एक वर्षपछि सिन्धुलीमा खेल गतिविधि
सिन्धुली : कोरोना (कोभिड-१९) का कारण जिल्लामा एक वर्षदेखि ठप्प खेलकुद बिस्तारै सुरु हुन थालेका छन् ।
पोहोर माघमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितापछि खेलकुदका कुनै पनि गतिविधि भएका थिएनन् । सामान्य प्रशिक्षणसमेत ठप्प थिए ।
कोरोनाको त्रासबीच जिल्ला सदरमुकाम र गाउँमा विभिन्न प्रतियोगिता हुन लागेको जिल्ला खेलकुद विकास समिति सिन्धुलीले जनाएको छ ।
सदरमुकाम सिन्धुलीमाढीमा माघ ७ मा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदैछ । कोरोना संक्रमणले रोकिएको यो प्रतियोगिता नगर खेलकुद विकास समिति कमलामाई नगरपालिकाले आयोजना गर्न लागेको हो ।
जिल्लामा सर्वाधिक पुरस्कार राशीको यो प्रतियागिताका लागि माघ ५ सम्ममा प्रतियोगी टिम दर्ता गर्न सक्ने नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयाँलले बताए । समितिका अनुसार प्रतियोगितामा सहभागी हुन ५ हजार ५ रुपैयाँ दर्ता शुल्क लाग्छ ।
'यसअघि नै आयोजना हुने प्रतियोगिता कोरोनाका कारण रोकिएको थियो,' उनले भने, 'तर अहिले स्वास्थ्य सतर्कता अपनाएर आयोजना गर्न लागिएको छ ।'
विजेताले विजेताले एक लाख नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने र उपविजेताले ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने फुयाँलले बताए । यससँगै दुधौली नगरपालिका, मरिण, हरिहरपुरगढी, सुनकोसी गाउँपालिकालगायत स्थानीय तहमा पनि खेलकुद गतिविधि सुरु भएका छन् ।