लक्ष्मणलाई नसुहाएको टोपी
हामी लड्यौं तुफानसँग
हामी बग्यौं बाढीसँग
लक्ष्मण रसाइलीको पछिल्लो किताबको नाउँ हो ‘मलाई नसुहाएको टोपी।’ यसै किताबको शीर्ष कवितामा समेटिएको एक टुक्रो भावमाथिको कवितांशमा व्यक्त भएको छ, जसले माटो र माटोका सन्तानको सम्बन्धलाई उजागर गर्न खोजेको छ। लक्ष्मण रसाइली एक काव्यशिल्पी हुन्। यसअघि २०६१ सालमै उनको ‘गरिमा’ शीर्षकको खण्डकाव्य प्रकाशित छ।
कृतिका कविता पढ्दै जाँदा यस्तो लाग्छ कि ती कविता मात्र होइनन्, मुटु चिरेर निस्केका भावनाका ज्वारभाटा हुन्। उनी २०३७ सालमा भुटानको सुन्तले गाउँको रसाइली परिवारमा जन्मिए। बालवयमा स्कुलको आँगनमै अपमान र तिरस्कारका ज्वालाहरू भोगे। उनको टोपी थुतियो, किताब जलाइयो र मुटुमा तिरस्कारको कोर्रा बर्साइयो। जुन देशमा जन्मिए, त्यो देशले तँ मेरो होइनस् भन्यो। जुन देशमा हुर्के त्यसले पनि तँ मेरो होइनस् भन्यो। यो गोलो पृथ्वीमा भौतारिँदै उनी सात समुद्रपारि पुगे। जहाँ पुगे पनि चराले आफ्नो गुँड बिर्संदैन। सुनकै भए पनि चरालाई पिँजडा मन पर्दैन। चरालाई त पखेटा फिँजाएर बाँच्न खुला आकाश चाहिन्छ। लक्ष्मणका कवितामा अहिले पनि त्यही खुला आकाशको मोह प्रकटीकरण भइरहेछन्।
मानिसलाई सबैभन्दा प्यारो लाग्ने कुरा जन्मभूमि हो। आफू जन्मी हुर्केको बाटो र आफूले ताते गर्दै पहिलो पैतालाले स्पर्श गरेको माटो मानिसका लागि सर्वाधिक प्रिय हुन्छन्। त्यसमाथि अनेक प्रताडना गरी कसैलाई जबरजस्ती देशबाट निकाल्नेसम्मको हर्कत गरिन्छ भने पक्कै पनि त्यसले हृदयमा घाउ पार्छ। यस्तो घाउलाई संसारको कुनै पनि मलमले निको पार्न सक्दैन। लक्ष्मणका कविता हृदयका तिनै घाउबाट निस्किएको रगतले लेखिएका हुन्। लेख्नलाई उनले प्रेम, शान्ति, मानवता र प्रकृतिका विषयमा पनि कविता लेखेका छन् तर उनका कविताको मूल विषय भनेको पहिचानको खोजी हो।
लक्ष्मणले कवितामार्फत मानवीय अस्तित्वमाथि प्रश्न सोधेका छन्। सत्य र निष्ठाको वकालत गरेका छन् अनि अन्यायको विनाशको कामना गरेका छन्। संसारका भएभरका निरंकुशहरूको मन र मस्तिष्क पनि उस्तै हुँदो रहेछ, कठोर अनि स्वार्थी। सत्ताको नशामा डुबेकाहरूलाई जसरी पनि सत्ता टिकाउने र वर्चस्व कायम गराउने ध्याउन्न हुन्छ। यसका लागि जनताको ज्यानको पनि तिनलाई पर्वाह हुन्न। अर्को कुरा मानिसले मानिसलाई साथ दिने भनेको सुखमा मात्रै हो। दुःख परेको बेलामा वरपरका छिमेकी र आफन्तले समेत मरेको बाख्रालाई उपियाँले छोडेझैं छोड्छन्। कोही पाखण्ड पस्किन्छन्। कोही मुखका मात्र जाती हुन्छन्। मानिसको यो पीपलपाते र दहीचिउरेपनप्रति पनि लक्ष्मणको असहमति छ। समाजका शोषित र पीडितको पक्षमा उनको कलम दर्बिलो गरी उभिएको छ।
लक्ष्मणका कविताको अर्को विषयवस्तु जीवनप्रतिको आशावादिता हो। ‘एक्लो मान्छे’ कवितामा उनले मानवीय शक्ति र सामथ्र्यका विश्वव्यापी दृष्टान्त प्रस्तुत गरेका छन्। बुद्ध बन्ने पनि मानिस नै हो, सगरमाथा छुने तेन्जिङदेखि चन्द्रमामा टेक्ने निल आर्मस्ट्रङ पनि मान्छे नै हुन्। मानिसले चाह्यो भने जे पनि गर्न सक्छ भन्ने उनलाई विश्वास छ। उनलाई यो जगत्प्रति मोह छ, आफ्ना सपनाप्रति भरोसा छ। त्यसैले उनी भविष्यप्रति आशावादी छन्।
आँखाभरि आसैआसमा
पहिलेदेखि अहिलेसम्म
अब खोइ कहिलेसम्म ?
