ओलीको फेरिएको बोली
नारायणहिटी दरबारको गेटमा मञ्च राखेर आमसभा गर्ने घोषणा हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अन्यथा' टिप्पणी गरिए। केहीअघि मात्र उनले कम्युनिस्ट प्रधानमन्त्रीको परम्परा तोड्दै पशुपतिनाथको पूजाअर्चना गरेका थिए। सुनको जलहरी बनाउने प्रधानमन्त्रीको घोषणाको विरोध गर्ने परम्परावादीकै कित्तासमेत जन्मिएको थियो। कसैले मुख खोलेरै भन्थे, 'माघ २३ गते दरबारको गेटबाट प्रधानमन्त्रीले धार्मिक विषयमा केही बोल्नेछन्।' पार्टीको विभाजित समूहलाई थर्काउन पूर्वराजाको ढोका छान्नुको भित्री कारणको अनुमान मान्छेपिच्छे फरक थिए। सबैभन्दा ठूलो कुरा त प्रधानमन्त्रीले पुष्पकमल दाहाल-माधवकुमार नेपाल खेमालाई साविकभन्दा कडै आलोचना गर्ने सबैजसोको अड्कलबाजी थियो। तर, भयो ठीक उल्टो। प्रधानमन्त्रीले धर्मको 'ध' सम्म उच्चारण गरेनन्। पूर्वराजाको पुरानो बिर्ताबाट गणतन्त्रको दीर्घ भविष्यप्रति कडा प्रतिबद्धता जनाए। र, सबैलाई छक्क पार्ने गरी दाहाल-नेपालप्रति कटु वचन प्रयोग गरेनन् । जति बोले, सरकार कसरी जनतासम्म छिर्नसक्छ भन्नेमा केन्द्रित भए।ओलीको फेरिएको यो बोलीले राम्र प्रशंसा बटुलेको छ।
दुई खेमामा विभाजित नेपाल कम्युनिस्ट पार्टीको कुनै एक पक्षबाट सभा-सम्मेलन वा प्रदर्शन हुन लाग्यो भने राजनीतिक गतिरोध अन्त्यका लागि नेतृत्वबाट कस्तो धारणा आउँछ भन्ने अपेक्षा सर्वसाधारणले गर्न छाडिसकेका थिए। कार्यकर्तापंक्तिमा पनि नेताबाट रचनात्मक भूमिकाको सट्टा विपक्षीलाई खुइल्याउन भाषणमा कस्ता शब्द प्रयोग भए र भोलि यही भाषणलाई कसरी भाइरल बनाउन सकिन्छ भन्नेतर्फ मात्रै ध्यान जान थालेको थियो। गालीगलौजमा प्रयोग भएका कतिपय शैली र शब्द समाजमा प्रयोग गर्नसमेत हिच्किचाउनुपर्ने किसिमका थिए। तर, नेकपा सत्तापक्षीय खेमाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभाले भने सर्वसाधारणले अनुमान गरेभन्दा फरक सन्देश दियो। अर्थात् विपक्षीलाई गालीगलौज गरेर मात्रै ताली पाउन सकिन्छ भन्ने गलत अभ्यासलाई चुनौती दिँदै शालीन र भद्र शैलीमा सभा सम्पन्न भयो। यो सकारात्मक अभ्यासले अन्तत: सभाको गरिमा बढायो। विगतमा एकै पार्टीमा रहँदा देउतासरह पुजेका नेतालाई फरक गुटमा लागेकै आधारमा दानवीय व्यवहार गर्दै निम्नस्तरको गालीगलौजमा उत्रने गलत परिपाटी अन्त्यका लागि सभाले सकारात्मक भूमिका खेलेको छ।
राजनीतिक नेताले 'ट्रोल' बन्ने होइन, अनुकरणीय काम गर्ने हो। संस्कार, सभ्यता र आचरणसमेत सिकाउने हो। नेता-कार्यकर्ताले दिने सार्वजनिक अभिव्यक्तिले उनीहरूको चेतनास्तर र औकात पुष्टि गर्छ।क्षणिक स्वार्थका लागि अवलम्बन गरिने गलत पद्धतिले उनीहरूको राजनीतिक भविष्य त अन्धकारमा जान्छ नै; जनतामाथि पनि धोका हुन्छ। एक-अर्कालाई सराप्दा तल्लो तहका कार्यकर्ता मात्रै होइन, प्रधानमन्त्री तथा मन्त्री भइसकेका र पार्टीको मूल नेतृत्वमा रहेका व्यक्तिले समेत न्यूनतम् मानवीय संवेदना भुल्ने गरेका छन्। रोचक पक्ष त के छ भने विगतमा एकै मन्त्रिमण्डलमा रहँदा इतिहासमै उत्कृष्ट काम गरेका प्रधानमन्त्री वा पार्टी अध्यक्ष भन्दै गुणगान गाएर नथाकेका व्यक्तिसमेत फरक गुटमा लागेपछि इतिहासकै नालायक र खलपात्रको संज्ञा दिँदै प्रचारबाजीमा उत्रेका छन।
अब सबै दलले यस्ता गलत परिपाटी त्याग्नुपर्छ। विचारको राजनीतिलाई प्राथमिकता दिनुपर्छ । आफ्नै सहयात्रीलाई निन्दा र आलोचना मात्र गर्नु भनेको विचारमा हार्नुजस्तै हो। राजनीतिक दर्शन बाँडेर जनतालाई आकर्षित गर्न नसक्नेले मात्रै हो विरोधीको उछितो काढेर जनताबाट ताली खाने। जनताको ताली अस्थायी हो र आफूले बोकेको नीति तथा सिद्धान्त मात्रै चिरस्थायी हुन्छ भन्ने वास्तविकता जुनसुकै दलका नेताले बिर्सनु हुँदैन। दलबीचको झगडाले जनतामा बढिरहेको निराशालाई सान्त्वना दिन पनि नेताबाट सकारात्मक सन्देश प्रवाह हुन जरुरी छ। नेताबीचको झगडा राजनीतिमा सामान्य हो र फरकफरक विचारको नेतृत्व गरिरहे पनि मुलुक विकासमा सबैको धारणा समान रहेको छ भन्ने पुष्टि राजनीतिक दलले आफ्ना क्रियाकलापबाट गर्न जरुरी छ । मुलुकमा झांगिदै गएको राजनीतिक अहंकार र असहिष्णुता अन्त्य गर्न चाहने हो भने गालीगलौजको राजनीति त्याग्नुपर्छ। त्यसको बीजारोपण नेकपा ओली खेमाले गरेको छ।