कहालीलाग्दो वैदेशिक रोजगार
स्वदेशमा रोजगार पाइएन; कुनै पनि उद्यम गर्न सकिएन वा सफल भइएन भने धेरैका मनमा तत्काल सजिलो उपाय फुर्छ– वैदेशिक रोजगार। मुलुकमा जीवन निर्वाह गर्ने अवसर नभेटेपछि मनले नमान्दा पनि वैदेशिक रोजगारलाई अन्तिम विकल्प मान्नुपर्ने अवस्था छ। आफन्त र प्रियजनबाट टाढिनुपर्ने बाध्यात्मक परिस्थिति त छँदै छ; रोजगारका क्रममा उतै निधन भएपछि बाकसभित्र बेरिएर आउनुपर्ने वियोगान्त घटनाले गरिबको पीडामाथि पीडा थपिइरहेको छ। धन लिन बिदेसिएकाहरू प्राण उतै त्यागेर धरतीबाटै विलय भइरहेको घटना दैनिक घटिरहेका छन्। पीडितका आफन्त र प्रियजनलाई आँसुको आहालमा डुबाइरहेको यस्ता घटनाले सरकारलाई भने पटक्कै छोएको छैन नै; राजनीतिक दलले त बुझ्ने कोसिससमेत गरेका छैनन्।
मलेसियामा रोजगारका क्रममा निधन भएका नेपालीका १८ वटा शव शनिबार एकैपटक काठमाडौं आइपुग्यो। विमानस्थलमा ती शवको पर्खाइमा रहेकाहरूले आफ्ना प्रियजनको निधन कसरी भयो भनेर सोध्नसमेत पाएनन्। उनीहरूका लागि महिनौं कुरेर भए पनि निधन भइसकेको अनुहार हेर्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि हुने गरेको छ। त्यसबाहेक उनीहरूले सोच्नसमेत सकेका छैनन्। आफ्ना मान्छेको निधनको कारण के होला ? उसले विदेशमा बिरामी भएपछि पर्याप्त उपचार पायो कि पाएन ? काम गर्ने कम्पनी वा अरू कसैले पिटेर पो मारिदियो कि जस्ता विषयमा भरपर्दो जानकारी लिनसमेत नसक्ने अवस्था छ। धन कमाउन साहुसँग ऋण काढेर बिदेसिएको व्यक्ति नै परलोक भएपछि पीडामा छटपटिएका परिवारलाई मलम लगाइदिने निकायको अभाव छ यतिखेर। मुलुकको अर्थतन्त्रको त्राण शरीरलाई हत्केलामा राखेर विदेशी भूमिमा हाड खियाइरहेका नागरिकले पठाएको रेमिट्यान्सले धानिरहेको छ। तिनै नागरिकले पठाएको पैसामा मोजमस्ती गरिरहेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्म र सरकारका प्रशासकहरूले समेत यस्ता घटना किन बारम्बार दोहोरिइरहन्छ र यसलाई सुरक्षित बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गम्भीर नहुनु ज्यादै दुःखद हो।
सत्ता प्राप्तिका लागि मुलुकमा हिजोआज दैनिकजसो सभा–सम्मेलन हुने गरेको छ। नेताका कोठे बैठकको गन्ती गरिसाध्य छैन। तर यस्ता सम्मेलन वा बैठकमा घामपानी वा हर प्रकारका वाधाको प्रवाह नगरी हाड खियाइरहेका दाजुभाइलाई यो बाध्यात्मक अवस्थाबाट मुक्ति दिने विषयमा मन्थन भएको पाइँदैन। बरु विदेशमा दस नंग्रा खियाइरहेकाबाट आर्थिक संकलन गर्ने र कसरी चुनाव वा सत्ता आरोहणका लागि भर्याङ बनाउने भन्ने ध्याउन्नमा नेताहरू केन्द्रित भएको पाइन्छ। योभन्दा लाजमर्दो अवस्था अरू केही हुन सक्दैन। चुनावी घोषणापत्र र भाषणमा ठूलाठूला नारा लगाउने तर कार्यान्वयनमा चासो नदिने दलीय प्रवृत्तिले मुलुकमा रोजगारको अवस्था सिर्जना हुन सकेको छैन। वैदेशिक रोजगारमा गएका नेपालीमध्ये सबैभन्दा मलेसियामा धेरैको निधन हुने गरेको छ। गत वर्ष मात्रै यसरी रोजगारमा गएकामध्ये २५० भन्दा बढीको मृत्यु भएको छ। विविध प्रकारका रोग, आत्महत्या, सडक दुर्घटना तथा लुटेराको आक्रमण अकालमै ज्यान जाने मुख्य कारण बनेका छन्।
नेपालीलाई स्वदेशमै काम गर्न सक्ने वातावरण निर्माणतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ। रोजगारमा गए पनि काम गर्ने वातावरण सुरक्षित भएको सुनिश्चित हुनुपर्छ। नेपाली कामदारले भोग्नुपरेका समस्याबारेमा सम्बन्धित मुलुकमा रहेका दूतावास तथा कूटनीतिक नियोगबाट गुनासो सुन्ने प्रभावकारी व्यवस्था हुनुपर्छ। अदक्ष कामदारलाई वैदेशिक रोजगारमा जानुअघि सीपमूलक तालिम अनिवार्य गरिनुपर्छ, ताकि उनीहरूले त्यहाँ जोमिखयुक्त काम गर्न नपरोस्। रोजगारमा गएर निधन भएका व्यक्तिको परिवारलाई क्षतिपूर्ति तथा राहतको भरपर्दो व्यवस्था हुनुपर्छ।