८ वर्षदेखि पुल अलपत्र

८ वर्षदेखि पुल अलपत्र

उदयपुर : निर्माण कम्पनीको चरम लापरबाहीले उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको पुल विगत ८ वर्षदेखि अलपत्र छ। मुख्य सडक नाकामा पर्ने सुनकोसीको फोक्सिन्टारस्थित पक्की पुलको निर्माण अधुरो छ।

२०७५ चैत २० मा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम हालसम्म ४० प्रतिशत मात्र भएको छ। समयमा पुल नबन्दा दुवै जिल्लावासीलाई ओहोरदोहोरमा समस्या छ। सगरमाथा लोकमार्गको गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरतर्फको रौतामाई गाउँपालिका–५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका–१ बीचको फोक्सिन्टार आउजाउ गर्न पुल निर्माण सुरु गरिएको थियो।

६ वर्षमा निर्माण सम्पन्न गर्ने गरी गौरीपार्वती÷वाईपी जेवीले २०६९ चैत २३ गते ठेक्का सम्झौता गरेको थियो। पुलको स्टिमेट साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाइ र १ सय २० मिटर लामो रहेको पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानका योजना प्रमुख कैलाश देवले जानकारी दिए। ३ स्पानको उक्त पुल बनाउन तत्कालीन सडक विभागले १९ करोड ६० लाख रुपैयाँमा सम्झौता गरेको उनले बताए। पुल निर्माणको सुरुवातमा ढिलो हुँदा म्याद सकिँदासम्म सोचेअनुरूप प्रगति हुन नसकेको देवको भनाइ छ।

चाँडो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता भइरहेको उनले बताए। हालसम्म उदयपुरतर्फ २ वटा फाउन्डेसन पिल्लर उठाइएको छ भने खोटाङतर्फ एउटा फाउन्डेसन पिल्लर निर्माण भएको छ। हिउँद सुरु भएर कोसीमा पानीको बहाव घटेसँगै काम सुरु हुने रौतामाई गाउँपालिका–५ का वडाध्यक्ष पाण्डोव राई बताउँछन्। सम्झौता भएको ८ वर्षमा समेत आधा काम हुन नसक्नु दुर्भाग्य भएको उनले बताए। राईले भने, ‘पुल बन्नासाथ दुई जिल्लाको आवागमनसँगै समृद्धिका ढोका खुल्नेछन्।’

पुल निर्माणमा भएको ढिलासुस्तीबारे पटक-पटक सम्बन्धित मन्त्रालय र विभागलाई जानकारी गराइएको खोटाङका प्रतिनिधिसभा सांसद विशाल भट्टराईले बताए। ‘सुनकोसीको पुल दुई जिल्लाकै समृद्धिको ढोका हो, तराईका व्यापारिक सामग्री र पहाडको अर्गानिक उत्पादन बजार पु¥याउन पुलले मद्दत पुग्छ’, उनले भने।

फोक्सिन्टारमा कोसी तर्न बर्सेनि हिउँद लागेपछि बेलिब्रिज जडान गर्ने र वर्षा लागेपछि खोल्ने गरिएको छ। गाईघाट–दिक्तेल सडकमा बेलिब्रिज जडान गरेपछि ६ महिना सोझो यातायात सुचारु हुने गरेको छ भने बेलिब्रिज खोलेपछि ६ महिना अवरुद्ध हुने गरेको छ। पुल नबन्दा ढुवानी महँगो भएकाले १० रुपैयाँमा पाइने सामान १५ रुपैयाँमा बिक्री गर्नुपर्ने व्यापारी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.