सुदूरपश्चिम सरकार सुरक्षित छ : मुख्यमन्त्री भट्ट
प्रतिनिधिसभा विघटन भएसँगै प्रदेश सरकारका समीकरण पनि बदलिन थालेको छ। नेकपा फुटको सँघारमा पुगेका बेला ओली पक्ष र प्रचण्ड–नेपाल पक्षका नेताहरू आफूअनुकूलको सरकार बनाउनतिर लागेका छन्। सुदूरपश्चिममा पनि ५३ सदस्यीय प्रदेशसभा छ। त्यसमा ३९ जना अथवा दुईतिहाइ नेकपाका थिए। ३९ मा पनि साबिकको एमालेबाट २५ र माओवादी केन्द्रबाट १४ जनाले जितेका छन्। संसद्मा कांग्रेसका १२ र जनता समाजवादी पार्टी (साबिकको राजपा) का दुईजना प्रदेशसभा सदस्य छन्। यद्यपि सुदूरपश्चिममा प्रचण्ड–नेपाल पक्षको बहुमत छ। तर पनि सांसद तानातानको अवस्थाले सरकार परिवर्तनका चर्चा सुरु भएका छन्। के सुदूरपश्चिम सरकार पनि परिवर्तन होला ? अथवा संघीय सरकारमा भएको फेरबदलको असर प्रदेशमा कस्तो परेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग कैलालीबाट सहकर्मी शिवराज भट्टले गरेको कुराकानी :
गुटबन्दीका पछाडि लाग्न नरुचाउने व्यक्ति, अहिले गुट त प्रस्ट भयो नि हैन ?
नेकपा त सबै नेकपा नि अहिले, होइन ?
त्यो त हो, तर हामी आधिकारिक नेकपा हौं। हामीलाई निर्वाचन आयोगले आधिकारिकता दिन्छ। त्यसैले भनेको।
निर्णय त, जसका पक्षमा पनि हुन सक्छ नि ?
होइन। अब संसद् भंग गरेजस्तै गरे; सडकबाट मन्त्री टिपेजस्तै गरे त जे पनि हुनसक्छ। तर नेपालको संविधान, कानुन, पार्टीको विधान हेर्ने हो भने हामी आधिकारिकता पाउँछौं। हामीसँग दुईतिहाइ केन्द्रीय सदस्यको हस्ताक्षर छ।
अहिले तपाईंको सरकार सुरक्षित हो ?
सुरक्षित हो नि। हामी नेकपाका ३९ जना सांसद छौं। हामीसँग दुईतिहाइ हो पहिला। अहिले अत्यधिक बहुमत हाम्रै छ। संघको परिवर्तनले केही तलमाथि त भइहाल्छ तर हामी बहुमतमै छौं।
तर ओली पक्ष, कांग्रेस र जसपासँग मिलेर अविश्वास प्रस्ताव ल्याउने तयारीमा छ भन्छन् ?
पहिलो कुरा त अविश्वास प्रस्ताव आइहालेमा मेरो कुर्सी गइहाल्छ कि भनेर चिन्ता गरेर बस्ने मान्छे म होइन। आइहाले अविश्वासको सामना गरौंला, तर तपाईंले भनेको कुरामा सत्यता छैन। कांग्रेससँग कुरा भएको छ र ? जसपाका दुईजना छन्, उनले के गर्छन् ? त्यो कुरा सोधेको छ कसैले ? बाहिर हल्ला गर्यो, स्याल हुइयाँले हुन्छ ? त्यसैले अहिले सरकार सुरक्षित छ।
त्यो सम्भावना त रह्यो नि हैन ?
सम्भावना त जे पनि हुन्छ नि। असम्भव भन्ने कुरा केही हुन्छ ? पार्टीको किचलो देख्दा केही दिनका लागि होला, नेताहरू मिलिहाल्छन भन्ने लाग्थ्यो। संघमा दुईतिहाइनजिकको सरकार छ। संसद् विघटन होला भनेर कसैले कल्पना गरेको थियो तर सम्भव रहेछ हैन त ? अनि सम्भावना जे पनि रह्यो तर अहिले भने त्यसो हुँदैन।
तपाईंकै गुटका नेताहरू पनि असन्तुष्ट छन्, यसअघि दुईपटक हस्ताक्षर संकलन गरेर हटाउन खोजेका हैनन् ?
त्यो मलाई थाहा छैन। यसअघि बजेटका बेला केही साथीहरूको असन्तुष्टि आएको हो। उनीहरूले बजेटको समानुपातिक वितरण भएन भन्नुभएको हो। बजेट त जता आवश्यकता छ, त्यतै हाल्ने त हो नि। समानुपातिक बजेटले कुनै पनि ठाउँको विकास हुन्न। कतै बढी होला, कतै कम होला। बजेट सबैले समान पाउँदैनन् नि। तपाईंको ठाउँमा पुल बनायो वा सडक बनिरहेको छ भने बढी बजेट होला, विद्यालय भवन बनिरहेको छ भने कम होला, होइन र ?
जुन कुरामा लगानी गर्नुपर्ने हो त्यसैमा हुने न हो। त्यसैले त्यतिबेलाका कुरा गर्नुभएको हो भने त्यो समाधान भइसकेको छ। अहिले हटाउने कुरा आएको छैन। फेरि मैले भनें नि, म मुख्यमन्त्रीबाट हटे पनि कुनै चिन्ता लिनेवाला व्यक्ति होइन। के फरक पर्छ र भन्या ? संघीय प्रतिनिधिसभाको कसैले कल्पना गरेको थियो यस्तो होला भनेर ? हेर्नुस् न के भयो ? त्यस्तै हो। सम्भावना जेको पनि रह्यो तर अहिले भएकै छैन।
अविश्वास प्रस्ताव आइहाल्यो भने तपाईंको अंकगणित सुनौं न ? सामना कसरी गर्ने ?
