जाडोको न्यानोभित्र ज्यानको जोखिम
नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको एकदमै साँघुरो भेन्टिलेसन नभएको र गिजरबाट नुहाउने क्रममा निसास्सिएर मृत्यु भयो। ललितपुर सातदोबाटोस्थित जिम सेन्टरमा साउनामा बाफ लिइरहेका दम्पती बेहोस भेटिए र अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो। नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आएका मकवानपुरको दामनस्थित एभरेस्ट पनोरमा रिसोर्टका कोठामा सुतेका भारतको केरलाका आठैजना अर्धचेत अवस्थामा फेला पर्दा हेलिकप्टरमार्फत ह्याम्स अस्पताल पुर्याउँदा शव बनिसकेका थिए। छाउगोठ बसेका महिला आज पनि मृत्युवरण गरिरहेका छन्। छाउ गोठ होइन सोच भत्काउन जरुरी छ।
बढ्दो वायु प्रदूषण
धूमपानभन्दा घातक मानिने वायु प्रदूषण खतराको घण्टीमा छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनपर्छ; जसलाई उपयुक्त मानिन्छ। ५१ देखि एक सय सामान्य, दुई सय एकभन्दा माथि पुगे धेरै अस्वस्थकर र तीन सय एकभन्दा माथि पुगे घातक मानिन्छ। २०७७ पुस २१ गते अपरान्हसम्म विश्वका ५० सहरमध्ये काठमाडौंको वायु प्रदूषण नम्बर एकमा थियो। नेपालमा बर्सेनि मृत्यु ४२ हजार एक सयजना छ। प्रदूषित कणले श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र फोक्सोलाई असर गर्छ। २२ गते बादल हट्दै गई घाम लागेकाले प्रदूषणको मात्रा घटेको छ। पुस २० र २१ गते काठमाडौंका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक चार सय बढी भएको थियो। एक्युआईले आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ। त्यसै पनि हिउँदमा बर्खायामभन्दा ४–५ गुणा बढी हुन्छ। विश्व स्वास्थ्य संगठनले १० मृतकमध्ये एकजनाको वायु प्रदूषणबाट ज्यान जाने गरेको छ। एक अध्ययनमा युद्धसहित सबैखाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक छ र धूमपानबाट हुने मृत्युभन्दा धेरै छ।
जाडोयाममा रुघाखोकीलगायतका समस्या हरेक वर्ष देखिन्छ। तर यस वर्ष कोरोना महामारीले गर्दा मौसमी रुघाखोकीलाई सामान्य मान्ने अवस्था छैन।
हिउँदमा बर्खायाममा भन्दा वायु प्रदूषण चारदेखि पाँच गुणा बढी हुन्छ; जसमा बिहान ८ देखि १० बजेसम्म बढी हुन्छ। त्यसैमा काठमाडौं उपत्यका कचौरा आकारको भएकाले धुलाका कण तल्लो तहमा तैरिन्छन्। प्रदूषणले प्रतिरोधात्मक क्षमता घटाउने र फोक्सोमा कण गई क्षमतामा असर पार्ने भएकाले कोभिडको बढी जटिलता हुन सक्छ। प्रदूषण र कोरोनाको दोहोरो आक्रमणमा परेपछि फोक्सोमा गम्भीर समस्या हुने नै भयो। कोभिड–१९ बाट मृत्यु भएकामा १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण रहेको ठम्याइ छ। मेडिकल जर्नल लेनसेटको रिपोर्टमा वायु प्रदूषणको स्तर बढ्नाले कोभिड–१९ को केसहरू १३ प्रतिशतसम्म बढ्न सक्छ। भारतको आईसीएमआरका अनुसार पनि लामो समयसम्म प्रदूषणको प्रभावमा रहँदा कोभिडले मृत्यु हुने जोखिमसमेत बढ्ने सम्भावना रहन्छ।
मौसमी रुघाखोकी र कोरोना
मौसम परिवर्तन हुने बेलामा जस्तै जाडोयामबाट गर्मी र गर्मीयामबाट जाडोयाम सुरु हुँदा स्वास्थ्यमा ख्याल गरिएन भने रुघाखोकीलगायतका समस्या हरेक वर्ष देखिन्छन्। तर यस वर्ष कोरोना महामारीका कारण मौसमी रुघाखोकीलाई पनि सामान्य मान्ने अवस्था छैन। कोभिड–१९ हो कि भनेर सोच्नैपर्छ। सामान्य रुघाखोकी, फ्लु र कोरोनाबारेमा जानकारी र निको हुने समय तथा जटिलताका फरकबारेमा ज्ञान लिनैपर्छ।
