कर्णालीका सांसद सिंहको गाडीमा आगजनी
जाजरकोट : कर्णाली प्रदेश सांसद गणेशप्रसाद सिंहको गाडीमा बिहीबार राति आगजनी भएको छ। पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुगेका सांसद सिंहको गाडीमा कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टि भने हुन सकेको छैन।
कर्णाली प्रदेश जाजरकोट क्षेत्र नम्बर १ ‘क’ का सांसद तथा प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा राति १० बजेतिर आगजनी भएको प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए। कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको उनको भनाइ छ।
‘शुक्रबार भेरी नगरपालिकाको स्यालीबजारमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुनका लागि सांसद सिंह, प्रचण्ड–नेपाल समूहका नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, नेकपाका पार्टी अध्यक्ष ढकवीर राना बिहीबार नै पुन्मा जानु भएको थियो’, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरसम्म गाडी नजाने भएकोले बीचबाटोमै गाडी पार्किङ्ग गरेर खाना खान लागेको बेला अज्ञात समूहले आगजनी गरेछ।’
सुरक्षाकर्मीसमेत खाना खान गएको मौकामा आगजनी भएको उनको भनाइ छ। आगजनी भएको खबर पाए लगत्तै घटनास्थल पुग्दा गाडी जलेर ध्वस्त भएको नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष ढकवीर रानाले बताए।
गाडीमा कसले ? किन ? आगो लगायो भन्ने विषयमा अहिलेसम्म केही पनि पत्ता लाग्न नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्रेष्ठको भनाइ छ।
सरकारी गाडीमा आगो लगाउने मान्छेको पहिचान गर्न नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको उनको भनाइ छ।
सांसद सिंह अहिले प्रचण्ड-नेपाल समूहमा छन्। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता वा सत्तारुढ ओली समूहका नेकपाका कार्यकर्ताले आगजनी गरेको अनुमान गरिएको छ। प्रहरीले भने यसको पुष्टि गर्न सकेको छैन।