अदालतको फैसलाको पाँच वर्षपछि दोषी पक्राउ
राजविराज : कुटपिट अंगभंग मुद्दामा फरार रहेकी सप्तरीकी एक महिला पाँच वर्षपछि पक्राउ परेकी छन् ।
प्रहरीको खोजीमा रहेकी सप्तरीको महादेवा गाउँपालिका–१ पकरीकी सरातुल खातुन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मोहमद मुरतुजा मियाँको जाहेरीले खातुन, अली हुसेन मियाँ सहित पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले कुटपिट अङ्गभङ्ग मुद्दा चलाएको थियो ।
सप्तरी जिल्ला अदालतमा ०७२ पुस १३ गते मुद्दा अभियोजन भएकोमा आरोपित खातुनलाई दोषी ठहर गर्दै अदालतले चार वर्ष कैद र साढे एक लाख जरिवानाको फैसला गरेको थियो ।
जिल्ला अदालतका तत्कालिन न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलाशले ०७३ फागुन ८ गते खातुनलाई चार वर्ष कैद हुने र साढे एक लाख जरिवाना तिर्नुगर्ने फैसला गरेको थियो । घटनापछि नै फरार रहेकी आरोपितलाई खोजतलासको क्रममा गाउँघरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वरप्रसाद साहले बताए ।
पक्राउ परेकी अभियुक्त सप्तरी जिल्ला अदालतको आदेशमा कैद भुक्तानका लागि राजविराज कारागारमा पठाइएको छ ।