'जहाँ ओली, त्यहाँ नेकपा, जहाँ नेकपा त्यहाँ सूर्य चिन्ह'
सिन्धुली : नेकपा स्थायी समिति सदस्य ईश्वर पोखरेलले नेकपामा प्रधानमन्त्री ओली समूह नै आधिकारिक भएको दावी गरेका छन् । बुधबार सिन्धुलीमाढीमा ओली समूहका नेता कार्यकर्तासँगको भेटमा पार्टीको पहिलो अध्यक्ष ओली नै भएको र नेकपाको आधिकारिकता समेत ओली समूहले नै पाउने भन्दै नेता कार्यकर्तालाई ढुक्क हुन समेत आग्रह गरे ।
उपप्रधानमन्त्री समेत रहेका नेता पोखरेलले पूर्वमाओवादीको अराजकता र एमालेभित्रको गुठबन्दीले पार्टी फुटको संघारमा पुगेको जिकिर गरे । उनले भने, 'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अझै औपचारिक रुपमा विभाजन भइसकेको छैन । तर, पूर्वमाओवादीको अराजगता र एमालेका केही नेतृत्वको गुठबन्दीले पार्टी फुटको संघारमा पुगेको हो ।’
पोखरेलले पार्टी विभाजन निश्चित भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन केपि शर्मा ओलीको पक्षमै हुने दोहोर्याए । ‘पार्टी र चुनाव चिन्हको चिन्ता नगर्नुहोस पार्टी विभाजन भए जहाँ केपी शर्मा ओली हुन्छन् त्यहाँ नेकपा र जहाँ नेकपा हुन्छ त्यहाँ सूर्य चिन्ह हन्छ, तपाईहरु ढुक्क हुनुहोस,' उनले भने ।
प्रचण्ड–माधव समूहले देश र पार्टी दुबैलाई अस्थिरता कायम गर्न खोजेपछि प्रधानमन्त्री ओलीले आफ्नो राजनैतिक र पदीय अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु भएको भन्दै उक्त निर्णय कानुन संवत भएको पोखरेलको जिकिर छ ।
प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिएका पोखरेलले बैशाख १७ र २७ गतेका लागी घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा भएरै छाड्ने दावी गरे । 'प्रधानमन्त्रीले ताजा जनादेशका लागि जनतासामु नै जाने प्रतिबद्धताका साथ चुनाव घोषणा गर्नुभएको हो । प्रतिनिधिसभाको निर्वानका लागि देशका चारवटै सुरक्षा निकाय र निर्वाचन आयोगले काम थालि सकेका छन् । तपाईहरु निर्वाचनको तयारीमा समेत लाग्नु होला,' उनले भने ।
पोखरेलले नेता कार्यकर्तालाई कतै विचलित नहुन आग्रह गर्दै ओली समूहमै आबद्ध हुन आग्रह गरे । पार्टी छाडेर चोइटीनेहरुको केही दिनमै विगतको नेकपा माक्सवादी, माले र माओवादीको जस्तै हविगत हुने उनको दावी छ ।
पोखरेललाई भेट्न जिल्लाका तत्कालिन एमालेका नेता तथा कार्यकर्ता लगाएत तत्कालिन माओवादीका पूर्वसांसद विषमलाल अधिकारी दनुवार, शान्तिमान कार्की, म्वर कार्की लगायत पुगेका थिए ।