ओली समूह छोडेका सांसद छक्कबहादुर भन्छन्– ‘पार्टी फुटेपछि यस्तै हुँदो रहेछ...’
काठमाडौं : हुम्लाका सांसद छक्कबहादुर लामाले आफू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा लागेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको निर्णय गरेपछि विभाजित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहलाई छोडेर आफू प्रचण्ड– नेपाल समूहमा गएको जानकारी लामाले दिएका हुन् ।
अन्नपूर्णसँग छोटो कुरा गर्दै सांसद लामाले भने, ‘पार्टी फुटेपछि यस्तै हुँदो रहेछ... थप कुरा विज्ञप्तिमा हेर्नुहोला ।’
पार्टी विभाजनको क्रममा प्रधानमन्त्री ओली समूहले उनलाई केन्द्रीय सदस्य बनाएको थियो । त्यसप्रति धन्यवाद दिँदै उनले हुम्लाका नागरिकको आवाजलाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहमा रहेको जानकारी दिएका हुन् ।
शनिबार विज्ञप्तिमार्फत् उनले पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको समेत बताएका छन् । उनले सबै नागरिकलाई प्रचण्ड–नेपाल समूहमा अवद्ध हुन अपीलसमेत गरेका छन् ।
‘आमा हुम्लाबासी जनता कार्यर्ताको सल्लाह सुझाव र भावनलाई सम्बोधन गरी नेकपा (ओली) नेतृत्वको केन्द्रीय आयोजक सदस्यको पदलाई परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी कार्यकर्ता र हुम्लीबासी जनतालाई विचिलित नभइ प्रचण्ड–नेपालको मूल पार्टीमा एकतावद्ध भएर बस्न अनुरोध गर्दछु’, उनको विज्ञप्तिमा भनिएको छ ।