उज्यालोको सँघारमा
प्रतीक्षाको बगरमा
कहिले आउला त्यो दिन भनी
कुरिरहेछु जुनीजुनी...।
कविता रहरले मात्रै लेखिने कुरा होइन। साधना र व्युत्पत्तिले अमर कविता जन्मिन सक्छ। व्यक्तिको प्रतिभा, स्वभाव, परिवार र समाजको छाप उसको सिर्जनामा परेको हुन्छ। कविले आफ्ना दुःख र कुण्ठाका थुप्रा मात्र कवितामा थुपार्दैन। सिर्जनाको उत्पे्ररणा साधारणीकरण पनि हो। सर्जकले अरूको आँसु टिपेर सिर्जनाको थुंगो उन्न सक्छ। अरूको पीडा छामेर भावको गहिराइमा पुग्न सक्छ। त्यसमाथि झन् सर्जक आफैं प्रताडित भएको छ भने त ऊ दिलको अन्तिम तहसम्म पुगेर सिर्जनाको मोती टिप्न सक्छ। कवि लक्ष्मण रसाइली पनि पीडाको गहिराइबाट भावका पुष्पहरू फुलाउँदै सिर्जनाको संसारका रमाउने सर्जक हुन्।
कवितामा मानवीय शक्ति र सामथ्र्यका विश्वव्यापी दृष्टान्त प्रस्तुत गरिएको छ। बुद्ध बन्ने पनि मानिस नै हो, सगरमाथा छुने तेन्जिङदेखि चन्द्रमामा टेक्ने निल आर्मस्ट्रङ पनि मान्छे नै हुन्।
युद्ध, गृहयुद्ध वा शासकहरूले बेलाबेलामा देखाउने स्वार्थयुद्धले अन्ततोगत्वा पिर्ने भनेको निमुखा नागरिकलाई नै हो। कुनै पनि सर्त या बहानामा मान्छे मार्न पाइँदैन। त्यति मात्र होइन, कुनै खाले डर, त्रास, धम्की र हिंसामा राख्न पाइँदैन। डर, त्रास र हिंसारहित समाज नै प्रजातन्त्रको पहिलो सर्त हो तर यहाँ तेस्रो विश्वमा मानिसले मानिसलाई सताउन पाउनुलाई नै प्रजातान्त्रिक व्यवहारका रूपमा लिइँदै छ। सक्नेले नसक्नेलाई दबाउने नीतिको विरुद्धमा लक्ष्मणको कलम झरिलो भएर आएको छ। त्यही भएर उनका कवितामा युद्धप्रति खबरदारी र शान्तिप्रति बफादारी देखिन्छ। उनी भन्छन्—
‘आफैंलाई आँखा चिम्लिएर हेर,
बुद्ध तिमीभित्रै तड्पिरहेछ
शान्ति, तिमीभित्रै सुतिरहेछ...।
लक्ष्मणले निर्वासनको गहिरो पीडा भोगेका छन्। हाल उनी संसारका आममानिसको सपनाको केन्द्रबिन्दु अमेरिकामा छन्। अमेरिकाको भौतिकता र रमझमले उनलाई छुन सकेको छैन। उनी अतीतका पानामा टाँसिएको जीवनको रङ खोजिरहेका छन्। उनले कविताका पात्र, परिवेश र परिघटना आफूले भोगेको त्यही अतीतबाट टिपेका छन्। पहिचानको न्यानो धिपधिपेलाई स्पर्श गर्न खोजिरहेका छन्। उनी त्याग र समर्पणमा विश्वास गर्छन्। अरूलाई मात्र दोष दिएर आफू उम्किन खोज्ने मानवीय प्रवृत्तिमाथि उनको असहमति छ।
संग्रहको १२२ पृष्ठमा तीस थान कविता उनिएका छन्। मञ्जरीले छापेको यसमा राजन काफ्लेको सुन्दर आवरण कला छ। लक्ष्मणले कविताका विषयवस्तुमा विविधता ल्याउने जमर्को गरेका छन्। उनका सबै कविता सरल छन्। सरलताभित्र गहनता उनको काव्यिक विशेषता हो। भाषाशैली बोधगम्य छ। दुरुहता उनको काव्यिक भूगोलभन्दा टाढाको कुरा हो। उनका कुनै कविता रूख जस्ता छन् जो एकै ठाउँमा उभिएर शीतलता प्रदान गर्न रुचाउँछन्। कुनै कविता चरा जस्ता छन् जो झिसमिसेमै चिर्बिराएर मानिसलाई धर्तीमा उज्यालो ओर्लिएको संकेत गर्छन्।
गद्य र पद्यलाई एकै ठाउँमा मिसाउन खोज्दा उनका केही कविता कमजोर पनि हुन पुगेका छन्। तुकबन्दीको मोहले उनलाई छोड्न नसकेझैं प्रतीत हुने ठाउँ पनि छन्। ‘प्रेमचक्र’, आऊ नव वर्ष आऊलगायतका केही कवितालाई अनावश्यक रूपमा तन्काइएको छ। यस्तो बेलामा कवि शब्दमा मितव्ययी हुन बिर्सेका हुन् कि भनेझैं लाग्छ।
कुनै कुनै कवितामा उनले धेरै पुराना विम्बलाई दोहोर्याएका पनि छन्। जस्तो कि ‘मान्छे, चाहना र पीडाहरू’ कवितामा कुकुरले सुकेको हड्डी चपाउँदा आफ्नै गिजाबाट आएको रगतलाई स्वाद मानी मानी खाएर तृप्त भएझैं आजको मानिस तृप्ति मेटिरहेको छ। यस्ता धेरैचोटि प्रयोग भएका कुरा नराखेको भए संग्रहको अझ ओज बढ्थ्यो कि ?