भागरथीलाई न्याय
सरकारले बलात्कारीलाई कारबाहीसम्बन्धी कानुनमा केही समयअघि मात्रै संशोधन गरेर थप कडा बनाएको थियो। बलात्कार गर्नेलाई मात्रै होइन, विभिन्न प्रलोभनमा पारेर दोषीलार्ई उन्मुक्ति दिन प्रेरित गर्नेलाई समेत कारबाहीको प्रबन्ध संशोधित कानुनमा छ। तर कानुनी प्रावधान जति कसिलो पारिए पनि बलात्कारका घटनामा कमी आएको छैन। बैतडीकी १७ वर्षीय भागरथी भट्टमाथि दानवीय तरिकाले भएको बलात्कार र हत्याको घटनाले यही पुष्टि गर्छ। बलियो कानुनले मात्र होइन, बलात्कारलगायतका जघन्य अपराधका घटना न्यूनीकरण गर्न जनस्तरमै चेतना फैलाउनु आवश्यक छ।
कन्चनपुरकी निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्ने व्यक्ति अझै पक्राउ परेका छैनन्। वर्षौँ बितिसक्दा पनि दोषी पत्ता नलाग्नुले राज्यसंयन्त्रप्रति शंका गर्नुपर्ने अवस्था आएको छ। भागरथीको हत्याकाण्डमा पनि त्यस्तै नियति दोहोरिने हो कि भन्ने आशंका बढेको छ। यो आशंका निवारणका लागि पनि भागरथीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्छ। घटनाबारे गहिरो अनुसन्धान हुनुपर्छ। यो र त्यो बहानामा अपराधीलाई उन्मुक्ति दिनु हुँदैन। मृतकको परिवारलाई न्याय दिने काममा कुनै कसर बाँकी राख्नुहुन्न। निर्मला पन्तजस्तै भागरथीका परिवारको आर्थिक तथा सामाजिक हैसियत पनि करिब–करिब समान प्रकृतिको छ। केही महिनाअघि मात्रै बाबुको निधन भएको तथा बाबुको काजकिरिया सकेर दाजु रोजगारीका लागि विदेशिएको केही समयपछि नै भागरथीको हत्या भएको छ। उनी परिवारमा आमासँगै बस्दै आएकी थिइन्। कमजोर पारिवारिक पृष्ठभूमिका कारण पनि उनको हत्यामा पिडक प्रेरित भएको हुनसक्ने अनुमान लगाइएको छ। यो वास्तविकतालाई प्रहरी प्रशासनले अध्ययनको क्रममा केलाउनु जरुरी छ।
महिला र बालबालिकाविरुद्ध भएका हिंसा र बलात्कारका घटना अचेल दिनहुँजसो बाहिर आइरहेका छन्। घटना बढ्दै जाँदा एक पुरुषलाई पुरुष हुँ भनेर अनुहार देखाउन समेत लाज लाग्ने अवस्था आइसकेको छ। यस्तो अवस्था आउनु हुँदैनथ्यो। सामाजिक अपराध ठानिएका यस्ता घटना न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी संस्था र स्थानीय स्तरमा सञ्चालित थुपै्र अभियानलाई समेत यो अवस्थाले चुनौती थपिदिएको छ। तत्कालका लागि भागरथीको हत्यारालाई पक्रेर कारबाही गर्नु जरुरी काम भए पनि, भविष्यमा उस्तै प्रकृतिका घटना दोहोरिन नदिन के गर्न सकिन्छ भन्नेतर्फ यस क्षेत्रमा क्रियाशील संस्थाहरूले अध्ययन गर्नुपर्छ। गम्भीर सामाजिक समस्या रहेका बलात्कार, महिलामाथि हुने कुटपिटलगायत अन्य प्रकृतिका अपराधजन्य घटना सधैका लागि अन्त्य गर्न सामूहिक अभियान सञ्चालन गर्नुपर्छ।
जानेर वा नजानेर महिलामाथि हेयको दृष्टिले हेर्ने मानसिकताले नेपाली समाजमा अझै जरा गाडेको छ। खेलाँची गरेर वा जिस्क्याएर महिलामाथि हुने यस्ता व्यवहारले पनि अप्रत्यक्ष रूपमा ठूलो हिंसाको सिकारसम्म पुर्याइरहेको छ। कमजोर आर्थिक तथा सामाजिक पृष्ठभूमि भएकालाई झन् यस्तो प्रवृत्तिले थप कष्ट दिइरहेको छ। कतिपय ठाउँमा सामाजिक अगुवा नै यस्ता घटनामा संलग्न रहने गरेको पाइएको छ। सदियौंदेखि जरा गाडेर बसेका यस्ता अन्धविश्वासबाटै मुक्ति कसरी खोज्ने भन्ने बेला आएको छ। यस्ता महान् अभियानको सुरुवात सचेत नागरिकबाटै हुनुपर्छ। त्यसमा पनि युवाशक्तिले यसको नेतृत्व लिनुपर्छ विश्वविद्यालय तथा स्कुले तहको पाठ्यक्रममा समावेश गरेर यस्ता विषयलाई बहसमा ल्याउनुपर्छ। सार्वजनिक बहस र विमर्शमा यस्ता विषयलाई प्राथमिकता दिनुपर्छ।