कमलसहितको कमलपोखरी

कमलसहितको कमलपोखरी

पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको सम्पदाको पुनर्निर्माण सुरु भएसँगै नयाँ संरचनाको डिजाइन र त्यसमा प्रयोग गरिने सामग्रीका विषयमा सधैंजसो विवाद हुन्छ। रानीपोखरी, दरबार स्कुललगायत उपत्यकाका ऐतिहासिक निधि पुनर्निर्माणका क्रममा सिर्जित विवाद सेलाउन नपाउँदै कमलपोखरी पुनर्निर्माणका क्रममा अर्को गलफत्ती सुरु भएको छ। लामो समयसम्म पूर्वतयारी, छलफल र योजना निर्माणका विभिन्न चरण पार गरेर सुरु भएको कामले गति लिनै लाग्दा पक्ष र विपक्षमा विभाजित समूहका कारण कमलपोखरीलाई नयाँ स्वरूपमा लैजाने काममा गतिरोध आएको छ। दुवै समूहको नियत खराब नभए पनि पर्याप्त छलफल र सरोकारवालालाई चित्त बुझाउन नसक्दा अहिलेको अवस्था आएको हो।

कलमपोखरीको महत्व ऐतिहासिक भए पनि विगतमा यो अतिक्रमणकारीको चपेटामा थियो। पोखरीको छेउछाउ निकै फोहोर थियो। संरक्षणको अभावमा बेवारिसे अवस्थामा थियो। त्यतिबेलासम्म यसको संवद्र्धनका लागि खासै प्रभावकारी पहल भएको थिएन। तर जब पुनर्निर्माण गरेर महानगरपालिकाले संरक्षणको थालनी गर्‍यो, त्यसपछि विवाद सुरु भयो। माटो र पानी प्राकृतिक सम्पदाका खम्बा हुन्। यसले सहरको सुन्दरता मात्रै बढाउँदैन, पर्यावरणीय सन्तुलनका लागि पनि महत्वपूर्ण योगदान दिन्छ। लथालिंग अवस्थामै रहे पनि कमलपोखरीको महत्व ऐतिहासिक थियो र अहिले पनि छ। यस पोखरीको संरक्षण गर्ने क्रममा काठमाडौं महानगरपालिकाले पुरानो स्वरूप भत्काएको छ। नौ करोड ४६ लाख ९९ हजार रुपैयाँको लागतमा महानगरले पोखरी निर्माण गर्न लागेको छ।

पोखरीको प्राचीन स्वरूप फेर्ने, ब्याडमिन्टन तथा बास्केटबल खेल्ने ठाउँ, मण्डप, व्यायाम गर्ने स्थान, पोखरीका बीचमा जाने कृत्रिम पुल बनाउने महागरको योजना छ। सिमेन्टको कमल फूल, पानीको फोहोरालगायतका संरचना बनाउन धमाधम काम चलिरहेको छ। ऐतिहासिक महत्व बोकेको पोखरी भएकाले यसलाई संरक्षण गरेर यसअघि जस्तो स्वरूपमा थियो, त्यस्तै बनाउनुपर्ने पुरातत्वविद्, सम्पदाविद् र अभियानकर्मीको तर्क छ। पुनर्निर्माणका क्रममा पोखरीको स्वरूप नबिग्रने भए पनि वरिपरि सिमेन्टबाट कमल फूल बनाउन लागिएकोमा अभियानकर्मीको चिन्ता छ। महानगरपालिकाले उनीहरूसँग छलफल गरेर पुनर्निर्माणपछि सम्पन्न हुने पोखरीको वास्तविक स्वरूपबारे जानकारी गराउनुपर्छ। पुनर्निर्माण हुनुअघि र भइसकेपछिको पोखरीमा देखिने भिन्नता तथा त्यसले ऐतिहासिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा पार्न सक्ने प्रभाव न्यूनीकरण गर्नेतर्फ लाग्नुपर्छ।

सांस्कृतिक सम्पदा मानव समुदायका चिनारी हुन्। विगतमा ढकमक्क कमल फुल्ने भएकै कारण सो पोखरीलाई कमलपोखरी भनिएको हो र सोही आधारमा ठाउँको पहिचान फैलिएको हो। सकिन्छ भने सजीव कमलकै फूल रोपेर पोखरीलाई जीवन्तता दिनुपर्छ। पोखरीको सुन्दरता बढाउन सिमेन्टबाट कमलको फूल बनाउनै नहुने भन्ने होइन, तर जुन वस्तुका नामबाट पोखरीको नाम रहेको छ, त्यसको जरो नै उखेल्नुचाहिँ हुँदैन। आधुनिकीकरणका नाममा कंक्रिट प्रयोगबाट पुराना संरचनालाई पूरै विस्थापित गर्नु पनि व्यावहारिक हुँदैन। यो वास्तविकतालाई महानगरपालिकाले बुझ्न जरुरी छ। कतिपय अवस्थामा संरक्षणकर्मी र अभियानकर्मीमाथि राजनीतिक प्रभावबाट प्रेरित भएर विकास निर्माणका काममा अवरोध गर्न खोजेको आरोप लाग्ने गरेको छ। यस्ता आरोप पुष्टि हुने गरी उनीहरूले आफूलाई प्रस्तुत गर्नु हुँदैन।

जे भए पनि कमलपोखरीको सुन्दरता बचाउनु सबैको दायित्व हो। यो दायित्वबाट कोही पनि विमुख हुनु हुँदैन। पवित्र उद्देश्यले शान्तिपूर्ण विरोधमा उत्रेका अभियानकर्मीका चाहनालाई कुल्चिएर महानगरपालिकाले एकतर्फी रूपमा निर्माण कार्यलाई अघि बढाउनु हुँदैन। विगतमा सम्पदा निर्माणका क्रममा देखिएको विवादबाट पाठ सिक्दै आउने दिनमा काम गर्दा विवाद नआउने वातावरण निर्माण गर्नुपर्छ। आन्दोलन गरेपछि जस्तोसुकै माग पनि पूरा भइहाल्छ नि भन्ने मान्यताबाट कमलपोखरीको स्वरूप बिगार्न हुन्न भन्ने पक्षमा उभिएका अभियानकर्मीहरू टाढा रहनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.