विश्व सम्पदा सूचीमा मुक्तिक्षेत्र गुफा सूचीकृत गर्न माग
जोमसोम : हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने जो कोही पर्यटकले वारागुङ मुक्तिक्षेत्र प्रवेश गर्ने बित्तिकै झट्ट आँखा अगाडि देखिने आकृति हो कलात्मक र आश्चार्य लाग्दो प्राकृतिक गुफा। वारागुङ मुक्तिक्षेत्र अन्तरगत वडा नं १ को लुप्रा गुफा, वडा नं २ को झोङ गुफा र वडा नं. ३ को मुस्ताङ गेटको छुसाङ गुफा। उल्लेखित गुफामध्ये मुस्ताङको छुसाङ गेट विशेष, अनौठो र कलात्मक छ भने झोङ गुफा पनि उक्तिकै महत्व बोकेको गुफाको रुपमा गनिन्छ।
त्यसो त मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका प्रवेश गर्ने बित्तिकै उत्तरी कोरलानाका सम्म दर्जनौ गुफा भएपनि वारागुङ मुक्तिक्षेत्रमा अवस्थित गुफाको महत्व विशेष र अनौठो प्रकारको रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ। उपल्लो मुस्ताङको उत्तरतर्फबाट दक्षिणतर्फ बहने कालिगण्डकी गल्छीको पूर्व र पश्चिम फर्किएको आश्चार्य लाग्दो गुफा हो जसलाई मुस्ताङ गेटको नामले परिचित छ। अग्ला/अग्ला पहाडलाई रातो माटोले लेपन लगाईएको जस्तो छिद्रछिद्र प्वालै प्वालले यहाँको पौराणिक जिवन्त इतिहास बोकेको छ। वारागुङ—२ को झोङ गुफा पनि उक्तिकै मनमोहक छ। यो गुफासँग पनि ऐतिहासिक धार्मिक किवंदन्तीसमेत जोडिएको छ।
मुक्तिक्षेत्र उपत्यका गुफाको सूचीकृत गर्ने सम्पदा समितिले प्रस्ताव गरेको लामो समय बितिसक्दासमेत दशकसम्म सूचीकृत नभएको अवस्थामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र विशेष गरी हालै नयाँ बहाली भएका प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माकै सक्रियतामा यो विषयले पुनः प्रबेश पाएको हो। यसपटक गाउँपालिकाले सम्पदा सूचीमा सूचीकृत गराएर छाड्नै योजनाका साथ लागि परेको देखिन्छ।
संघियता कार्यान्वयनपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गाउँपालिका अन्तगत रहेको मुक्तिक्षेत्र उपत्यकामा रहेका गुफाहरुलाई तत्कालिन सरकारले पूर्व पहिचान गरिएको आधारमा विश्व सम्पदा सूचीमा सूचीकृत गराइनुपर्ने जोडदार प्रस्ताव सम्बन्धित निकायमा पठाएको वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन्द्र शर्माले जानकारी दिए।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पालिका भित्रको मुक्तिक्षेत्र उपत्यका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गराइनुपर्ने निर्णय गरेर संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व विभाग र विश्व सम्पदा शाखालाई संयुक्त पत्र लेखि पठाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले उल्लेख गरे। शर्माका अनुसार ऐतिहासिक तथा धार्मिक र पुरातत्व सम्पदाले भरिएको मुक्तिक्षेत्र उपत्यका गुफा विश्व सम्पदाको अन्तिम सूचीमा सूचीकृत गर्न सकेमा मुस्ताङ जिल्लाका साथै गापा अन्तरगतका सबै स्थानीयबासी लाभान्वित हुने अपेक्षा गरिएको छ।
नेपालबाट सन् १९९६ मा वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ उपत्यकाको गुफालाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो। त्यसबेला मुक्तिनाथ गुफासँगै तोरीको तेलका लागि प्रसिद्ध खोकना, रामग्रामको बुद्ध स्तुपा, पनौती र गोरखाको मध्ययुगीन पूर्वाधार र दरबार तथा तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरु र लुम्बिनीलाई सूचीकृत हुन योग्य ठहर गरिएको थियो।
यस्तै, ११ वर्षअघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो। विश्व सम्पदा समितिले बर्सेनि सम्भावना बोकेका सम्पदालाई अध्यावधिक गर्ने गर्छ।