सप्तरीको कोइलाडीमा वडा नम्बर ४ ले जित्यो क्रिकेट उपाधी
राजविराज: सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ ले गजेन्द्रनारायण सिंह स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ। बुधबार भएको फाइनलमा साबिक विजेता वडा नम्बर ४ ले वडा नम्बर ३ सकरपुरालाई २१ रनले पराजित गरी दोस्रो वर्ष पनि उपाधी हात पारेको हो। फाइनलमा टस जितेर पहिलो ब्याटिङ रोजेको कोइलाडी–४ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन जोडेको थियो। कप्तान मोहम्मद गुड्डुले २९, परमेश्वर मण्डलले २८, रोबिन सिंहले १५, रोहित सिंहले १४ र रोशन मण्डलले अविजित ११ रनको योगदान दिए। सकरपुराका लागि साकेत सिंहले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए भने प्रदीप मण्डल र सुरज मण्डलले समान १/१ विकेट लिए। जितको लागि १ सय २६ रन पछ्याएको सकरपुराले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४ रन मात्र बनाउन सक्यो। सकरपुराका लागि साकेत सिंहले २ छक्का र २ चौकासहित अविजित ३५ रन बनाए। अमित मण्डलले २८ र सुरज मण्डलले २३ रनको योगदान दिए। वडा नम्बर ४ का लागि रोशन मण्डलले २, जुगनु मण्डल र रोहित सिंहले तिनै जनाले १/१ विकेट लिएर जित दिलाए। फाइनलको म्यान अफ द म्याच वडा नम्बर ४ का रोशन मण्डल भए। प्रतियोगितामा वडा नम्बर ५ बर्साइनका दीपेश सरदार म्यान अफ द सिरिज, सकरपुराका अमित मण्डल बेस्ट ब्याट्सम्यान, वडा नम्बर ४ का जुगनु मण्डल बेस्ट बलर तथा वडा नम्बर ५ बर्साइनका राजेश रजक इमर्जिङ प्लेयर भएको तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेशकुमार झाले जानकारी दिए। विजेता र उपविजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह, उपाध्यक्ष सुचिताकुमारी यादव, वडा अध्यक्ष मनोज चौधरी, गोपी मण्डल, राजेन्द्र साह र गुलाब सिंहलगायतले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे। |