२६ वर्षमा २३ किलोमिटर कालोपत्रे !
उदयपुर : निर्माण व्यवसायीको लापरबाहीका कारण सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडक २६ वर्षमा २३ किलोमिटर मात्र कालोपत्रे भएको छ। २३ किलोमिटर मध्ये २० किलोमिटर दुई वर्षअघि र ३ किलोमिटर अघिल्लो आर्थिक वर्षमा कालोपत्रे बनेको हो।
मूल्यांकनका हिसाबले वाार्षिक ०.८८ प्रतिशत कालोपत्रे भएको देखिन्छ। ८१ किलोमिटर कालोपत्रेका लागि चार वर्षअघि आयोजना कार्यालय गाईघाटले तीनवटा प्याकेज बनाई बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेको थियो। त्यसमध्ये दुईवटा निर्माण कम्पनीले कालोपत्रेको काम शून्य र एउटाले ३ किलोमिटर गरेको आयोजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए।
दुई राष्ट्रिय गौरवका आयोजना मदन भण्डारी र मध्यपहाडी लोकमार्गलाई जोड्ने यो सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना प्रभावित बनेको हो। २६ वर्षअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उदयपुर र खोटाङ जिल्लालाई जोड्ने गरी शिलान्यास गरेको यो सडक ढिलासुस्तीकै कारण अझै पूर्ण हुन सकेको छैन।
विशेषगरी खोटाङलाई काठमाडौंसँग जोड्ने र आर्थिक समृद्धीतर्फ जनतालाई अघि बढाउने लक्ष्यले लोकमार्गको काम सुरु गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराई बताउँछन्। उनले भने, ‘पूर्वी र दक्षिणी भेगका जनताका लागि असाध्यै छोटो र भरपर्दो भनेकै सगरमाथा लोकमार्ग हो, जुन सडक निर्माण हुनासाथ आवागमनमा मात्र सहज हैन, आर्थिक समृद्धीको हिसाबले पनि फलदायी छ।’ आयोजना प्रमुख खकुरेलका अनुसार कामलाई छिटो सक्न तीनवटा प्याकेज बनाई बोलपत्र आह्वान गरिएको थियो। त्यसमध्ये खोटाङखण्डको फोक्सीन्टार–सिम्पानी २६ किलोमिटर सडकको कालोपत्रे चार वर्षभित्रमा सम्पन्न गर्ने गरी देवनारायण पवन–मैनाचुली–खमपाच्यले भ्याटसहित ५५ करोड ८७ लाखमा २०७३ साउन ११ गतेमा सम्झौता गरेको बताए।
त्यसैगरी खोटाङखण्डकै सिम्पानी–माहुरे २२ किलोमिटर सडक चार वर्षभित्र कालोपत्रे गरिसक्ने गरी भारत कन्स्ट्रक्सन–सिद्धीसाही जेभीले ४१ करोड ५० लाखमा २०७३ असार ३० गते सम्झौता गरेको प्रमुख खकुरेलले बताए। दुवै प्याकेजले कटिङ, नाला निर्माण, सम्याउने जस्ता काम गरे पनि मुख्य कार्यभार कालोपत्रे भने शून्य गतिमा रहेको खकुरेलले बताए।
त्यसैगरी सबैभन्दा लामो उदयपुर खण्डको साउने–फोक्सीन्टार ३० किलोमिटर सडक दि–कञ्चनजंघा गोल्डेनगेट गुड जेभीले चार वर्षमा सम्पन्न गर्ने गरी २०७३ भदौ १२ गते कालोपत्रे निर्माणका लागि मात्र २७ करोडमा सम्झौता गरेको छ। त्रियुगा नगरपालिका–१४ साउनेदेखि रौतामाई गाउँपालिका–५ फोक्सीन्टारसम्मको यो खण्डमा निर्माण कम्पनीले लकडाउनबीच ३ किलोमिटर कालोपत्रे गरेको उनको भनाइ छ।
निर्माण कार्य ढिला हुनुमा ओभरल्याप, भिओ ढिलो स्वीकृत र लकडाउन रहेको गोल्डेनगेटका प्रतिनिधि अर्जुन शिवाकोटीले बताए। उनले भने, ‘स्टिमेटमा दस एमपीको भिओ थियो, पछि सडकको अवस्था हेरी आयोजना कार्यालयले नै २० एमपीको बनाउने तयारी गर्दा ९ महिना बित्यो, त्यसले पनि काममा असर पुग्यो, अब समस्या छैन आगामी जेठभित्र सम्पन्न गर्छौं।’
उदयपुरखण्डको अधेँरी–फोक्सीन्टारसम्मको कालोपत्रेबाहेक नाली, स्ल्याप, रिटेनिङवाल, मोडसुधार, ह्युमपाइप, कटिङलगायतका स्टक्टरको काम ११ करोड १७ लाखमा मैनाचुली–सिद्धीसाहीले २०७७ माघ ३० गते सम्पन्न गर्ने गरी २०७५ भदौ १४ गते सम्झौता गरेको प्रमुख खकुरेलले जानकारी दिए।
ठेकेदार कम्पनीले सम्झौता गरेको करिब एक वर्ष काम गरेपछि बेपत्ता भएको उनले बताए। निर्माण कम्पनीको ढिलासुस्तीका कारण गत वर्ष मात्रै २६ करोड बजेट फ्रिज भएको उनले बताए। उनका अनुसार १ सय १ किलोमिटर मध्ये कालोपत्रे २३, ग्राभेल ३१ र माटेसडक ४७ किलोमिटरको काम भइसकेको छ। पहिरोका कारण काम गर्न केही जटिलता रहेको उनले बताए।