कोचाकोच सार्वजनिक यातायात
कोरोना महामारीको संकट नटरे पनि व्यवसायीको मर्कालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल हुँदा व्यवसायीले बाचा गरेका थिए– एउटा सिटमा एकजना मात्र यात्रु बस्ने, बसभित्र स्यानिटाइजर उपलब्ध गराउने, मास्क अनिवार्य गर्ने आदि। यातायात सञ्चालन गरेपछि यी सबै मापदण्ड अनिवार्य रूपमा पालना गर्ने बाचा व्यवसायीले सरकारसामु गरेका थिए र कोरोनाले थलिएका यातायात सुचारु भएको थियो। सुरुका केही दिनसम्म व्यवसायीले यी मापदण्ड सामान्य रूपमा कार्यान्वयन गरेका पनि थिए। अहिले भने यातायातका साधनभित्र यी मापदण्डको निसानासमेत भेटिन्न।
यातायातका साधनभित्र देखिएको यस्तो लापरबाहीले कोरोना संक्रमणको जोखिम बढाएको छ। संक्रमणको जोखिम न्यूनीकरणमा व्यवसायीले चासो दिन छाडेका छन्। स्वास्थ्य संवेदनशीलताप्रति यात्रुहरू पनि सचेत देखिएका छैनन्। स्वास्थ्य मापदण्ड पालना गराउने निकायसमेत यसबारे बेखबरजस्तै छ। आधा मात्र यात्रु रहनुपर्ने बसमा कोचाकोच गरेर बोक्ने, स्यानिटाइजर प्रयोग नगर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने सवारी साधनलाई सचेत गराउने, कारबाही गर्ने तथा सामान्य अनुगमनको काम पनि प्रशासनबाट भएको देखिँदैन। संक्रमण दर नघटे पनि लकडाउनका कारण व्यवसाय चौपट बनेर खर्च धान्नै नसक्ने भएपछि केहीबाहेक अन्य क्षेत्र खुला गरिएको हो। यो समयमा कोरोनाको प्रभाव कम देखियो भन्दै हेलचक््रयाइँ गर्न थालियो भने समस्या विकराल बन्न सक्छ भन्नेतर्फ सबैले हेक्का राख्नुपर्छ। यस्तै लापरबाहीका कारण पटकपटक लकडाउन खोल्दै फेरि लागू गर्नुपर्ने बाध्यतामा पुगेका युरोपियन मुलुकको उदाहरणबाट हामीले पनि पाठ सिक्नुपर्छ।
सवारी साधन चलेपछि धेरैको सम्पर्क सजिलै भएको छ। मानव सम्पर्क जति बढी भयो उति संक्रमण दर तीव्र हुने भएकाले हरेकले आफ्नो स्वास्थ्य सावधानी आफैं अपनाउनुपर्छ। स्वास्थ्य सुरक्षामा खेलाँची गरियो भने काठमाडौंका संक्रमितले गाउँघरमा कोरोना सार्न सक्छन्। सहज आवागमन हुने भए पनि गाउँघरका संक्रमितले अन्य ठाउँका व्यक्ति तथा समुदायलाई खतरामा पार्न सक्छन्। हरेकले स्वास्थ्य सुरक्षामा ध्यान दिन सकेनौं भने समुदायस्तरमै संक्रमण फैलिन बेर लाग्दैन। तसर्थ व्यक्तिगत स्वास्थ्यका साथै बसपार्क, टिकट काउन्टर तथा बसलाई समेत व्यवस्थापनले सकेसम्म संक्रमणबाट सुरक्षित बनाउने कोसिस गर्नुपर्छ। यो कामलाई निरन्तरता दिन सकियो भने मात्रै यात्रु तथा बस सञ्चालनमा संलग्न कर्मचारीलाई सुरक्षित राख्न सकिन्छ। साथसाथै बसभित्र स्यानिटाइजर राख्ने, यात्रुबीच स्वास्थ्य मापदण्ड अपनाएर मात्र सिटमा बस्न सिकाउने, भाडा लिनेदिने बेलामा पनि दूरी कायम गरेर मात्रै कारोबार गर्ने, मास्क नलगाएका यात्रुलाई बसभित्र बस्नै नदिने तथा मास्कबिना नै आएका यात्रुलाई आवश्यकताअनुसार उपलब्ध गराउने काम पनि गर्नुपर्छ। स्वास्थ्य मापदण्डलाई हेलचक््रयाइँ गरेर कोरोना संक्रमण फैलियो भने सबैभन्दा ठूलो असर आफ्नै व्यवसायमा पर्छ भन्ने यथार्थ बस सञ्चालकले बिर्सनु हुन्न।
राज्यले सारा संयन्त्र परिचालन गरिरहेका बेला यो अभियानमा सघाउनु मेरो पनि कर्तव्य हो भनेर हरेक नागरिकले सहयोग गर्नुपर्छ। त्योभन्दा महŒवपूर्ण पक्ष भनेको स्वास्थ्य मापदण्ड तयार गर्ने तर कार्यान्वयनमा चासो नदिने प्रशासनको कमजोरी पनि सुधार्नुपर्छ। बेलाबेलामा प्रशासनले सार्वजनिक यातायात निरीक्षण गर्ने र मापदण्ड मिचेर चलाइएका सवारी साधनलाई कारबाही तथा सचेत गराउन सकियो भने धेरै सुधार हुन्छ। अझै पनि सडकमा जोरबिजोर कार्यान्वयन भएको छ कि छैन भन्ने मात्र अनुगमन गर्ने र यस्तो अनुगमन गर्दा पनि सीधा र बोल्न नसक्नेलाई मात्र कारबाही गर्ने मानसिकताबाट प्रहरी प्रशासन माथि उठ्नुपर्छ।