(हाँस्दै) मेरो अंकगणित त छैन। बरु तपाईं पत्रकारहरूले लेखिरहनुभएको छ। अस्तिसम्म सुदूरपश्चिमको सरकार बलियो छ भनेर समाचार आउँथे। हिजोआज फेरि खतरामा छ भनेर लेखिरहनुभएको छ। गणित त तपाईंहरूलाई बढी थाहा हुन्छ नि। तर मेरो नेतृत्वको सरकार सुरक्षित छ। केही भइहाल्यो भने पनि कुनै पछुतो छैन।
तपाईं संसदीय दलको नेता हुने बेला लेखराज भट्टले त्यत्रो सहयोग गरे, तर अहिले अर्कै गुटमा गए भनेर आलोचना पनि भइरहेको छ नि ?
ए त्यसो भए कसैले मलाई बनाइदियो हैन सडकबाट टिपेर ? मेरो कुनै योगदानै छैन हैन ? मेरो संसदीय दलमा नेता बन्ने हैसियत नै पुग्दैनथ्यो हैन ? म प्रबास (भारत) मा ३० वर्ष चौकीदारी गरेर पार्टीका लागि योगदान गरेको मान्छे हुँ। त्यसमा पार्टी र पार्टीका केही नेताको सदासयता होला तर कुनै मान्छे कसैको दास हो भन्नेमा म विश्वास गर्र्दिनँ। कम्युनिज्मले दास प्रवृत्तिको कल्पना गर्दैन। त्यसैले कम्युनिस्टहरूले कसैलाई दास ठान्नु पनि हुँदैन। तर अहिले कम्युनिस्टहरूमा पनि सामन्ती सोच छ। सर्वहारालाई दास ठान्छन्। मेरो गुलामी गरोस् भन्ठान्छन्। म त्यसको विरोधी थिएँ र अहिले पनि छु।
भनेपछि लेखराज भट्टले दास प्रवृत्ति देखाए ?
हैन, मैले त्यसो भनेको होइन, उहाँले होइन कि अरूले त्यसो सोच्छन् भनेको। लेखराज भट्टले मलाई संसदीय दलको नेता बनाउनका लागि ‘पजिटिभ’ रोल खेल्नुभयो होला, तर म केही पनि होइन भन्न त मिलेन नि कसैले। म नेकपाको सिपाही थिएँ। दुईपटक जिल्लामा हारें, तर पनि जनताको सेवा गर्न छाडिनँ। तेस्रोपटक मलाई जनताले जिताए, पार्टीले संसदीय दलको नेता बनायो र मुख्यमन्त्री भएँ। तपाईंले भनेजस्तै अविश्वासको प्रस्ताव आयो र सामना गर्न सकिनँ भने जनतामाझ फर्किन्छु।
तपाईंका विचारमा नेकपा यो अवस्थामा पुग्नुको मुख्य कारण के होला ?
सबैभन्दा पहिला त जनताले दिएको जनादेशअनुसार पार्टी एक भएको थियो तर नेतृत्वले जनताको त्यो जनादेशको सम्मान गर्न सकेन। जनताले दिएको जनतादेश, जनताका सामुन्ने हामीले लगेको घोषणापत्रको पनि कार्यान्ययन भएन। जनतामा पनि असन्तुष्टि बढ्दै गयो, यो पहिलो कारण हो। अर्को भनेको पार्टी एकीकरणमा यत्तिको ढिलाइ गर्नु हुँदैनथ्यो। यसमा नेतृत्वको अकर्मण्यता बढी कारक हो जस्तो लाग्छ।
प्रदेश सरकारलाई तीन वर्ष भयो, तर कामै गरेन भनेर विरोध भइरहन्छ ?
अब जनताले विरोध, आलोचना गर्न पाउँछन्, त्यो हाम्रा लागि दबाब पनि हो र मार्गदर्शन पनि। तर हुँदै नभएको भने होइन। तपाईंलाई थाहा छ नि, पहिलो वर्ष न कर्मचारी थिए, न मातहतका अड्डा। हामीसँग पनि अनुभवको कमी थियो। त्यो वर्ष त्यत्तिकै बित्यो। काम गर्ने इच्छा छ, बजेट पनि छ तर गरिदिने निकाय छैन, अनुभवको कमी छ आदि–आदि। दोस्रो वर्ष मातहतका अड्डा त भए। धेरै कार्यालय थपिए। जिल्ला–जिल्लामा कार्यालयहरू भए, जिल्ला–जिल्लामा बनाउन नसकिएका स्थानमा दुईतीन जिल्ला हेर्ने गरेर पनि कार्यालयहरू खोलिए तर कर्मचारीको चरम अभाव भयो। ६० प्रतिशत कर्मचारी अभावमा हामीले दोस्रो वर्ष काम गर्नुपर्यो। यो वर्ष केही देखिने काम भएका छन्। तपाईं गाउँगाउँ जानुस्, सडक, खानेपानी, पुलपलेसा, विद्यालय भवन बने÷बनिरहेका छन्।
म मुख्यमन्त्री हुनुअगाडि जसरी तीव्र गतीमा काम गरूँला भनेर सोचेको थिएँ, त्यो गतिमा जान नसकिएको साँचो हो। मैले एकजनाले चाहेर पनि केही नहुँदो रहेछ। त्यसका लागि कानुनको उपलब्धता, कर्मचारी र प्राविधिकको पूर्ति हुनुपर्दो रहेछ।