व्यापारी दम्पति हत्या आरोपितलाई ११ वर्ष कैद
राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा भएको व्यापारी दम्पति हत्याकाण्डका एक अभियुक्तलाई अदालतले ११ वर्ष कैदसजायको फैसला गरेको छ। सप्तरी जिल्ला अदालतका न्यायाधीश रिताकुमारी बख्रेलको इजलाशले हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ४० वर्षीय दाउद मियाँलाई ११ वर्ष कैद सजायको फैसला गरेको हो।
हत्या अभियोगमा ५ वर्ष कैद तथा डाँका अभियोगमा ६ वर्ष कैद र १ लाख ४० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। हत्या आरोपमा ०७४ पुस २४ गते पक्राउ परेका उनी खुनडाँका मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा नै छन्। मियाँसहितको समूहले हनुमाननगर कंकालिनी नगरपालिका–९ की ५२ वर्षीया सरोजदेवी वेगवानी र निजका पति ५५ वर्षीय प्रेमसुख बेगवानीको २०७१ जेठ २१ गते राती हत्या गरेका थिए।
हत्याराले बेगवानी दम्पतीको हत्या गरी ७७ लाख ६२ हजार ४९९ रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद रु १० हजार धनमाल डँकैती गरेका थिए। मुख्य बजारमै रहेको पसलसँगैको घरमा जेठ २२ गते व्यापारी दम्पतिको शव फेला परेको थियो। मृतकका छोरा मुकेश वेगवानीको उजुरीमा जिल्ला प्रहरी कार्यालयले आरोपितहरुविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत ०७१ जेठ २३ गते मुद्दा दर्ता गर्यो।
यसअघि हत्या आरोपमा पक्राउ परेका सुनसरीको श्रीपुर–८ का ३८ वर्षीय मो. हैदर अली मियाँ, श्रीपुर–३ कुमयाहीका २४ वर्षीय सागिर मन्सुरी मियाँ, हरीपुर–७ भण्टाबारीका २४ वर्षीय मो. कैजुम मियाँ र हरीपुर–७ का २७ वर्षीय इनर कामतलाई कैद सजायको फैसला भएको छ।
सुनचाँदीका गहनासहित पक्राउ परेका अभियुक्त हैदर अली र कैजुम मिया
हैदर र कैजुम मियाँ सुनसरीको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट ०७१ जेठ २९ गते पक्राउ परेका थिए। उनीहरुको साथबाट घटनामा प्रयोग गरिएको पिलास, रड, बञ्चरो, पेचकस, रिञ्च, एनेस्थेटिक ईथर लगायत सामानको साथमा कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड बरामद भएको थियो। पीडितहरूबाट लुटिएको १३९.४३ ग्राम सुन र १०.१ किलो चाँदी लगायतका धनमालसमेत प्रहरीले बरामद गरेको थियो।
यसैगरी इनर र सागिरलाई सुनसरीको नरसिंह–९ चिरौनीबाट ०७१ असोज ४ गते पक्राउ गरिएको थियो। जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले कैजुमलाई ०७३ भदौ २६ गते हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला गरेको छ। आरोपित हैदरलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद, कामत र सागिरलाई ११/११ वर्ष कैद फैसला भएको छ। उनीहरु चारै जना कारगारमा कैदी छन्।
लुटपाटको उद्देश्यले बेहोस बनाउन प्रयोग गरिएको एनेस्थेटिक ईथरले काम नगरेपछि पिलास र रडले प्रहार गरेर हत्या गर्नुपरेको आरोपितहरुले प्रहरीसमक्ष स्विकारेका थिए। आरोपितहरुले डाँका गरेको गरगहना किन्ने सुनसरी ईनरुवा नगरपालिका–१ घर भई लौकही–६ मा पुष्पाञ्जली ज्वेलर्स नामक सुनचाँदीको पसल गर्र्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिलेपनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ।
सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीबाट ०७१ असार ४ गते पक्राउ परेका स्वर्णकार अदालतको आदेशमा ०७१ असार २९ गते नगद रु. १० लाख धरौटी बुझाई पुर्पक्षका लागि रिहा भएका थिए। उनले हत्याराबाट रु १५ लाख ८५ हजार ८६० बराबरको चाँदी र रु सात लाख ३० हजार ६०१ बराबरको सुन ४० प्रतिशत नाफा राखी रु १७ लाख २५ हजारमा खरिद गरेको अभियोग छ।
हत्यामा संलग्न सुनसरी हरीपुर–७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अल्लाउद्दिन मियाँ र सप्तरीको हनुमाननगर कंकालिनी नपा–१ भारदहका ३५ वर्षीय बब्लु मण्डल फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवी राखिएको अदालतले जनाएको छ।
तस्बिर : मनोहर पोखरेल
१. मृतक सरोजदेवी वेगवानी र निजका पति प्रेमसुख बेगवानी।
२. सुनचाँदीका गहनासहित पक्राउ परेका अभियुक्त हैदर अली र कैजुम मिया
३. हनुमाननगरको मुख्य बजारमै रहेको बेगवानीको कपडा पसलसहितको घर