मुस्ताङका तीन पुरातात्विक सम्पदा पुननिर्माणमा १ करोड ८० लाख बजेट
जोमसोम : हिमाली जिल्ला मुस्ताङको ३ स्थानीय तहमा रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय सम्पदाको पुननिर्माण कार्यका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगत पुरातत्व विभागले चालु वर्ष १ करोड ८० लाख बजेट बिनियोजन गरेको छ। उपल्लो मुस्ताङको लोमान्थाङ गापा—५ को लोमान्थाङ बजारमा अवस्थित ७ सय वर्ष पुरानो धार्मिक तथा सांस्कृतिक महत्वको तीन वटा छोर्तेनको क्रमशः पुननिर्माण गर्ने गरी ४० लाख , वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ को मुक्तिनाथमा अवस्थित ज्वालामाई घर पुननिर्माणका लागि एक करोड र थासाङ गाउँपालिका—२ को कोवाङमा अवस्थित एक गुम्बा पुननिर्माणका लागि चालु वर्ष ४० लाख बजेट विनियोजन भएको पुरातत्व विभागले जनाएको छ।
वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथमा रहेको ज्वालामाई घर २०७२ सालको विनासकारी महाभुकम्पले आशिंक क्षति पुर्याएको थियो। यसको पुरानै शैलीमा पुननिर्माण गर्ने उद्देश्यले पुरातत्व विभागले गत वर्ष आवश्यक बजेट विनियोजन गरे पनि काम अघि बढ्न सकेको थिएन। यस्तै लोमान्थाङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको छोर्तेन पुननिर्माणको काम पनि अघि बढ्न नसकेकोमा गत वर्षको बजेटलाई चालु वर्ष पुननिर्माण सम्पन्न गर्ने गरी विभागले निरन्तरता दिएको विभागका अधिकृत देवेन्द्र भट्टराईले जानकारी दिए।
पुरातत्व विभागले मुस्ताङ जिल्लाको ऐतिहासिक तथा धार्मिक संस्कृति सम्पदा संरक्षणमा चासो दिएको विभाग अधिकृत भट्टराईले उल्लेख गरे। उनले विभागको निर्देशन अनुसार यहाँको मौलिकता,कलासंस्कृति र ऐतिहासिक धरोहरलाई साविक बमोजिम पुननिर्माण गर्ने उद्देश्यले त्यसको सर्वेक्षणमा प्राविधिक टोली मुस्ताङ आएको बताए। उनले पुरातत्वले यहाँ चलिआएको संरचना संरक्षण र संम्वर्द्धन गर्ने तरिकाले यहाँको वस्तुगत ड्रोईङ गरी लैजाने र पुननिर्माण गर्दा विगतको समयलाई प्रतिनिधित्व हुने गरी काम अधि बढाइने जानकारी दिए।
प्रसिद्ध धार्मिक स्थल मुक्तिक्षेत्रको ज्वालामाई घर भूकम्पको धक्काले क्षति पुगेकाले छिटोभन्दा छिटो पून निर्माण कार्य अघि बढाइनु पर्ने स्थानीयको माग छ। यसअघि पुरातत्व विभागले ज्वालामाई घरको तल्लो भागमा कम्पाउण्ड वाल निर्माण गरेको थियो। अहिले ज्वालामाई घरमा त्यहाँ रहेका आनी झुमाहरुले जोखिम मोलेर नियमित नित्यकर्म गर्दै आइरहेका छन्। ज्वालामाई घरको छतमाथिको गजुर भूकम्पले कोल्टो परेको छ भने घर संरचना समेत चिरा परेको स्थानीयको भनाइ छ। मुक्तिक्षेत्रको ज्वालामाई घरमा आनीझुमाले नियमित पुजापाठ गर्ने गर्छन्।
ज्वालामाई घरभित्र दैवी शक्ति स्वरुप उत्पन्न ३ वटा ज्वालामाई रहेको छ। कतिपयले त्यहाँ ग्यास खानी रहेको अड्कल पनि गर्छन्। ज्वालामाईको आगो निरन्तर रुपमा आफ्नै लयमा बलिरहेको पाइन्छ। ज्वालामाई माथि बुद्धका प्रतिमुर्ती राखिएको छ।
हिमाली जिल्ला मुस्ताङको पर्यटक आर्कषण बढाउने ऐतिहासिक तथा धार्मिक सम्पदाहरु सदियौं वर्ष पुरानो रहेकाले यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिएको छ। मुस्ताङको तिब्बती कलासंस्कृति झल्कने गुम्बा, मठमन्दिर, छोर्तेन , माने र गुम्बाहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने भएकाले यसको संरक्षण तथा पुननिर्माण कार्यलाई प्राथमिकतामा राखिनु पर्ने स्थानीयको सुझाव छ।