ऐतिहासिक सिन्धुलीगढी दरबारको पुनर्निर्माण सुरु
सिन्धुली: ऐतिहासिक सिन्धुलीगढी दरबार (रानीदरबार) को पुनर्निर्माण सुरु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ मा रहेको सिन्धुलीगढी दरबार ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँको लागतमा पुनर्निर्माण थालिएको हो ।
कमलामाई नगरपालिका सिन्धुली र वागमती प्रदेश सरकार पर्यटन विकास आयोजनाले १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दरबारको निर्माण थालेको हो । दरबारको पुनर्निर्माणको जिम्मा तुल्सी/एरिसा जेभी भक्तपुरले पाएको कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।
‘कुल ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँको लागतमा निर्माण सक्नेगरी यही माघ ८ गते दरबारको ठेक्का लगाएर काम थालिएको हो । यसको पुनर्निर्माण कार्य २०७९ जेठ १६ गते भित्र सक्नेगरी सम्झौता भएको छ,’ उनले भने ।
पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा परिचित गढीदरबार तत्कालिन श्री ३ माहाराज जंग बहादुर राणाका भाई बम बहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गरेका हुन् ।
२००४ सालमा राणा शासनको अन्त्यपछि राष्ट्रिय स्वामित्वमा ल्याइएको गढीदरबार २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि भग्नावशेषमा परिणत भएको थियो । लामो सयमसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचनाहरु नष्ट हुँदै गएका थिए ।
२०२० सालअघि सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीगढीमै थियो । उक्त समयमा नेपाली सेना, प्रहरीले सुरक्षा दिइएको थियो । २०५२ सालमा तत्कालीन माओवादीले सिन्धुलीगढीमा रहेको प्रहरी चौकीमाथि आक्रमण गरेर शसस्त्र जनयुद्धको उद्घोष गरेपछि त्यसयता त्यहाँ सुरक्षा पोष्ट समेत स्थापना गर्न सकिएको छैन् ।
तर, स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरले सिन्धुलीगढीलाई प्राथमिकतामा राखेर पुनर्निर्माण थालेको छ । सोही अनुसार सिन्धुलीगढी दरवारको ऐतिहासिक, पुरातात्विक महत्वलाई ध्यानमा राखेर दरबारको पुरानै शैलीमा हुबहु निर्माण थालिएको मेयर खत्रीको भनाइ छ ।
सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन ब्रीटीश अंग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल मानिन्छ ।
कमलामाई नगरले सिन्धुलीगढीको पुनर्निर्माण, संरक्षण र सम्बद्र्धनमा उच्च प्राथमिकतामा राखेर काम गरेको गढीका जानकार साकरकुमार ढकालको भनाइ छ ।
सिन्धुलीगढीलाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने उदेश्यका साथ गढीमा नेपालमै पहिलो युद्ध संग्राहलय निर्माणको अन्तिम चरणमा छ । संग्रहालय नेपाली सेनाले निर्माण गरिरहेको छ । पृथ्वीनारायण शाहको शालिक स्थापना, पिकनीक स्पट, घेराबेरा लगायत काम सकिएका छन् भने नेपाल अंग्रेज युद्धका क्रममा बृटीस अंग्रेजहरुको मुत्यु भएको स्थानमा समाधि स्थलको निर्माण गर्ने कार्य थालिएको छ ।
बहादुर गोर्खाली फौजका कारण नेपाललाई नै व्रिटिसहरुको उपनिवेश हुनबाट जोगाएको ऐतिहासिक स्थल भएकै कारण पनि सिन्धुलीगढीको ऐतिहासिक महत्व रहेको जानकारहरु बताउँछन् । सिन्धुलीगढी पर्यटन वर्ष २०२० का लागि सरकारले घोषणा गरेका उत्कृष्ठ एक सय पर्यटकीय गन्तव्य स्थलमध्येको एक स्थल हो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुलीगढीबाटै पर्यटन वर्ष २०२० को शुभारम्भ समेत गरेका थिए ।