चिसोबाट बच्न पूर्वतयारी
कोभिड–१९ को महामारीबाट आक्रान्त तराई तथा पहाडी क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका कारण थप सकसपूर्ण जीवन जिउन बाध्य छन्। तापक्रम घट्दै जाँदा यो समयमा यी क्षेत्रमा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ। तापक्रम घट्ने क्रम भर्खर मात्र सुरु भएको छ। यो अवस्था बढ्दो क्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ। प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ। रोग लागेर विविध हैरानी बेहोर्नुभन्दा बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ।
यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै छ। केही दिनदेखि तराईमा बाक्लो हुस्सु र चिसो हावासँगै शीतलहरसमेत सुरु भइसकेको छ। यतिबेला मौसम चिसो हुने समय भए पनि अकस्मात चिसोको मात्रा बढेको छ। यसबाट तराई क्षेत्रका आर्थिक अवस्था कमजोर रहेका र एकसरो बाक्लो कपडासमेत किन्न नसक्ने नागरिक सबैभन्दा धेरै पीडामा छन्। सामान्य बनीबुतो गरेर जीवनयापन गर्दै आएका, बस्ने घरको उचित व्यवस्थापन हुन नसकेका, सुकुम्बासी, गर्भवती, वृद्धवृद्धा र बालबालिका बढी कष्ट झेल्न बाध्य छन्। यो समयमा उनीहरूलाई गाँस, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुन्न। असहाय नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ। राज्यसँगैै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघसंस्थाहरू र समाजमा आर्थिक रूपले सम्पन्न नागरिकले पनि यतिबेला मानवता प्रदर्शन गरेर चिसोपीडितहरूको हेरचाहमा सघाउनुपर्छ। मानव सेवा नै समाज सेवाको सबैभन्दा उच्चकोटीको सेवा हो भन्ने भावना अनुसरण गर्नुपर्छ।
तराई क्षेत्रमा यस्ता समस्या आउनु नौलो होइन। हरेक वर्ष चिसोका कारण मानिसको मृत्यु हुनु, श्वासप्रश्वासमा समस्या आउनु, निमोनियाले सताउनेजस्ता समस्या तराईका बासिन्दाका लागि सामान्य बनिसकेको छ। यी समस्याबाट बच्न शरीरलाई न्यानो बनाइराख्नुपर्छ। आधुनिक समाजमा पनि पर्याप्त कपडा अभावमा चिसोकै कारण मानिसको मृत्यु हुनुजस्तो लाजमर्दो अवस्था योभन्दा अन्य हुन सक्दैन। वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन। जनताका मर्काबाट पन्छिन मिल्दैन। साह्रै समस्यामा परेकालाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने तथा अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्थानीयलाई सचेत गराउने काम स्थानीय सरकारले गर्नुपर्छ। व्यक्तिको अवस्था हेरेर आवश्यकताअनुसार यतिबेला निःशुल्क दाउरा वितरण अभियानलाई पनि तीव्र बनाउनुपर्छ।
शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्छ। यतिखेर कोभिड– १९ को महामारी सर्वत्र विस्तार भइरहेको अवस्थामा तराईका बासिन्दाले झन् विशेष होसियारी अपनाउनुपर्छ। चिसो समयमा भाइरसले छिटो आक्रमण गर्छ। नागरिकहरूले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हिफाजत आफैं गर्नुपर्छ। चिसो मौसममा शरीरमा तापक्रम बढाउने किसिमका खाना खानुपर्छ। सुप, दाल, खिचडी र रेसादार सागपात पर्याप्त मात्रामा खानुपर्छ। तातो खाना मात्र नभई शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ। स्वादका लागि मात्र तातो खानेकुरा नखाई शरीरको ताप बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानामा जोड दिनुपर्छ।