नेकपा सिन्धुलीले संविधानको धारासहित प्रधानमन्त्रीलाई बुझायो विरोध पत्र
सिन्धुली: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । शुक्रबार प्रचण्ड–नेपाल समुहको नेकपाले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएको हो ।
प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनीधि सभा विघटन गरेपछि त्यसको विरुद्ध सडक संघर्ष गर्दै आएका नेकपाका नेता कार्यकर्ताहरु नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोध पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लघंन गरी असंबैधानीक, अलोकतान्त्रीक एवंम स्वेच्छाचारी ढंगवाट प्रतिनीधिसभाको विघटन गरी प्रतिगामी कदम चालेपछि त्यसप्रति घोर आपत्ती प्रकट गर्दै विरोध पत्र बुझाइएको नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद राजन दाहालले बताए ।
‘विरोध पत्रमा जुन संविधानको धाराको ब्याख्या गरेर प्रतिनीधि सभा विघटन गरिएको हो उक्त धाराको पुनःअध्ययनका लागि सो धाराको प्रतिलिपी सहति प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र पठाएका हौं,’ उनले भने ।
विरोध पत्र बुझाउँदै संघिय लोकतान्त्रीक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न र वर्तमान असंबैधानीक कदमलाई असफल पार्न जस्तोसुकै संघर्ष र बलिदानी गर्न समेत तयार रहेको दाहालले चेतावनी दिए ।
विरोध पत्रमा ओलीलाई भनिएको छ, ‘हामी अझैपनि तपाईलाई आफ्नो असंबैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिभिसभा सूचारु गरी संविधानलाई कृयाशिल बनाउँने पक्षमा आउन अनरोध गर्दछौं र सच्चिन अवसर प्रदान गर्दछौं ।’
विरोध पत्र बुझाउँन नेकपाका स्थायी समिति सदस्य तथा सांसद हरिबोल गजुरेल, नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुलीका सहइन्चार्ज कमलजंग राई, नेकपाका केन्द्रीय सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहाल, नेकपा बागमति प्रदेश कमिटिका सदस्य तथा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री लगायतका सयौं नेता कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
उनिहरुले प्रधानमन्त्री ओलीको कदमका विरुद्ध जिल्ला प्रशासन कार्यालयको मुलगेटमा नाराजुलुस समेत प्रदर्शन गरेका छन् । यसैविच प्रधानमन्त्री ओलीका विरुद्ध नेकपाको विद्यार्थी संगठनले समेत प्रमुख जिल्ला अधिकारीमार्फत विरोध पत्र बुझाएको छ । विरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले दुबै विरोध पत्र आधि घण्टाभित्र प्रधानमन्त्री कार्यालयमा पठाइने बताएका छन् ।