनिक रूपमा सुन्ने गरिएको टीकाटिप्पणीलाई डकुमेन्टकै रूपमा संगठनले तयार पारेपछि कार्यान्वयन नगरी सुखै छैन। अध्ययनले औंल्याएको समस्यालाई एकैपटक सम्बोधन गर्न सकिँदैन। अध्ययनमा प्राप्त सुझाव अक्षरशः कार्यान्वयन हुनुपर्छ भन्ने पनि छैन, तर अहिले सार्वजनिक भएका गुनासालाई अलपत्र छाडिनुहुन्न।
संगठनमा ७९ हजार ५ सय ४३ जनशक्तिमध्ये ७६.८३ प्रतिशत जवान र हवल्दार छन्। तीनचौथाइ सदस्यले एकै प्रकारका समस्या झेल्न बाध्य हुनु भनेको बाहिर देख्दा सग्लो भए पनि भित्रभित्रै मक्किएको घरको नियतिमा संगठन पुग्नजस्तै हो। संगठनको चेन अफ कमान्डका कारण तत्काल उनीहरूको असन्तुष्टि बाहिर नपोखिएला, तर नेतृत्वले आफ्नो र संगठनको समेत बिग्रँदै गएको चरित्रमा सुधार ल्याउन नसक्ने हो भने एक दिन यो समस्या भुसको आगोमा परिणत नहोला भन्न सकिन्न। अर्को कुरा, समाजमा विधिको शासन स्थापना गर्न गठन गरिएको संगठन आफैं विधि, विधान र अनुशासनमा रहन सकेन भने जनमानसमा समेत नकारात्मक सन्देश जान्छ।