घरबाटै २ वर्षीय बालक बेपत्ता, अपहरणको आशंका
सिरहा : सिरहा नगरपालिका १ बाट दुई वर्षीय बालक घरबाटै बेपता भएका छन्। घटना भएको दुई दिन बित्न लाग्दा पनि उनको अवस्था पता लागेको छैन। परिवारजनले अपहरण भएको बताउँदै आएका छन्। तर, फिरौती वा धाकधम्की अहिलेसम्म नआएको कारण घटना के हो भन्ने खुल्न सकेको छैन।
बेपता हुनेमा प्रदीप यादवका २ वर्षीय छोरा इशान्त भन्ने प्रियान्सु यादव रहेको प्रहरीले जनाएको छ। उनको घर वडा प्रहरी कार्यालय सिरहादेखि २ सय मिटरको दुरीमा छ। आफ्नै घरकै आगन (वरण्डा)मा खेल्दै गरेका प्रियान्सुलाई एक अपरिचत व्यक्तिले डुलाउन भनेर बोकेर लगेको परिवारजनको भनाइ छ। यो घटना मंगलबार साँझको हो। पहिले केही घण्टा परिवारका व्यक्तिहरुले आफैँ खोजबिन गरे नभेटेपछि प्रहरीमा जानकारी गराएका छन्।
मंगलबार ती बालककी आमा संगिता मंगलवारी व्रत लिइकी थिइन्। घरमै कामकाज गर्दै थिइन्। हजुरआमा गुलवादेवी पनि आगनकै गोठमा थिइन्। अपरिचित व्यक्तिले बच्चा लिएर जानै लाग्दा हजुरआमाले डुलाउन लगेको भनेर केही सोधिनन्। तर बच्चा डुलाएर घर नफर्किएपछि खोजबिन सुरु भएको थियो।
बालक फेला नपरेपछि साउदी अरब वैदेशिक रोजगारमा गएका उनका बुबा र आमा घरमा छिनछिनमा मुर्छा पर्ने गरेका छिमेकी बताउँछन्। सिरहा सदरमुकामबाट बच्चा अपहरणको यो पहिलो घटना हो। भूमिगत समूह सक्रिय रहेका बेलामा व्यक्ति अपहरणका घटनाहरु देखिए पनि कलिला बालबालिका अपहरणमा परेका थिएनन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बच्चा हराएको सूचना आएकोले प्रहरीले खोजबिन थालेको बताए। बच्चा खोज्न सीमाक्षेत्रका गाउँबस्तीसँगै सीमापारीका भारतीय सुरक्षा निकायसँग समन्वय गरी खोजबिन गरिरहेको प्रवक्ता शर्माले बताए।