विपन्नमाथि ठगी
सिरहा : गत भदौमा रामबाबु सदायको पत्नी ककुल सदाय ४ महिनाको गर्भवती थिइन्। सदायले गाउँमा राम्रो रोजगारी पाएको थिएनन्। उनको परिवार आर्थिक संकटमा थियो। त्यही बेला भारत रोजगारीमा पठाउने बिचौलिया गाउँमा पुगे। रामबाबुलगायत कर्जन्हा नगरपालिका–३ सुन्दरपुर गाउँका २२ जनाको परिवारलाई ५÷५ हजार रुपैयाँ अग्रिम दिए। उनीहरूलाई भारतमा राम्रो काम लगाइदिने आश्वासन दिए।
बिचौलियाकै आश्वासनमा परेर उनी भारतको हरियाणा पुगे। ५ महिनाभन्दा बढी पुग्दा पनि उनलाई न त काम गरेको रुपैयाँ दिएको छ न घर फर्किन नै। ‘त्यहाँ दिनहुँ २० घण्टासम्म भारी काम गराइरहेको फोनमा पतिले सुनाएको थियो,’ ककुलले भनिन्, ‘अहिले महिनौँ भइसक्यो। फोन पनि गर्न दिएको छैन्। घर पनि फर्किन दिएको छैन्।’ बिचौलियाले देखाएको रोजगारी लोभमा पति रामबाबु घर फर्किन नसकेको उनले सुनाइन्।
रामबाबुको ४ छोराछोरी मनिषा (६), निशा (३), आशा (५ महिना) र छोरा मनिष (५) छन्। उनीहरूलाई खान बस्न समस्या भएको छ। गाउँमा पुग्ने जोकोहीलाई उनको परिवारले रामबाबुलाई घर फर्काइदिन अनुरोध गर्ने गरेको छ। ‘फुसको छाप्रो भएको घर भत्किन थालेको छ। जाडोमा जिउ ढाक्ने लुगा पनि छैन,’ रामबाबुकी पत्नी ककुलले भनिन्, ‘काम गरेको पैसा नदिए पनि पति फर्काइदिन पटकपटक बिचौलियालाई आग्रह गर्दा पनि कुरै सुन्दैन।’
रामबाबु मात्रै होइन, यही गाउँका विजय सदाय, सुरेश मुखिया, खोजियहा सदाय र राजेश सदाय पनि घर फर्किन सकेका छैनन्। २० दिनअघि रामजतन मुखिया र १३ दिनअघि बहुरा मुखिया भागेर घर फर्केर आएका छन्। ‘बिचौलियाले हामीलाई सेलर मिलमा काम गर्न पुर्याएका थिए। दुई हप्ता काम गर्याैँ। भनेअनुसार काम थिएन,’ बहुराले भने, ‘बिरामी पर्दा पनि काम लगाउँथ्यो। नसक्दा उल्टै कुटाइ खानुपरेको छ।’ भागेर आएकाहरूबाट भारत हरियाणाको दुःख पीडा सुन्दा विजय सदायकी ६५ वर्षीय आमा केसिया सदाय छोरा फर्काउन हारगुहार गरिरहेकी छन्। गाउँमा आउनेहरूलाई उनले रुँदै छोरा फर्काइदिन बिलौना गर्छिन्। ‘यहाँ काम पाएन। एजेन्टको लोभमा परेर छोरा गयो,’ उनले भनिन्, ‘न पैसा कमाएर पठायो न छोरा आउने आशा छ।’
उनीहरूले सुखीपुर नगरपालिका वैशाखा महनपुरका रामएकवाल यादव र वीरीदेव यादवले भारत पुर्याएको सुनाए। यहाँका गाउँमा बिचौलियाहरूले भारतका रोजगारदातासँग कामदार पठाइदिने भनेर पैसा लिन्छन्।