दुई सन्तानसहित घरबाट निस्किएकी महिला मृत फेला, छोराछोरी अझै बेपत्ता
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका १ डुडभन्ञ्याङ्ग सिंगो गाउँ शोकमा डुबेको छ । आफ्ना दुई सन्तानसहित घरबाट निस्केकी स्थानीय देबकी नेपाली (३३) चारदिनपछि शुनकोशी नदी किनारामा मृत भेटिएपछि सिंगो बस्ती नै शोकमा डुबेको हो ।
दैनिक मजबुरी गरेर सन्तानको हातमुख जोर्दै आएकी देबकीको शव सुनकोशी नदीमा भेटिएको हो । देबकीले साथमा लिएका १३ वर्षीया छोरी सुस्मिता नेपाली र ८ वर्षीय छोरा सुजन नेपाली भने अझै बेपत्ता छन् ।
उनीहरुले लगाएको चप्पल भने नदी किनारमा एकैठाउँमा भेटिएको छ । मृतक देवकीकासँगै छोरा र छोरीको समेत चप्पल भेटिएपछि तीन आमा छोरा-छोरी नै एकै पटक नदीमा हेलिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
वेपत्ता सुजन र सुस्मितालाई जिवितै भेटिने आशा मारिएको छ । देवकी गत शुक्रबार साँझ आफ्ना दुई सन्तानलाई लिएर घरबाट निस्किएकी थिइन् । घरबाट निस्किएको चार दिनपछि उनको शव सुनकोशी नदीको किनारमा आइतबार दिउँसो भेटिएको स्थानीय शंकर बरालले बताए ।
'दैनिक मजदुरी गरेर परिवार चालाउँदै आएकी देवकीका श्रीमान गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन् । तर, गोपालले अत्याधिक मधिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ,' बरालले भने ।
'देवकीका श्रीमान आइतबारदेखिनै बिहोस छन् । वृद्धा सासू ससूराको होस ठेगानमा छैन् । देवकीका माइती भेला भएका छन् । सुस्मिता र सुजनाका साथीको पनि आँखामा आँसु अडिएको छैन् । दुःख गरेरै भएपनि परिवार चलाउँदै आएकी बैनीले शन्तानसहित नदीमा हामफालेर प्राण त्याग गरिन,' देवकीको मृत्युको खबर सुनेर घटनास्थल आइपुगेका देवकीका दाजु दिपक नेपालीले भने ।
देवकीले घर छाड्ने दिन साँझ पनि गोपालले रक्सी सेवन गरेर घर आएपछि दु:ख गरेर कमाएको पैसाले रक्सी खाँदा घर व्यवहार चलाउन मुस्किल भएको भन्दै उनीहरुबीच सामान्य झगडा भएको पाइएको बरालले थपे।
मृतक देवकीका वेपत्ता छोरी सुस्मिता कामदा मावीमा कक्षा ७ मा पढ्दै थिइन्न् । छोरा सुजन भने स्थानीय प्रावि च्याकुटारमै पढ्थे। वेपत्ता सुस्मीताले होमवर्क कपीमा सुसाइड नोटजस्तै गरिबीको पीडा र अभावका बारेमा लेखेको पाइएको पनि उनले बताए।
सुस्मिताले आफूले धेरै पढेर प्रहरी बन्ने र बलात्कारीलाई कडा कारबाही गर्ने सपना बोकेको भएपनि सबै पुरा गर्न नसकेको भन्दै घरपरिवार, मावली र साथीभाइलाई संझाना पत्र लेखेको पाइएको छ । 'मैले मेरो सपना पुरा गर्न सकिनँ, म र मेरो परिवारमा धेरै अभाव र पीडा बढ्दै गए । अब म सदाका लागि विदा हुँदैछु । मेरा सम्पूर्ण आफन्तसँग भेट हुने दिन यतिनै हो,'उनले कपीमा लेखेको स्मरण गर्दै बरालले भने ।
उता गरिबीका कारण श्रीमान श्रीमती झगडा हुने र श्रीमानले सधैं झगडा गर्ने गरेकै कारण देवकीले आत्महत्या रोजेको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ । देवकीसँगै वेपत्ता सुजन र सुस्मिताको खोजी कार्य भइरहेको सिन्धुलीका प्रहरी प्रवक्ता श्यामबहादुर खत्रीले जनाए । 'तरपनि उनीहरुलाई जीवितै भेटिने आशा मारिएको छ । मृतक देवकीको शव सिन्धुली अस्पतालमा पोष्टमार्टम गरिएको छ,' उनले भने ।