वैदेशिक रोजगारको बोझ
वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गर्नेहरू समाजमा जति छन्, रोजगारीका क्रममा विविध हन्डर खाएर रित्तो हात स्वदेश फर्कने पनि कम छैनन्। साहुसँग लिएको ऋणसमेत तिर्न नसकी दोब्बर बोझ बोकेर स्वदेश फर्कनुपर्ने बाध्यताको कथा बोकेका व्यक्ति समाजमा प्रशस्तै छन्। मातृभूमिमै दशनंग्रा खियाउने हो भने खुसीसँग परिवारको साथ बस्न र आनन्दसँग दैनिक गर्जो टार्न सकिन्छ भन्ने उदाहरण यस्ता व्यक्ति बनेका छन्। उनीहरूको कथाले वैदेशिक रोजगारीमा बेहोर्नुपर्ने हैरानी, त्यस्ता सम्भावित हैरानीबाट बच्न अपनाउनुपर्ने सावधानी र विदेश नगए पनि स्वदेशमै रमाइलोसँग जिउन सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।
विदेशमा दुःख पाउनेहरूको कथा सार्वजनिक हुँदैनन्। पहिलो कुरा त यस्ता सबै पात्रले आफ्नो व्यथा खोल्न चाहँदैनन्। दोस्रो कुरा, उनीहरू चाहेर पनि सरोकारवालाको नजरमा पर्न सक्दैनन्। महोत्तरी भरतपुरका जुलमी मुखिया हुन् वा सुखरु मुखिया, विदेशमा पाएको हन्डरले स्वदेशमै मिहेनत गर्न सिकाएका पात्र हुन्। उनीहरूले बिहानदेखि बेलुकासम्म गरेको परिश्रमले दिएको आनन्दले विदेशमा पाएको कष्टमात्रै बिर्साएको छैन, महाजनबाट लिएको ऋण विस्तारै चुक्ता गर्ने हिम्मतसमेत थपिदिएको छ। उनीहरू दुवै धन कमाउने आशमा गाउँकै साहुबाट ऋण लिएर गएका थिए, तर सोंचेअनुसार कमाउन नसकेपछि थप ऋण बोकेर स्वदेश फिरेका थिए। अहिले गाउँकै इटा भट्टामा काम गर्छन्। परिवारको सबै सदस्य सँगै काम गर्न पाउने भएका कारण उनीहरूको कमाइ मनग्ये छ। विगतमा खस्किएको आर्थिक स्थिति विस्तारै उकासिँंदैछ। कमाउन विदेश जानुपर्दैन भन्ने प्रमाण उनीहरू बनेका छन्।
मुलुकबाट दैनिक एक हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। अपवादबाहेक यसरी जानेहरूमध्ये अधिकांशको आर्थिक हैसियत निम्नस्तरकै हुन्छ। मुलुकभित्र रोजगारी नपाउनु र बाध्यताले विदेश जाँदा पनि सम्बन्धित कम्पनीले प्रतिबद्धता जनाएअनुसार पारिश्रमिक नदिनु विदेशमा दुःख पाउनेमध्ये अधिकांशको समस्या बनेको छ। कोही काम गर्दागर्दै दुर्घटनामा परेर अपांगता बनेर फर्कनुपर्ने बाध्यतामा छन् भने कोही तोकिएअनुसार कमाइ नभएपछि फर्कनुपर्ने बाध्यतामा छन्। कतिपय कामदार निरन्तरको कामबाट थकित भएर दीर्घकालीन स्वास्थ्य समस्या बोकेर आइरहेका छन्। जसले उनीहरूको भविष्य अनिश्चित बनाएको छ। सरोकारवाला निकायको आँखा चिम्ल्याइले यो अवस्था आएको हो। स्वदेशभित्र रोजगारी पनि दिन नसक्ने र सरकारकै अनुमति लिएर वैदेशिक रोजगारीमा जाँदा खप्नुपरेको कष्टको बारेमा पनि चासो नदिनु गैरजिम्मेवारपनले घाइतेको घाउमा नुनचुक थप्ने काम गरिरहेको छ। साथै, यसमा एक पक्षलाई मात्रै खोट देखाएर पनि हुँदैन। सरकार, कामदार र उनीहरूलाई विदेश पठाउने दलालसमेत सचेत हुन जरुरी छ।
मुख्य कुरा सरकारले मुलुकमै रोजगारी सिर्जना गराउनेतर्फ पहल गर्नुपर्छ। आफ्ना नागरिकलाई बिहानबेलुकाको छाक टार्नकै लागि विदेशी भूमिमा रगत पसिना चुहाउन जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। यदि विदेशै जानुपर्ने अवस्था आएमा विदेसिने युवाको रोजगारी सुनिश्चित हुने वातावरण बनाउनुपर्छ। नेपाली कामदार लैजाने हरेक मुलुकसँग कूटनीतिक पहलबाट स्वदेशमा भनेअनुसारको काम र कमाइ सुनिश्चित गर्नुपर्छ। यदि कुनै कामदारले विदेशमा पुगेपछि कुनै पनि प्रकारको दुःख पाउने अवस्था आएमा तत्काल समाधान हुनेगरी संयन्त्र निर्माण गर्नुपर्छ। उनीहरूलाई विदेशमा रोजगारी, स्वास्थ्यलगायत कुनै पनि प्रकारको असुरक्षाको अवस्था आउन दिनुहुन्न। कामदारलाई विदेश पठाउन मध्यस्थताको भूमिका खेल्ने म्यानपावर कम्पनीलाई कामदार रोजगारी सकेर विदेश नफर्कंदासम्म जिम्मेवार वहन गराउनेतर्फ सोंच्नुपर्छ। कामदारले पनि धेरै कमाउने लोभमा आफूखुसी कम्पनी परिवर्तन गर्ने, गैरकानुनी रूपमा बस्ने जस्ता बाटो अपनाउनुहुन्न।