क्यान्सरबारे सचेतना

क्यान्सर यस्तो रोग हो, जसको प्रभाव शरीरमा छ/छैन भन्ने विषयमा बिरामीलाई हतपत जानकारी हुँदैन। यो रोग लाग्यो भने सितिमिती निको हुँदैन भन्ने अर्को गलत बुझाइ पनि समाजमा व्याप्त छ। वास्तविकता योभन्दा फरक छ। अर्थात् क्यान्सर रोग निको हुन्छ र निको भएपछि सम्बन्धित व्यक्ति अन्यसरह फूर्तिलो भएर बाँच्न सक्छ। तर रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम उपाय हो भन्ने हेक्का सबैले राख्नुपर्छ। हरेक नागरिकले क्यान्सर रोगलाई आमन्त्रण गर्ने क्रियाकलापबाट टाढा रहने उपाय अपनाउने हो भने मुलुकबाटै यो रोगलाई निर्मूल पार्न सकिन्छ।
नेपालमा करिब ५० हजारदेखि ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ। लापरबाही जीवनशैली, प्रदूषण, बढ्दो औसत आयु यसका मुख्य कारण हुन्। केही हदसम्म वंशाणुगत कारणले पनि क्यान्सर हुन्छ र शरीरका जुनसुकै अंगमा लाग्न सक्छ । यद्यपि, फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर हुनेको संख्या विश्वमा ज्यादा छ । पछिल्लो समय नेपालमा धूमपान गर्नेको संख्या बढेसँगै फोक्सोको क्यान्सरका रोगी बढेका छन्। यसमध्ये फोक्सो क्यान्सरका रोगीमध्ये ८० प्रतिशत धूमपानकै कारण देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा स्तन क्यान्सर पहिलो र पाठेघरको क्यान्सर दोस्रो स्थानमा छ । सहरी क्षेत्रका महिलामा स्तनको र ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर बढी देखिने गरेको अध्ययनको निष्कर्ष छ। विगत पाँच वर्षको अवधिमा क्यान्सर लागेका ४३ हजारजतिलाई पूर्णरूपमा निको भइसकेको तथ्यांक छ। जागरण, चेतना, औषधोपचार तथा रोकथामका तरिका अपनाउन सकियो भने क्यान्सरदेखि आत्तिनु पर्दैन भन्ने सन्देश निको भएका बिरामीको यो तथ्यांकले दिएको छ। क्यान्सरको उपचार तुलनात्मक रूपमा अन्य रोगभन्दा महँगो हुन्छ। तसर्थ यो रोगबाट मुक्त हुन एक मात्र सजिलो उपाय भनेको आहारविहारमा ध्यान दिने र धूमपान तथा मध्यपानको लतबाट मुक्त हुनु हो।
मुलुकभित्र पर्याप्त अस्पताल स्थापना र प्रविधि भित्र्याउन नसक्दा अझै पनि सम्भ्रान्त वर्ग यो रोगको उपचारका लागि भारत, अमेरिकालगायतका मुलुक जाने गरेका छन्। सजिलै पत्ता नलाग्ने भएकै कारण निकै माथिल्लो तहमा पुगेपछि मात्रै क्यान्सरबारे थाहा हुन्छ। धेरै मानिसको निधन हुने यो नै मुख्य कारण हो। क्यान्सर लागेकामध्ये ९० प्रतिशतभन्दा बढीको उपचारका क्रममा निधन हुने गरेको छ। यो छिटो रोग पत्ता नलाग्नुको परिणाम हो। यो बाध्यताको अन्त्य गर्न राज्यले लगानी बढाउनुपर्छ। क्यान्सर रोगी पहिचानका लागि क्यान्सर रजिस्ट्री कार्यको दायरा फराकिलो बनाउनुपर्छ। स्वास्थ्य मन्त्रालयमा क्यान्सरको लागि छुट्टै युनिट स्थापना गर्नुपर्छ। अझै पनि ग्रामीण तथा सहरी भेगमा समेत पर्याप्त बुझाइको अभावमा क्यान्सर रोग पालेर उपचार नगरी बस्ने प्रवृत्ति व्याप्त छ। रोगले च्यापेर ग्रस्त भइसकेपछि मात्रै उपचारमा आउनेको छिटै निधन हुने गरेको छ। यही प्रवृृत्तिका कारण क्यान्सर लाग्यो भने बिरामीको तत्काल निधन हुन्छ भन्ने गलत धारणा बनेको छ।
सबै प्रदेशमा न्यूनतम एउटा क्यान्सर अस्पताल स्थापनाको पहल गर्नुपर्छ। भएका अस्पतालमा पनि सेवाको दायरा फराकिलो पार्नुपर्छ। स्वास्थ्य क्षेत्रमा क्रियाशील मन्त्रालय तथा मातहतका निकायबीच समन्वय हुनुपर्छ। हाल क्यान्सरका बिरामीलाई सरकारले उपलब्ध गराउँदै आएको एक लाख रुपैयाँबराबरको अनुदान रकमबारे पुनर्विचार हुनुपर्छ। गरिब तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क उपचारको अभिभारा राज्यले लिनुपर्छ। आर्थिक रूपमा सम्पन्नले मात्र राज्यबाट प्रदान गरिने सुविधा लिनसक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। बरु क्यान्सरको उपचार गर्न स्थापना भएका अस्पतालको स्तरोन्नति गरिनुपर्छ।
प्रतिक्रिया दिनुहोस !
