उपल्लो मुस्ताङको संस्कृति संरक्षणमा जुट्यो स्थानीय तह
जोमसोम : मुस्ताङको उत्तरीक्षेत्रमा अवस्थित लोमान्थाङ गाउँपालिकाको एक वडा संस्कृति संरक्षणकामा जुटेको छ। लोमान्थाङ—५ को वडाले सदियौं पुरानो प्रचलनमा रहेको उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा मौलिक कलासांस्कृति र रितिरिवाज पुस्तान्तरणका लागि चालु वर्ष आवश्यक बजेट नै विनियोजन गरेर गाउँका युवा पुस्तालाई एक महिने सांस्कृतिक प्रशिक्षण अभ्यास अभियानमा जुटेको हो।
उपल्लो मुस्ताङीहरु यसवर्ष विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण बेसी नझरी गाउँमा रहेकाले स्थानीय तहले यसप्रकारको कार्यक्रम आयोजना गरी संस्कृति संरक्षणको योगदान गर्न चाहेको हो। लोमान्थाङ—५ को वडाले यसपटक गाउँमै बसेका युवातन्नेरी युवायुवतीलाई सांस्कृतिक नृत्य, गीत र मौलिक भेषभुषा लगायतको प्रशिक्षण दिलाउन १ लाख ७५ हजार बजेट उपलब्ध गराएको वडाध्यक्ष न्हिजिन धार्जे बिष्टले जानकारी दिए। उनका अनुसार वडाले दिएको बजेटले तालिम प्रशिक्षण तथा व्यवस्थापनमा खर्च गरिने छ।
उपल्लो मुस्ताङको दुई स्थानीय तह मौलिक कलासंस्कृतिले धनी मानिन्छ। उत्तरी छिमेकी देश चिनको तिब्बती संस्कृतिको प्रभाव परेको उपल्लो मुस्ताङमा तिब्बती संस्कृति झल्काउने सांस्कृतिक नृत्य र गीत तथा परम्परागत भेषभुषा जिवितै छ। उपल्लो मुस्ताङमा लोवा जातीहरुलाई गीत र नृत्य प्रशिक्षण भइरहेको छ। लोमान्थाङ—५को फोटो ग्यालरी हलमा तालिम प्रशिक्षण भइरहेको स्थानीय छेवाङ गुरुङले बताए। सोमबारदेखि सुरु भएको सांस्कृतिक प्रशिक्षण दैनिक दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म चल्ने गरेको गुरुङले जानकारी दिए।
लोमान्थाङमा संस्कृति पुस्तान्तरणका लागि नयाँ पिढीलाई तालिम अभ्यास गराइएको छ। तालिममा संस्कृति संरक्षणमा उत्प्रेरित भइ कलासंस्कृति सिक्न चाहने सबै व्यक्तिलाई प्रशिक्षणमा सहभागी गराइएको छ। युवालाई सांस्कृतिक प्रशिक्षण सिकाउन गालामु गुरुङ, युटिन गुरुङ र छिरिङ ल्हामो लोवा लगायतका प्रशिक्षक खटाइएको छ। उनीहरुले दैनिक रुपमा उपल्लो मुस्ताङको सांस्कृतिक गीत गार्लु, ठोलु र डोक्लु सिकाइरहेका छन् भने नृत्यतर्फ स्याप्रु र गावा नाँच सिकाउँदै छन्।
पछिल्लो पुस्ताले स्थानीय कलासंस्कृति बिर्संदै गएकाले यसको संरक्षणका तालिम अभ्यास गराइएको हो। युवा पुस्ताले स्थानीय संस्कृति नपछ्याउँदा परम्परा लोप हुँदै जान थाल्ने खतरा बढेकाले युवालाई संस्कृति संरक्षणमा आर्कर्षित गर्न तालिम फलदायी हुने प्रशिक्षक युटिन गुरुङले बताइन्। उनका अनुसार तालिममा युवालाई स्थानीय सांस्कृतिक बाद्यवाधक संगीत समेत सिकाइएको छ।
उपल्लो मुस्ताङमा बसोबास गर्ने व्यक्तिलाई लोवा समुदाय भनिन्छ। सदियौं वर्ष पुरानो गर्लु गीत त्यहाँको मौलिक स्थानीय गीतको रुपमा परिचित छ। त्यसपछि आएको अर्को गीतलाई ठोलु भन्ने गरिन्छ। त्यस्तै त्यसक्षेत्रको ढोक्पा समुदाय जसलाई नोमेट भनिन्छ। उनीहरुको चलन चल्तीको गीत हो डोल्लु गीत। लोमान्थाङका स्थानीय एवं प्रदेश सांसद ईन्द्रधारा बिष्टले गर्लु गीतमा गावा नाँच र ठोलु गीतमा स्याप्रु नाँच नाँच्ने प्रचलन रहेको बताए। यसप्रकारका सांस्कृतिक नृत्य र गीतले उपल्लो मुस्ताङको लोवा समुदायको सांस्कृतिक सभ्यताको परिचय उजागर गर्ने सांसद विष्टको भनाइ छ।
उपल्लो मुस्ताङी मौलिक चाडपर्वहरु, ल्होसार, यार्तुङ, तिजी पर्व, विवाह ब्रतबन्ध, पार्टी, अतिथि सत्कार र खुसीयालीको अवसरमा देखाइने यसप्रकारको नृत्य र गीतले उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरलाई जिवन्त तुल्याउन र परम्परालाई जोगाउन सहयोग पुर्याउने बताइएको छ। उपल्लो मुस्ताङको मौलिक कलासंस्कृतिले जातीय पहिचानको गरिमालाई सुरक्षित राख्न सहयोग गरेको छ भने अर्कोतर्फ आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याएको छ।
उपल्लो मुस्ताङका भुगोललाई लो भन्ने गरिन्छ। लो क्षेत्रमा बसोबास गर्ने समुदायलाई ल्हो भन्ने गरिएको सांसद विष्टले उल्लेख गरे। ल्हो समुदायलाई करिव ५० वर्षअघि केहीले जातीय वर्गीकरण गरी विष्ट र गुरुङ समुदाय भन्ने प्रचलन आएको उनले खुलाए। उत्तरी टिबेटको मुस्ताङतर्फको दक्षिणी भागको भुगोललाई लो भन्ने गरिएको हो। राणाकालीन राजा सुरेन्द्र बिरबिक्रम शाहको पालाअघि ल्होछोदिनको भुगोलमा मुस्ताङी राजाको बेग्लै राज्य भएको र शाहकै पालामा लोछोदिन क्षेत्रमा नेपालमा गाभिएको सांसद बिष्टले प्रष्ट्याए। लोछोदिन बेग्लै राज्य हुँदा लोवा समुदायले टिबेट राज्यसँग खुला व्यापार तथा आपसी सम्वन्ध राम्रो भएको इतिहास रहेको सांसद विष्टले बताए।