उदयपुरमा कोभिड अस्पताल

उदयपुरमा कोभिड अस्पताल

उदयपुर : कोरोना भाइरसका बिरामीलाई लक्ष्य गरी निर्माण गरिएको ‘उदयपुर कोभिड–१९ अस्पताल’ उद्घाटन गरिएको छ। 

जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा स्थापना गरिएको अस्पताल भवनको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र नेपालका लागि स्विस राजदूत एलिजावेथले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। 

उदयपुर विकास बोर्ड र स्विस सरकारको संयुक्त लगानीबाट तीन करोड २१ लाखमा भवन निर्माण भएको हो। यो भवनको क्षमता ४० बेड छ। भवन उद्घाटनसँगै सेवासमेत सुरु गरिएको विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए।

 सुरुवाती चरणमा त्रियुगा नगरपालिका–३ स्थित भुल्के मस्जिदमा कोरोना भाइरस देखा परेसँगै इपिसेन्टरका रूपमा परिणत भएपछि जिल्लाका आठवटै स्थानीय तह सम्मिलित उदयपुर विकास बोर्ड गठन गरेर अस्पताल निर्माण थालिएको थियो। 

यसमा नेपालको एक करोड ७१ लाख र स्विस सरकारको अनुदान एक करोड ५० लाख गरी कुल तीन करोड २१ लाख लगानी भएको छ। कोरोना भाइरस देखा परेसँगै सामान्य अस्थायी टहराबाट सेवा सुरु गरिएको अस्पतालले एक सय ४५ जनाको उपचार गरिसकेको विकास बोर्डका सदस्य तथा चौदण्डीगढी नगरपालिकामा मेयर खगेन्द्र राईले बताए। 

उनले हालसम्म भवनमा दुई करोड १६ लाखभन्दा बढी नै खर्च भइसकेको बताए। अस्पताल भवन उद्घाटन गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना संक्रमित कोही पनि बिरामीले अब उपचारका क्रममा अक्सिजन र भेन्टिलेटर अभावमा मृत्यु वरण गर्नुपर्ने अवस्था नरहेको बताए। 

मन्त्री घिमिरेले नेपालमा एकै पटक ठूलो संख्यामा उदयपुरको भुल्केमा कोरोना संक्रमित पाइएपछि प्रदेश १ सरकारले विराटनगरमा छुट्टै कोभिड अस्पताल १० दिनमा निर्माण गरी संक्रमितको उपचार गराएको स्मरण गराए। 

उनले प्रदेश १ सरकारले सर्वसाधारणको उपचारका लागि एक सय बेड क्षमताको अक्सिजन र भेन्टिलेटरसहितको अस्पताल निर्माण सम्पन्न गरेको र निकट भविष्यमा अर्काे ठूलो अस्पताल निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरी निर्माणको काम अगाडि बढाएको बताए।

मन्त्री घिमिरेले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारका लागि चाहिने औषधि तथा पीसीआर परीक्षण मेसिन, किट्स, पीपीई सेटलगायत उपकरण तथा अस्पताल निर्माणमा स्विस सरकारको ठूलो सहयोग प्राप्त भएको बताए। 

सोही अवसरमा नेपालका लागि स्विस राजदूत एलिजावेथले नेपालको आर्थिक तथा सामाजिक विकासमा स्विस सरकारले धेरै पहिलेदेखि सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग निरन्तर रहने बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.