अस्ताए गीतका ध्रुवतारा

अस्ताए गीतका ध्रुवतारा

काठमाडौं : ‘सोचेर माया लेऊ, सम्झेर माया देऊ, एक पल्ट साटेपछि गाह्रो हुन्छ फर्काउन।’ 

साँच्चै माया अपरम्पार छ। एक पटक बसेपछि बस्यो बस्यो। मनमुटु साटिसकेपछि फर्काउन गाह्रो हुन्छ भन्दै मायालुसँग आग्रह गरिरहने गायक ध्रुव केसीको स्वरमा अब नयाँ गीत सुन्न पाइने छैन। यस्ता अमर गीतका गायक केसीले बिहीबार साँझ पौने ५ बजे भैंसेपाटीस्थित अर्किड केयर होममा जीवनको अन्तिम श्वास फेरे। १० वर्षअघिदेख पार्किन्सन रोगसँग जुध्दै आएका केसी तीन वर्षदेखि केयर सेन्टरमा विशेषज्ञ डाक्टरको निगरानीमा थिए। केसीका भान्जा प्रवीण निरौलाले दिएको जानकारीअनुसार केसी पछिल्लो दुई दिनदेखि अर्धचेत अवस्थामा थिए। 

संयोग पनि कस्तो, उनै निरौलासँग गायक केसीका विषयमा कुराकानी गर्ने क्रममा अन्नपूर्ण मिडियाको कार्यालयमा भेट भएको थियो। केसीको निजी जिन्दगीका अनेक किस्साबारे कुराकानी हुँदै थियो। कुराकानीकै क्रममा निरौलाको फोन पटक–पटक बजिरहेको थियो। धेरैजसो फोन बेवास्ता गरिरहेका निरौलाले भैंसेपाटीको केयर होमबाट आएको धु्रवका भाइ विनोदको फोन भने बेवास्ता गर्न सकेनन्। अशुभ खबरको त्रासले उनले कालोनीलो हुँदै फोन उठाए। फोनमा जानकारी आयो, ‘धु्रव अब यो संसारमा रहेनन्।’ 

 
एउटै सोफामा बसेर  निरौलासँग केसीकै बारेमा गफ गरिरहँदा मृत्युको खबर सुन्नपर्ला भनेर कल्पना नै गरेकी थिइनँ। एकछिन त शब्दहविहीन भएँ।  स्तब्ध बनेको माहोललाई प्रविनको आँखामा छचल्किरहेको आँसुले अझ बढी चिसो बनायो। उनी भन्दै थिए, ‘संगीतको एक धरोहर ढल्यो, धुव्र केसी युगको अन्त्य भयो।  मायालु हजार जस्ता गीतले अभिभावक गुमाए।  अब कस्लाई सोध्ने  यति मिठा कर्णप्रिय गीतका अविस्मरणीय अनुभवहरु?' 

उनका सबै गीत कर्णप्रिय छन्। तर गोपाल योन्जनको शब्द संगीतमा रहेको यो गीत उनको परिचय बनेको छ।  

'मायालु हजार हुन्छन् तर माया एक हुन्छ
बुझेर माया देऊ दिनुपर्ने एउटै हुन्छ। 
मिलनका म्वाइँहरु मायाका चिन्ह होइनन्
तृष्णाले छटपटीका यौवनका दोषी ती हुन्। 
सोचेर माया लेउ सम्झेर माया देऊ
एकपल्ट साटेपछि फर्काउन गाह्रो हुन्छ...'

यो गीत २०२४ सालमा कलकत्तामा रेर्कड गराइएको हो। उक्त गीत नेपाली संगीतको एक महत्वपूर्ण दस्ताबेज हो। निरौलाले दिएको जानकारी अनुसार  केसी गीत रेर्कड गरेर बाहिर निस्कँदा गोपाल योन्जन रोइरहेका थिए। अनि दुबै जना अंगालोमा कसिएर निकैबेर रोइरहे। 

यसका साथै  उनले 'अरु कालो रेलको धुँवाले', 'तिम्रो माया कागजको', 'सबैले भन्छन्', 'नचिनेको जस्तो', 'बगी जाने खोला'  लगायत दर्जनौं चर्चित गीतमा आवाज दिएका छन्। मिठा स्वरका धनी धुव्रले नेपाली संगीतमा लामो समय भने काम गरेनन्। उनी लामो समय भारतमा व्यापार व्यवसाय गरेर बसे। सन् २००४ मा नेपाल फर्किएका उनी पुन संगीतमा काम गर्न खोजिरहेका थिए। लामो समयको ग्यापले होला उनको स्वर र स्वास्थ्य दुबैले उनलाई साथ दिएन। 

उनको अर्को चर्तित गीत 'अरु कालो रेलको धुवाले' हो। गीतमा उनले आफ्नी मायालुलाई कालो भनेर हेला नगर्न अनुरोध गरेका छन्। लालबहादुर खातीको शब्द संगीतमा रहेको यो गीतमा उननले मायालु फकाउँदै भनेका छन्
'अरु कालो रेलको धुवाले। 
हामी कालो छाता हजुर ओड्दै नओड्नाले। 
कालो भनी नगर हेला। कालोकै परौली फेला। 
साइली कालो हाडीको मोसोले
हामी कालो छाता हजुर ओड्दै नओड्नाले।' 

संगीतकार बुलु मुकारुङ धुव्र केसीको निधनले नेपाली संगीतमा अपुरणीय क्षती भएको बताउँछन्। केसीको गायकीको प्रशंसा गर्दै मुकारुङ भन्छन्, ‘नेपालमै बसेर गायनमा निरन्तरता दिएको भए नारायण गोपालको जुडुवा भएर चर्चा कमाउन सक्ने स्वरको क्वालिटी थियो उनमा। २०२३ सालमा रेडियो नेपालको गायन प्रतियोगितामा प्रथम भएको बताउँदै मुकारुङले केसीले स्वरमा जादु चलाउने उल्लेख गरे। 

उनका अनुसार दिल्लीमा रहँदा पनि केसीले गीत गाएका थिए। मारुनी कान्छीले बोलको गीत रेर्कड गराएका थिए। बुलु भन्छन्, 'व्यापार व्यवसायमा लागेर आफूले धेरै गीत गाउन नसकेकोमा पछिल्लो समय केसी बिरक्तिएका थिए। सांगितीक क्षेत्रमा ओझेल परें भनेर गुनासो गरिरहन्थे उनी। नारायण गोपाल चर्चामा आउनुभन्दा पहिले नै केसीले नेपाली संगीतमा चर्चा कमाइसकेका थिए। उनकै प्रेरणाले नायक भुवन केसी पनि गायनमा आएका थिए। 

पछि नेपाल फर्केर पनि उनी गीत गायनमा जोडिने प्रयत्न गरेका थिए। तर लामो समय साधनासँग संगत छुटाएका केसी पुन गायनमा सफल हुन सकेनन्। यसले पनि पछिल्लो समय बिरक्तिएका थिए। पशुपति आर्यघाटमा उनको बिहीबार राती नै दाहसंस्कार गरिएको उनका भान्जा निरौलाले जानकारी दिए। उनको पार्थिव शरीरमा जेठी छोरी रुपा केसीले दागवत्ति दिएकी थिइन्। अझ धेरै उत्कृष्ट गीत गाउने रहर अधुरै छाडेर संसारबाद बिदा भएका अग्रज गायक धुव्र केसीको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धान्जली।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.