स्वाद र गन्ध थाहा नपाउने या परिवर्तन कोभिड– १९ मा मात्र देखापर्छ भने फ्लुका लक्षण देखिन एकदेखि चार दिनमै तथा कोभिडको पाँचदेखि १४ दिन लाग्छ। फ्लुका बिरामीलाई पहिलो हप्तामै गाह्रो हुन्छ भने कोभिडमा दोस्रो हप्तापछि। फ्लुका बिरामीले तीनदेखि सात दिनसम्म रोग सार्न सक्छन् भने कोभिड– १९ का बिरामीले कम्तीमा १० दिनसम्म। कोरोनामा रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ, १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ। रुघाखोकीको सर्ने दर कोरोनाभन्दा निकै कम हुन्छ र रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिल्यैदेखि नै स्वास्थ्य समस्या भोगिरहेकालाई बढी असर गर्छ भने कोरोनाले हालसम्म बालबालिका र गर्भवतीलाई धेरै असर गरेको देखिँदैन। सामान्य रुघाखोकीले मानिस मर्दैन, फ्लुले हजारमा एकजनाको मृत्यु हुन्छ भने कोरोनाको मृत्युदर औसत चार र बढीमा ३० प्रतिशतसम्म देखिएको छ। संक्रमण पनि फ्लुमा १.२ जना छ भने कोरोनामा दुईदेखि तीनजना नयाँ प्रजातिमा सात छ। तथापि मृत्युदर व्यक्तिको उमेर, स्वास्थ्य र स्वास्थ्य सेवा प्रणाली, पहु“च परीक्षण र उपचारका आधारमा पनि निर्भर छ। विदेशमा समेत जाडो मौसममा संक्रमित भई भर्ना भएकामा खोकी कम नहुने र निको भएकामा हिँडडुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा देखिएका छन्। निको भएर घर गएका पनि जटिलतासहित फर्किने तथा घरमै आकस्मिक मृत्यु हुने क्रम पनि बढी छ।
तातोको सहयोग लिँदा
जाडोमा तातोको सहारा लिन प्रयोग गरिने धूमपान, मद्यपान, आगो ताप्नका लागि बालिने हिटरबाट पोलिने तथा झ्यालढोका बन्द गरी मकल बाल्दा हुने क्षतिबारेमा चर्चा गरिसाध्य छैन। बिजुली, कोइला, दाउरा तथा ग्यास उपयोग गर्दा निस्कने ग्यास जुन देख्न, सुँघ्न र महसुस गर्न सकिँदैन, त्यो कार्बन मोनोअक्साइड हो; जसलाई अदृश्य हत्यारा वा मौन हत्यारा पनि भनिन्छ। विनाकुनै संकेत र लक्षण कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ। सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटु, श्वाससम्बन्धी, रगतको कमी भएका बिरामी, गर्भावस्था, गर्भका शिशु र वृद्धा पर्छन्।
सीओ ग्यास सामान्यतः सहीरूपले बल्न नसकेको स्टोभ, हिट· सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिका ग्यास तथा धुवाँमा पाइन्छ। ग्याँस गिजरमा पानी तातिरह“दा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ। बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निसास्सिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ। टाउको दुखेको दुख्यै, सोच्ने क्षमतामा असर, सास फेर्न असजिलो, हड्बडाउने, आँखा र हातको तालमेल नहुनु, मुटुको चाल बढ्नु, शरीरको तापक्रम कम हुनु, पेटमा समस्या उत्पन्न हुनु, रक्तचापमा कमी हुनु कार्बन मोनोअक्साइड विषाक्तताका लक्षण हुन्। विषाक्तता माटोका घरमा भन्दा सिमेन्टेड घरमा छिटो र बढी हुन्छ।
कोरोना थकान/फटिक
संक्रमणमुक्त भएका बिरामीमा देखिने कोरोना थकान हाल नीतिनिर्माता र आम मानिसमा महामारी नियन्त्रणमा थकान देखिएको छ। यस्तो थकानले नेपालमा कोरोनाको दोस्रो चरण आउन सक्ने देखिन्छ। असोजमा गरिएको ३१५० जनाको सेरो प्रिभ्यालेन्समा १४ प्रतिशत देखिनु, खोपको उपलब्धताको सुनिश्चितता नभएको हालको अवस्था, कोरोनाको मात्रै कति कुरा गर्ने भन्दै छापा, अनलाइन, नीतिनिर्माता, जनता तथा मन्त्रालयबाट भनेर थकान व्यक्त, संसद् विघटन र आमनिर्वाचन, विरोध, जुलुसको बढोत्तरी र स्वास्थ्य सतर्कता चारैतिर घट्दोले सबैमा कोरोना निको भइसकेका व्यक्तिभन्दा बढी थकानमा भएको देखाउँछ। यसले संक्रमणको जोखिम ह्वात्तै बढाएको छ।
–डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।