बालकमै अभिभारा
दैलेख : ठाटीकाँध गाउँपालिका–६ टमटाटोल रहेको झुप्रोमा अपांगता भएकी आमा र भाइको रेखदेखमा तल्लीन छन् ११ वर्षीय प्रेम विक। बाबुको मृत्यु हुँदा प्रेम पाँच वर्षका थिए भने प्रेमका भाइ पैल एक वर्षका मात्र थिए।
सात वर्षअघि घरनजिकै जंगलमा घाँस काट्न जाँदा उनकी आमा भीरबाट लडेर घाइते भइन्। आर्थिक अभावले रूपाको राम्रोसँग उपचार पनि भएन। अपांग पत्नी र नाबालक छोरा छोडेर रोजीरोटीका लागि भारत छिरेका रूपाका पतिको भारतमै मृत्यु भएको हो। अहिले उक्त परिवार दुःखमा घेरिएको छ। आमा र भाइको हेरचाहको जिम्मा प्रेमको काँधमा छ।
बिहानै उठेर खाना पकाउने, आमालाई खुवाउने, भाइलाई स्कुल पठाउने प्रेमको दिनचर्या हो। रकम अभावले आमाको उपचार गर्न नपाएको प्रेम बताउँछन्। ‘पैसा भइदिएको भए आमाको उपचार हुन्थ्यो। गाउँका साहुले पत्याएनन्। आमाले जीवनभर अपांग भएर बाँच्नुपर्ने भयो,’ प्रेम भन्छन्। कलिलो काँधमा घरको जिम्मेवारी थपिए पनि उनको पढाइतिर पनि उत्तिकै लगाव छ। ‘धेरैजसो समय आमा र भाइको हेरचाहमा बित्छ’, प्रेम भन्छन्, ‘फुर्सदमा पढ्ने गरेको छु।’ उनले उच्च शिक्षा पढ्ने सपना बोकेका छन्।
‘मजदुरी गर्न श्रीमान्सँगै भारत गएका आफन्तले बिरामी परेर मृत्यु भयो भन्छन्, आफू जान सकिएन पत्याउनै पर्यो,’ रूपा भन्छिन्, ‘अरूको सहायताले दिसापिसाब गर्न जानुपर्छ, आफू केही पनि गर्न सक्दिनँ, गरिबीका कारण जीवनभर अपांग भएर बाँच्नु परेको छ।’
सम्पत्तिको नाममा सानो झुप्रो मात्र छ। मंसिर अन्तिम साता त्यही घर पनि भत्कियो। घर भत्किएपछि उनको परिवार अहिले खुल्ला आकाशमुनि रात काट्न बाध्य छ। ‘गाउँपालिकाकाले चौमासिक रूपमा दिने गरेको १२ हजार सामाजिक सुरक्षा भत्ताले छाक टार्दै आएको उनले बताइन्। नाबालक छोराहरूको पढ्ने धोको अधुरै रहने भएकाले उनी दुःखी छिन्।