बर्डफ्लुबाट होसियारी

कोभिड—१९ को असर सेलाउन नपाउँदै उपत्यकामा बर्डफ्लु ( एच५एन८) को संक्रमण भित्रिएको छ। कोभिडका कारण लथालिंग भएर बिस्तारै लय समाउन लागेको ह्याचरी व्यवसायलाई यसले त्राहीमाम बनाएको छ। साथै मानव स्वास्थ्यमा पनि जोखिम उत्पन्न गराएको छ। यतिखेर उपत्यकाका केही वस्तीमा मात्र बर्डफ्लु सीमित छ। बेलैमा सचेतना अपनाएर अन्यत्र फैलन नदिन सरकारी, व्यवसायी र सरोकारवालाले संयुक्त अभियान चलाउनुपर्छ। थोरै मात्र हेलचक्य्राइँ गरियो भने पनि यसको ठूलो असर पर्न सक्छ। यो वास्तविकतालाई कुखुरा, हाँस तथा पन्छीजन्य व्यवसायमा संलग्न व्यवसायीले गम्भीरताका साथ लिनुपर्छ।
काठमाडौंमा तारकेश्वर नगरपालिकाका केही स्थानमा यो भाइरसको संक्रमण फैलिएको सरकारी निकायबाटै पुष्टि भइसकेको छ। तर उक्त क्षेत्रमा मात्रै देखिए पनि सबै ठाउँमा चराहरूको सजिलै आवातजावत हुने भएकाले यसको प्रभाव अन्यत्र पनि तत्कालै सर्न सक्छ। तसर्थ कुनै पनि क्षेत्रका मानिसले मचाहिँ सुरक्षित छु भनेर लापर्बाही गर्न मिल्दैन। चरा वर्गमा असर गर्ने भए पनि यो भाइरसले मानव स्वास्थ्यमा पनि गम्भीर प्रकृतिको खतरा निम्त्याउँछ। यसको असर किसानको खोर गोठदेखि हरेक उपभोक्ताको भान्सासम्म पर्नसक्छ। तसर्थ कसले होसियारी अपनाउने र कसले नअपनाउने भन्ने हुँदैन। तर पन्छीसँग सीधा सम्पर्क हुने भएकाले किसानले अलि बढी होसियारी अपनाउनुपर्छ। पन्छी बोक्ने सवारीचालक तथा त्यसमा संलग्न हुने कर्मचारी, मासु पसलेलगायतले पनि सावधानी अपनाउनुपर्छ। माक्स, स्यानिटाइजर प्रयोग गर्न भुल्नु हुँदैन। मानव शरीरमा यो भाइरस प्रवेश ग¥यो भने सम्बन्धित मानिसको ज्यान जाने खतरा ६० प्रतिशत रहन्छ। तर पर्याप्त होसियारी अपनाइयो भने आत्तिहाल्नुपर्ने अवस्था भने होइन। यतिखेर संक्रमण हुनुभन्दा अघि कसरी जोगिने भन्नेतर्फ ध्यान दिनु आवश्यक छ। अण्डा तथा मासु पनि खानै हुन्न भन्ने होइन। पर्याप्त पकाएपछि खाँदा पूर्ण सुरक्षित रहन सकिने अनुसन्धानबाटै पुष्टि भइसकेको छ।
अन्य वस्तुको तुलनामा कुखुराको मासु, अण्डा तथा मासुजन्य सामग्रीमा नेपाल विस्तारै आत्मनिर्भर बाटोमा लम्किरहेको छ। स्वदेशी उत्पादनले नै बजारको मागलाई क्रमशः पूरा गर्दै गइरहेको बेलामा समयसमयमा देखापर्ने बर्डफ्लुले ह्याचरी उद्योगलाई नै नकारात्मक असर पारिरहेको छ। यसपटक पनि यो भाइरस मुलुकभरि फैलने हो कि भन्ने त्रास व्याप्त छ। वार्षिक करोडौं रुपैंयाँ विदेशिनबाट जोगाइरहेको यो व्यवसायलाई जोगाउन सरकारले विशेष पहल गर्नुपर्छ। यस भाइरसको संक्रमण फैलने जोखिम रहेको क्षेत्रलाई तत्काल निगरानीमा राख्नुपर्छ। शंका लाग्नेबित्तिकै ती क्षेत्रका कुखुरा, हाँसलगायत पन्छीजन्य अन्य चराको परीक्षण गर्नुपर्छ। पुष्टि भएका पन्छीलाई सुरक्षित तवरबाट नष्ट गर्नुपर्छ।
सरकारले भाइरस फैलिएको क्षेत्रका नागरिकको स्वास्थ्य निगरानी बढाउनुपर्छ। स्थानीयले पनि कसैको स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्नुपर्छ। स्थानीयको गुनासो तथा समस्या सुनुवाइका लागि स्वास्थ्य मन्त्रालय तथा सरुवा रोग अस्पतालमा हेल्प डेस्क स्थापना हुनुपर्छ। सम्भव भए तत्काल बिरामीको उद्धार गरेर अस्पताल ल्याउने व्यवस्था गर्नुपर्छ। त्यति गर्न नसकिएमा घरमै बसेर अपनाउन सकिने उपचार पद्धतिबारे परामर्श दिनुपर्छ। यो भाइरसको संक्रमण शरीरभित्र छिरेमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या आउन सक्छ। यस्ता लक्षण भएका व्यक्तिसँगको सम्पर्कबाट सकेसम्म परै रहुनपर्छ। पन्छीसँग काम गर्नुपरेमा स्वास्थ्य सावधानी अपनाउनुपर्छ। पन्छीका मासु तथा अण्डा खानुपरेमा राम्रोसँग पकाउनुपर्छ।
प्रतिक्रिया दिनुहोस !
